घुम्नका लागि नेपालमा धेरै रमणीय स्थानहरू छन् । साहसिक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, ट्रेकिङ, माउन्टेन क्लाइम्बिङका लागि नेपाल विश्वमै प्रसिद्ध छ । त्यसैमध्येको नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि उत्कृष्ट गन्तव्य हो ।
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार सौराहा, जहाँ राष्ट्रिय निकुञ्ज बन्नुअघिदेखि नै पर्यटकीय गतिविधिहरू हुने गर्थे । पर्यटकका रूपमा विदेशी मात्र देखिन्थे । बदलिँदो समयसँगै सौराहा आन्तरिक पर्यटनको पनि गन्तव्य बन्दै छ । लामो समयदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौंदेखि यहाँ पुग्न आन्तरिक पर्यटकलाई थप सहज भएको थियो ।
दुई दशकअघिसम्म खरले छाएका स–साना ‘छाप्रा–होटेल’हरू रहेको सौराहामा हाल टिपिकल नेपाली ‘होमस्टे’देखि सुविधासम्पन्न आधुनिक होटेल तथा रिसोर्टहरू खुलेका छन् । क्षेत्रीय होटेल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई प्रकृतिसँग नजिक हुन चाहने जोकोहीलाई सौराहाले तान्ने बताउँछन् । सौराहा आउनुको मुख्य उद्देश्य भनेको निकुञ्ज भ्रमण गर्नु हो । यहाँको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज, जनावर, पक्षी र थारू संस्कृतिमा अडिएको छ ।
भट्टराई थप्छन्, ‘हात्ती र जिप चढेर जंगल घुम्न, जंगल वाक गर्न, वन्यजन्तु हेर्न, राप्ती नदीमा डुंगा सयर गर्न, सूर्यास्त हेर्न र थारू संस्कृतिको अवलोकन गर्न सौराहामा पर्यटक आउँछन् । एकसिङे गैँडा पनि सौराहाको प्रमुख आकर्षण हो ।’ विदेशी पर्यटकको सूची केलाउँदा सबैभन्दा धेरै चीनका पर्यटकले सौराहाको अवलोकन गरेको भेटिन्छ । चीनपछि भारत र युरोपियन देशका पर्यटकहरूको रोजाइमा सौराहा छ । सामान्य अवस्थामा वर्षमा २ लाखजनासम्मले सौराहा भ्रमण गरेको भट्टराईले बताए । उनका अनुसार सन् २०१९ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्न १ लाख ८५ हजार पर्यटक आएका थिए
वर्षैभरि घुम्न सकिने सौराहा घुम्न कम्तीमा दुई रात छुट्याउनुपर्छ । यसका लागि होटेलको स्तर हेरेर प्रतिव्यक्ति १० हजारदेखि माथिको प्याकेज रहेको भट्टराईले जानकारी दिए । सौराहाको जंगल सफारीमा जरायो, बँदेल, चितुवा, बाँदर, मयूर, बँदेल, बाघ, गैँडा, गोही, सर्पलगायतका पशुपक्षीहरू देख्न सकिन्छ । विभिन्न प्रजातिका चराचुरुंगी पाइने हुँदा बर्ड वाचिङ मात्रै गर्न पनि यहाँ विदेशी आउने गर्छन् । जाडो याममा साइबेरियादेखि आएका चरा सौराहामा भेटिन्छन् ।
धेरै कार्यक्रम स्थगित
