ओखलढुंगामा कोरोना संक्रमण रोक्न गत वर्ष स्थापना गरिएका सबै संरचना बन्द भएका छन् । कोरोनाको कहर सुरु भएसँगै स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेर तयार गरेका आइसोलेसन, क्वारेन्टिन र हेल्थ डेस्कसहितका संरचना अहिले बन्द भएका छन् ।
कोरोना महामारी रोकथामका लागि जिल्ला प्रवेश गर्ने सबैजसो मुख्य नाका र सदरमुकामसहितका क्षेत्रमा हेल्थ डेस्क, सबै स्थानीय तहमा आइसोलेसन, वडा–वडामा क्वारेन्टिन, जिल्लाका दर्जनौँ स्थानमा हेल्थ डेस्क सञ्चालनमा थिए । तर, अहिले ती सबै संरचना सञ्चालनमा छैनन् ।
कोभिडको संक्रमण केही कम भएको समयमा सबै संरचना हटाइएको थियो । ती संरचनाका सामग्रीसमेत पुनः प्रयोगको अवस्थामा नरहेको पाइएको छ । विद्यालयमा राखिएका क्वारेन्टिन र ठाउँठाउँमा राखिएका हेल्थ डेस्कका सामान सुरक्षित नराखेका कारण अहिले कोरोनाको जोखिम बढिरहेको अवस्थामा पहिलेको जत्तितकै पूर्वतयारी अपनाइहाल्न सक्ने अवस्था नरहेको देखिएको छ ।
जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले गत वर्ष दुई लाख १८ हजार सात सय ३२ खर्च गरेर क्वारेन्टिन निर्माण गरेको थियो । हेल्थ डेक्स सञ्चालनमा समेत नगरपालिकाले लाखौँ रकम खर्च गरेको थियो । अहिले कार्यालय परिसरको हेल्थ डेक्सबाहेक कुनै संरचना पुनः सञ्चालनको अवस्थामा छैनन् । कार्यालयमा हेल्थ डेस्क पूर्ववत् अवस्थामा सदरमुकामको रमाइलोडाँडा र मिलनचोकमा रहेको हेल्थ डेस्क सञ्चालनमा नरहेको नगरपालिकाका जनस्वास्थ अधिकृत पवनकुमार लामाले बताए । महामारीको जोखिम बढ्दै जाँदा हेल्थ डेस्कहरू राख्नेबारे नगरपालिकामा छलफल हुने उनको भनाइ छ ।
जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाले गत वर्ष दुई लाख ९१ हजार आठ सय ५० रुपैयाँ खर्च गरेर हेल्थ डेस्क र क्वारेन्टिन निर्माण गरेको थियो । हाल कुनै संरचना सञ्चालनमा छैनन् । माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङको प्रवेशद्वारमा पर्ने टोक्सेल हर्कपुरमा नवप्रवेशीहरूको स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क राखिएको भए पनि अहिले त्यो सञ्चालनमा नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार शाहले बताए । ‘अहिले यहाँ संक्रमणको जोखिम पनि खासै छैन । हामीले हेल्थ डेस्कहरू सुरु गरिसकेका छैनौँ । जोखिम बढ्यो भने आवश्यक तयारी अपनाउने योजना छ,’ उनले भने, ‘विश्वमा महामारीको रूपमा फैलिएको संक्रमण रोक्न सरकारको प्रयासले मात्रै नपुग्न सक्छ, त्यसैले सबैले सतर्कतामा जोड दिनुपर्छ । हामी मानेभञ्ज्याङलाई संक्रमणबाट बचाउन सक्दो प्रयास गर्छौँ ।’ कतिपय पुराना सामग्री मौज्दात रहेकाले पूर्वतयारीका लागि सहज हुने उनको भनाइ छ ।
