चितवनका किसानले उत्पादन गरेको गोलभेंडा चार रुपैयाँ किलोमा समेत बिक्री नभएपछि बारीमा नै नष्ट हुन थालेको छ । किसानले लाखौँ खर्च गरेर उत्पादन गरेको गोलभेंडा सस्तोमा समेत बेच्न नसकेपछि बारीमा नै नष्ट गर्न थालेका हुन् ।
भरतपुर महानगरपालिका– २५ अमृतनगरका अनुप सुवेदीले बिक्री गर्न ठिक्क पारेको करिब दुई सय क्रेट गोलभेंडा वैैशाख पहिलो साता नष्ट गरे । व्यापारीले आफूसँग प्रसस्त गोलभेंडा भएको भनेपछि उनको उत्पादन बिक्री भएन । उनले भने, ‘बिक्री हुन्छ कि भनेर स्टोर गरेरै घरमा राखेको पनि हो । तर, गर्मीका कारण गोलभेंडा कुहिँदै जादा नष्ट गर्न बाध्य भएँ ।’
सुवेदीले गत पुसमा भाडाको ६ बिघा जमिनमा गोलभेंडा लगाएका थिए । फागुन अन्तिम हप्तादेखि गोलभेंडा उत्पादन हुन थाले पनि उनले एक लाखको गोलभेंडा पनि बिक्री गर्न पाएका छैनन् । ‘घाम चर्किएपछि गोलभेंडा उत्पादन पनि छिटो हुन्छ । उत्पादन धेरै हुने समयमा बिक्री गर्न पाइएन । अहिले एकपटक टिप्दा करिब पाँच गाडी गोलभेंडा संकलन हुन्थ्यो, तर बिक्री नभएकाले टिप्नै छोडेँ,’ उनले भने ।
सोही ठाउँका लेखनाथ भुसालले पनि गोलभेंडा बिक्री नभएपछि घरपालुवा जनावारलाई दिएका छन् । केही मलखातमा फालेर नष्ट गरेका छन् । उनले सोमबार बिक्रीका लागि राखिएको १० क्रेट गोलभेंडा बिक्री नभएर कुहिएपछि मलखातमा फालेर नष्ट गरेको बताए । उनले खेती गर्दै आएको ६ बिघामध्ये दुई बिघामा गोलभेंडा लगाएका थिए । त्यसमध्ये एक बिघा जमिनको गोलभेंडाले बजार पाए पनि बाँकी एक बिघाबाट लगानीसमेत उठाउन सकेनन् ।
भुसालका अनुसार नयाँ प्रविधि प्रयोग गरेर एक बिघामा गोलभेंडा लगाउँदा करिब पाँच लाखभन्दा बढी लगानी हुन्छ । पुरानै भयो भने साढे तीन लाखसम्म खर्च लाग्ने उनी बताउँछन् । बजार राम्रो भए किसानले एक बिघाबाट तीन लाखसम्म नाफा लिन सक्ने उनी बताउँछन् । तर, अहिले भारतीय गोलभेंडासँगै नेपालमा नै उत्पादन बढ्दा आफ्नो गोलभेंडा बिक्री नभएको बताए ।
भुसालकै नेतृत्वमा यस वडामा १८ वटा ब्लक बनाएर आधुनिक सामूहिक खेतीमार्फत युवाहरूले व्यावसायिक खेती गर्दै आएका छन् । यस ब्लकको ४० बिघामा यसपटक गोलभेंडा खेती भएको थियो ।
कोरोना महामारीले सिर्जना गरेको लकडाउनसँगै बन्द बजारका कारण तरकारी बिक्री नहुँदा गत वर्ष सामूहिक खेतीमा आबद्ध युवाले डेढ करोड क्षति व्यहोरेका थिए । उनीहरूले सो समयमा आश्रमहरूमा समेत निःशुल्क तरकारी वितरण गरे । लकडाउनमा करोडौँ क्षति व्यहोरेका उनीहरूको समस्या अहिले पनि जस्ताको तस्तै छ । टिप्ने खेतला खोजेर बाँड्दा थप खर्च हुने देखेर टिप्नै छाडेको उनी बताउँछन् ।
सुवेदी र भुसाल प्रतिनिधि पात्र मात्र हुन्, यहाँका किसानले उत्पादन गरेका तरकारी, तरबुजा, काँक्रो, चुकन्दर बिक्री नभएपछि नष्ट गर्दै आएका छन् । बैंक र सहकारीबाट चर्को ब्याजमा ऋण लिएर खेती गरेका नयाँ तथा पुराना कृषि उद्यमीहरू पनि कृषिको बजारीकरण देखेर निराश छन् ।
पुनः लकडाउनको हल्लाले गोलभेंडा खेतीबाट घाटा खाएका किसान केही समय जमिन खाली राख्ने सोचमा रहेकोसमेत बताउँछन् । तर, जिल्लाका सरकारी कार्यालयहरूले किसानको पीरमर्का बुझ्ने र राहतका लागि केही काम नगरेको उनीहरूको गुनासो छ ।
‘मल नपाएर कालोबजारीमार्फत आएको महँगो मल खरिद गरेर उत्पादन गरेको गोलभेंडाले बजार नपाउँदा उत्पादन लागतसमेत उठेको छैन,’ भरतपुर– २५ का कृषक कृष्णप्रसाद न्यौपानेले भने, ‘सरकारले बिउ, मल, प्राविधिक र प्रविधिमा सहयोग गरे उत्पादन लागत निकै सस्तो हुन्थ्यो । छिमेकी देश भारतमा नेपालको भन्दा आधा खर्चमा उत्पादन हुने गोलभेंडा नेपालमा भने लागत नै महँगो छ । उत्पादन धेरै हुँदा बजार झन् भद्रगोल छ ।’
उनका अनुसार एक केजी गोलभेंडा उत्पादन गर्द १५ देखि २० रुपैयाँ खर्च हुन्छ । किसानले बिक्री नभएर फाल्नुपर्ने अवस्था भए पनि बजारमा प्रतिकेजी २० देखि ३५ रुपैयाँसम्ममा उपभोत्ताले खरिद गर्छन् ।
चितवनमा यो समयमा मात्र करिब १५ सय बिघामा गोलभेंडा खेती भएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए । चिसो घटेर तापक्रम बढ्दै जाँदा गोलभेंडाको उत्पादन बढेकाले यो समस्या भएको उनी बताउँछन् । ‘एकैपटक उत्पादन बढ्दा गोलभेंडाको मूल्य घट्नेछ भने किसानलाई थप समस्या परेको छ,’ उनले भने, ‘बजार मात्र होइन उत्पादन प्रणालीसमेत व्यवस्थित नभएकाले यो समस्या आएको हो । हामीसँग प्रशोधन पूर्वधार पनि छैन । बजारको सन्तुलन नमिल्दा यस्तो समस्या भोग्न किसान बाध्य हुनुहुन्छ ।’ खुला बजारका कारण भारतीय गोलभेंडा पनि भित्रिने गरेको उनी स्वीकार गर्छन् ।