क्रिसमस र अंग्रेजी नयाँ वर्षको समयमा आयोजना हुने हात्ती महोत्सव सौराहाका व्यवसायीले ब्रान्डिङको अवसरका रूपमा लिने गरेका छन् । तर, कोभिडकै कारण सौराहामा यसपटक हात्ती महोत्सव रोकियो । सौराहामा नेपाली नयाँ वर्ष, प्रणय दिवसलगायतका अवसर पारेर हुने विभिन्न कार्यक्रमसमेत नभएको रेस्टुराँ एन्ड बार एसोसिएसन (रेबान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाको भनाइ छ । हात्तीका छावाको रोचक फुटबल प्रतियोगिता र हात्तीको सुन्दरी प्रतियोगिता साथै गाडा दौड, डुंगा दौड, सांस्कृतिक कार्यक्रम अवलोकन गर्न हजारौँ आन्तरिक तथा बाह्य पर्यटक सौराहा आउने गर्थे । अहिले कोभिडका कारण सामुदायिक वनमा हुने आम्दानीसमेत शून्य भएको सरोकारवालाको गुनासो छ । यसबीचमा सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘घुमौँ सौराहा’ अभियान चलाइएको थियो । तर, दोस्रो चरणको कोभिड संक्रमणले यो कार्यक्रमलाई अर्थहीन बनाएको छ ।
हात्ती पाल्न सकस
चितवन हात्तीहरूको राजधानी हो । जंगली हात्ती हुन् या सरकारी वा निजी हात्ती, संख्यात्मक हिसाबमा नेपालका अन्य ठाउँहरूमा भन्दा यहाँ धेरै पाइन्छ । सौराहा घुम्न जाने पर्यटकको मुख्य आकर्षणमध्ये हात्ती सफारी नै रहने गरेको छ । हात्तीकै कारण सौराहाको पर्यटन व्यवसाय फस्टाएको छ भन्दा फरक पर्दैन । ०४० सालअघिदेखि नै व्यावसायिक रूपमा हात्तीमा चढाएर यहाँ आउने पर्यटकलाई जंगल घुमाउने गरिएको थियो ।
तर, अहिले कोभिडको महामारीसँगै पर्यटक घुमफिरमा निस्कन छाडेपछि हात्ती फुर्सदिला बनेका छन् । महामारीका कारण होटेल तथा रेस्टुरेन्ट ठप्प भएपछि कर्मचारीलाई बिदा गरेका होटेललाई अहिले आफैँले पालेका हात्ती पाल्नसमेत समस्या भइरहेको छ । सिजनमा हात्तीलाई जंगल सफारी गर्ने पर्यटक बोक्न भ्याइनभ्याई हुन्थ्यो । तर, अहिले पर्यटकीय सिजनमा नै हात्तीले काम पाएका छैनन् । सौराहाको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारीका अनुसार चितवनमा कोभिड सुरु हुनुअघि ७० भन्दा बढी हात्ती थिए । जसमध्ये सौराहामा मात्र ५५ वटा रहेको तथ्यांक छ । तर, हात्ती पाल्नै नसकेपछि यहाँका व्यवसायीले धमाधम हात्ती हटाउँदै छन् । लकडाउनका कारण पर्यटकीय गतिविधि ठप्प भएपछि हात्ती पाल्न नसकेर हात्ती मालिकहरूले १२ वटा हात्ती हटाइसकेको उनी बताउँछन् ।
तिवारीका अनुसार एउटा हात्तीका लागि दिनमा घाँस, पराल, पचास लिटर पानी, २० केजी धान वा गहुँको कुची, एक किलो चना र एक पाउ नुनसहित दुई क्विन्टल खानेकुरा आवश्यक पर्छ । माहुते र सुसारे तथा खानपानमा हात्तीका लागि महिनामा ६० हजारदेखि १ लाख रुपैयाँसम्म खर्च हुन्छ । खानेकुराबाहेक हात्तीलाई ६–६ महिनामा नाम्ले जुकाको औषधि खुवाउनुपर्ने हुन्छ भने वेला–वेला हात्ती बिरामी पनि हुन्छन् । हात्तीबाट आम्दानी शून्य भएकाले अहिले व्यवसायीले सरसापटी गरेर हात्तीका लागि खर्च जुटाइरहेका छन् । सरकारले ध्यान नदिएमा बाँकी हात्ती पनि पलायन हुने तिवारी बताउँछन् । उनी थप्छन्, ‘चितवनको पर्यटन हात्ती सयरमा अडिएको छ । हात्तीविनाको सौराहा कल्पना पनि गर्न सकिँदैन । तर, संकटका वेलामा राज्यले लाखौँ पर्यटकसँग जोडिएका हात्तीहरूलाई भने बेवास्ता गरेको छ ।’