क्वारेन्टिन निर्माणमा मात्रै सात लाख ८९ हजार ९१ रुपैयाँ खर्च गरेको खिजीदेम्बा गाउँपालिकामा पनि कुनै संरचना सञ्चालनमा छैनन् । केही पुराना सामग्री मौज्दात रहेकाले जोखिम बढेको अवस्थामा पुनः सुरक्षा सतर्कताका संरचना निर्माण गरेर सेवा दिन सकिने अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलको भनाइ छ । ‘गत वर्ष नै हामीले दीर्घकालीन रूपमा काम लाग्ने सामग्री खरिद गरेर राखेका छौँ । विगतमा जस्तो समस्या हुँदैन, आवश्यक परे तत्काल आइसोलेसन, क्वारेन्टिन बनाउन सकिन्छ,’ पौडेलले भने, ‘कोभिड अस्पताल, ल्याबसहितका अन्य संरचना पनि थप गरेका छौँ, त्यसैले हाम्रो पालिकामा पूर्वतयारीका अन्य विकल्प अपनाउन समय लाग्दैन ।’ अधिकांश विद्यालयमा क्वारेन्टिन राखिएकाले पठनपाठन सुरु गर्दा सबै हटाउनुपरेकाले निरन्तर तयारी अवस्थामा राख्न समस्या भएको उनको भनाइ छ ।
जिल्लाको मोलुङ गाउँपालिकाले पाँच लाख ६८ हजार ६ सय ५२ रुपैयाँ, लिखु गाउँपालिकाले एक लाख ४२ हजार आठ सय ७५, त्यस्तै चिसंखुगढी गाउँपालिकाले सामग्री खरिद तथा क्वारेन्टिन व्यवस्थापनमा ६ लाख ६४ हजार चार सय २० रुपैयाँ क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा खर्च गरेको विवरण सार्वजनिक गरेका थिए । सुनकोसी र चम्पादेवी गाउँपालिकाले पनि क्वारेन्टिन निर्माण गरेको भए पनि दुवै स्थानीय तहले खर्च विवरण सार्वजनिक गरेनन् । क्वारेन्टिन निर्माणमा लाखौँ खर्च गरेको भए पनि कुनै पनि स्थानीय तहमा अहिले ती संरचनाहरू प्रयोगमा छैनन् ।
कोभिड अस्पताल नाम मात्रैका
जिल्लामा हाल सञ्चालनमा रहेका कोभिड अस्पताल पनि नाम मात्रैका अस्पतालको रूपमा छन् । केहीमा डाक्टरको अभाव छ भने केहीमा स्रोत र साधनको अभाव छ । सामान्य उपचार मात्रै गराउन सम्भव ती अस्पतालहरूमा अक्सिजन दिनुपर्ने खालका जटिल बिरामी भएमा र कोरोनाका बिरामी आएमा अक्सिजन दिने व्यवस्था छैन ।
जिल्लाको मानेभञ्ज्याङमा यही समस्या रहेको छ । गाउँपालिका अध्यक्ष मोतीराज राईका अनुसार पालिकाले यसअघि स्थापना गरेको कोभिड अस्पतालमा अहिले एकजना नर्सको मात्रै दरबन्दी छ ।
सामान्य उपचार मात्र सम्भव रहेको उक्त अस्पतालमा जटिल बिरामीका लागि उपचारको प्रबन्ध छैन । सबै कुराको प्रबन्ध मिलाउन अहिले समस्या रहेको गाउँपालिका अध्यक्ष राइको भनाइ छ । ‘पालिकाले बजेट पनि सबै कार्यक्रमका लागि भन्दै बाँडफाँड गरिसकेको छ । उही त हो, हाललाई बजेटकै अभाव रहन्छ । यस्तो अवस्थामा कोरोना संक्रमण फैलिएमा कसरी रोकथाम गर्ने समस्याकै विषय रह्यो,’ राईले भने । संघ र प्रदेश सरकारले बजेटको व्यवस्था गरेमा सहज हुने उनको भनाइ छ ।
जिल्लाको मोलुङमा पनि यस्तै समस्या रहेको छ । मोलुङ गाउँपालिकाले वडा नम्बर २ रामपुरमा रहेको रामपुर स्वास्थ्यचौकीबाटै कोरोनाको बिरामीको उपचार गर्ने पालिकाले जनाएको छ । अहिले कोरोनाका सामान्य बिरामीको मात्र उपचार गर्न सक्ने क्षमता रहेको गाउँपालिकाकाले जनाएको छ । यही संक्रमण फेरि फैलिएर अवस्था जटिल सिर्जना भएमा हुने अवस्था आएमा थप व्यवस्था गरिने गाउँपालिका अध्यक्ष मणिराज राईको भनाइ छ ।