यहाँका हात्ती भारतबाट खरिद गरेर वा भाडामा ल्याउने गरिन्छ । महामारीका कारण यहाँका हात्ती भारत पुगेमा फेरि चाहेर पनि किन्न नसकिने अवस्था आउँछ । तिवारीले भने, ‘यो हात्ती राज्यको सम्पत्ति हो । भोलि यसको क्षति राज्यलाई महँगो पर्न सक्छ । सरकारले कि राहत देओस्, होइन भने यहाँको हात्ती सरकारले नै न्यूनतम रकम दिएर खरिद गरिदेओस् ।’ यो उनको आदेश नभई अनुरोध मात्र हो । राज्यले यो महामारीबीच निकुञ्जछेउको घाँसेमैदानमा हात्ती चराउन पनि नदिएको उनको गुनासो छ । निकुञ्जभित्रका हात्तीलाई जंगलभित्र जहाँ पनि चर्न पाउने छुट छ । यो संकटका वेलामा आफ्ना हात्तीलाई पनि निकुञ्जको घाँसेमैदानमा चराउने व्यवस्था गरिदिन माग गर्दै उनी पटक–पटक मन्त्रालय पुगे पनि व्यवसायीको माग कसैले नसुनेको तिवारीको गुनासो छ ।
कोभिडका कारण हतोत्साही सौराहाको पर्यटन
कोरोना महामारीले १० महिनाभन्दा बढी थला परेको सौराहाको पर्यटन अंग्रेजी नयाँ वर्ष २०२१ र नेपाली नयाँ वर्ष ०७८ को आगमनसँगै आन्तरिक पर्यटकको चहलपहलले चलायमान हुने र होटेल भरिभराउ हुने विश्वास गरिएको थियो । तर, कोभिडका कारण जिल्लामा भएको निषेधाज्ञाले यहाँको पर्यटन व्यवसाय पुनः थला परेकोमा चिन्तित छन्, यहाँका व्यवसायी । केही दिन हात्ती चढ्ने, जिप सफारी गर्ने र सौराहाका रेस्टुरेन्टमा खाएर राप्ती किनारमा रमाएर साँझ फिर्ता हुनेसहित आन्तरिक आवासीय पर्यटकसमेतको आगमन भएको भए पनि पुनः निषेधाज्ञाले पर्यटकको आगमन ठप्प हँुदा व्यवसायी निराश बनेका छन् ।
झुप्रोदेखि सुरु भएको व्यवसाय पहिलोपटक थला परेको क्षेत्रीय होटेल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरे बताउँछन् । जनयुद्ध र भूकम्पको समयमा समेत यहाँका व्यवसायीले यस्तो समस्या नभोगेको उनको अनुभव छ । पटक–पटकको लकडाउन र निषेधाज्ञाले फेरि शून्यबाटै व्यवसाय सुरु गर्नुपर्ने अवस्थामा आएको घिमिरे दुखेसो गर्छन् । ‘पहिले प्रदेश सरकारले भ्रमण वर्षसमेत सौराहाबाट उद्घाटन गर्दा हामी उत्साहित थियौँ । कोरोनाले व्यवसाय चौपट बनायो,’ उनले भने, ‘यद्यपि, कुनै न कुनै दिन त्यही समय फर्कन्छ भन्ने विश्वासले व्यवसाय टिकाइरहेका छौँ ।’ सौराहा हरेक समय पर्यटकले भरिभराउ हुन्थ्यो । यसपटक नयाँ वर्षमा समेत पर्यटक भएनन् । यसैकारण व्यवसायीहरू घाटामा रहेको क्षेत्रीय होटेल संघ चितवनका अध्यक्ष भट्टराई बताउँछन् । उनको भनाइ छ, ‘हामीले यो समयमा होटेल तथा रेस्टुरेन्टमा १५ देखि ४० प्रतिशतसम्म छुट उपलब्ध गराएका थियौँ, तैपनि सोचेझैँ पर्यटकहरू आएनन् ।’ सामान्य अवस्थामा सौराहामा दैनिक ८० लाख रुपैयाँबराबरको कारोबार हुने तथ्यांक आउँथ्यो । तर, अहिले घाटा व्यहोरेको व्यवसायीको गुनासो छ ।
निर्णयमै अलमल
बद्रहनी गाउँसँगैको राप्ती नदीपारि (गाईघाटमा) निकुञ्जले चैतदेखि करिब दुई महिना निजी हात्तीलाई चर्न स्वीकृति दिए पनि केन्द्रको निर्देशन भन्दै पछि हात्ती चराउन रोक लगाएको थियो । छिमेकी देश भारतमै हात्तीको संरक्षणका लागि त्यहाँको सरकारले अनुदान दिएर निःशुल्क खानाको सुविधा दिएको अवस्थामा हाम्रोमा खेर जाने निकुञ्जको घाँस पनि खुवाउन नपाएको गुनासो गर्छन् तिवारी । सामुदायिक वन र निकुञ्जमा बिहान र साँझ हात्ती सफारी गराइन्छ । एकजना व्यक्तिलाई दुई घन्टासम्म निकुञ्जमा हात्ती सफारीबापत नेपालीलाई १ हजार २ सय र विदेशीलाई १ हजार ६ सय रुपैयाँ शुल्क तय गरिएको छ । अन्य जनावरहरू नजिकबाट नियाल्न सकिने र सुरक्षित हुने भएकाले हात्ती सफारीले यहाँ आउने पर्यटकको मन तान्छ । हौदा राखिएको हात्तीमा चारजना बस्न मिल्छ । सबैभन्दा ठूलो जनावर हात्ती भएकाले अन्य जनावरबाट हात्ती सफारीमा पर्यटकलाई कुनै डर हुँदैन ।
०७६ को साउनदेखि चैतसम्म ६० हजारभन्दा बढीले सौराहामा हात्ती सयर गरेका थिए । चैतको लकडाउनसँगै कात्तिकबाट पुनः सञ्चालनमा आएको हात्ती सयरमा यो वैशाखसम्म करिब २३ हजारले हात्ती सयर गरेको तथ्यांक छ । सामान्य अवस्थामा वार्षिक ढेड लाखभन्दा बढीले सौराहामा हात्ती सयर गर्छन् । बन्दाबन्दीको अन्त्य भएपछि सौराहामा आन्तरिक पर्यटकको केही चहलपहल होला र त्यसले कम्तीमा पनि हात्तीपालनका लागि खर्च उठ्ला भन्ने आशा भए पनि त्यो पूरा नभएको तिवारीको भनाइ छ । सौराहाको आकर्षण भनेको हात्तीसँग नुहाउनु पनि हो । गर्मी महिनामा मानिसलाई मात्र होइन, हात्तीलाई पनि पानीमा खेल्न मन पर्छ । यसरी खोलामा नुहाउन गएका हात्तीसँग नुहाउनु, हात्तीको सुँडले फ्याँकेको पानीमा सावर लिनु र हात्तीलाई नुहाइदिनु अविष्मरणीय क्षण बन्छ ।
चितवनमा दैनिक ३ करोड घाटा, सौराहा ५६ लाख नोक्सानीमा
लकडाउन तथा निषेधाज्ञाको समयमा चितवनका पर्यटन व्यवसायीले प्रत्यक्ष रूपमा दैनिक ३ करोड रुपैयाँ नोक्सान व्यहोर्नुपरेको छ । पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार चितवनमा १ हजार २ सय ५० सामान्य होटेल तथा लज छन् । त्यसमध्ये २ सय २५ होटेल बाह्य पर्यटक राख्ने क्षमताका छन् । त्यस्तै, कफीसप, चियापसल र खाजाघर करिब १ हजार ५ सय छन् । यी सबैमा सिजनको समयमा दैनिक ३ करोड रुपैयाँ कारोबार हुने गरेको थियो । व्यापार खस्केसँगै यहाँ आबद्ध १६ हजार कामदारको रोजगारीसमेत खतरामा परेको सुवेदीको भनाइ छ ।
चितवनमा पर्यटकीय होटेलमा ३० अर्बको लगानी रहेको अनुमान छ । यसमध्ये आधाभन्दा बढी लगानी सौराहामा छ । १ सय १० होटेल र ५३ रेस्टुरेन्ट रहेको सौराहामा १५ अर्बको लगानी रहेको अनुमान छ । सौराहा सिजनको समयमा एक दिन मात्र बन्द हुँदा ५६ लाख रुपैयाँ नोक्सान हुने सुवेदी बताउँछन् । निकुञ्ज घुम्नेमध्ये ९० प्रतिशत पर्यटक सौराहा आउँथे । करिब ५ हजार ५ सय पर्यटक सुत्न मिल्ने सुविधा सौराहामा छ । यसैबीच पनि सौराहाका दीर्घकालीन योजनाहरू भने छैनन् । वाइल्डलाइफ पर्यटनमा असर परेमा सौराहा सुनसान हुने पक्का छ । विविधता दिन नसकेको र प्रचारप्रसार गर्न पछि परेको स्वयं व्यवसायीहरू स्विकार्छन् ।