समुदायमा कोरोनाबाट बच्नेबारे सचेतनाका कार्यक्रम भने भइरहेको उनले बताए । ‘पालिकाको सबैजसो विद्यालयमा विद्यार्थी र समुदायका नागरिकलाई दोस्रो लहरको कोरोनाबाट बच्चेबारे सचेत गराइरहेका छौँ । अरू कुरामा कडाइ गर्नेबारेमा पालिकाको बैठकमा केही दिनपछि छलफलमा जुट्छौँ,’ राईले भने ।
चम्पादेवी गाउँपालिकामा ५ शय्याको कोभिड अस्पतालमा एकजना एमबिबिएस डाक्टरसहित दुईजना दरबन्दीमा छन् । त्यहाँ पनि कोभिडका सामान्य बिरामीको मात्र उपचार सम्भव छ । जटिल समस्या भएका कोरोनाका संक्रमित भएमा अक्सिजन दिने व्यवस्था नरहेको गाउँपालिकाका सूचना अधिकारी सञ्जितकुमार विकले बताए ।
चिसंखुगडी गाउँपालिका र मानेभञ्ज्याङ गाउँपालिकामा पनि कोरोना अस्पतालमा डाक्टर छैनन् । चिसंखुगडीमा अस्पताल र उपकरणहरू सबै तयारी अवस्थामा रहे पनि डाक्टरको दरबन्दी छैन । हाल दुईजना स्टाफ नर्स दरबन्दीमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए ।
तर, जिल्लाका केही पालिका भने तयारीलाई चुस्त बनाउनतर्फ जुटेका छन् । जिल्लाको लिखु गाउँपालिका र सुनकोसी गाउँपालिकाले अस्पताल, औषधि, उपकरण र स्वास्थ्य सामा्री महामारीको सुरुवाती अवस्थाको प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको जनाएका छन् । त,र पछि संक्रमण फैलँदै गएमा नियन्त्रणका लागि आफूहरूको स्रोतसाधनले नभ्याउने उनीहरूले बताएका छन् । कोरोनाबाट बच्नेबारे नागरिकमा हालका लागि सचेतना फैलाउने काम जारी रहेको सुनकोसी गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए ।
खिजीदेम्बा गाउँपालिकाले पनि कोरोना संक्रमण फैलिएको खण्डमा उतिवेलै तयारी गर्न समस्या हुने भएकाले सुरुवाती अवस्थालाई नियन्त्रणका लागि अस्पताल, डाक्टर, औषधि, उपकरणलगायतका कुरा चुस्त राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलको भनाइ छ ।
जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाको पनि तयारी खासै नभएको पाइएको छ । क्वारेन्टिन, आइसोलेसन निर्माणका सामग्री, औषधि, उपकरण, स्वास्थ सामग्री र स्वास्थ सुरक्षाका सामग्री अघिल्लो वर्षकै केही मौज्दात रहेकाले महामारी फैलिएको खण्डमा नियन्त्रणमा समस्या नहुने नगरपालिकाले आकलन गरेको छ ।
महामारी नियन्त्रणबारे हालसम्म कुनै ठोस रूपले निर्णय नभएको नगरपालिकाले जनाएको छ । अन्य आवश्यक तयारी र योजनाबारे नगरपालिकाको आगामी बैठकमा छलफल हुने नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले बताए ।
जिल्लाको सिद्धिचरण नगरपालिकाबाहेक सबै पालिकामा एक–एकवटा कोभिड अस्पताल सञ्चालनमा छन् । तर, ती अस्पताल बेकामजस्तै छन् । सञ्चालित अस्पताललाई कोरोना महामारीका वेला प्रभावकारी रूपले काम गर्ने बनाउन पालिकाको स्रोतसाधनले मात्रै सम्भव नहुने जिल्लाका सबैजसो गाउँपालिकाले जनाएका छन् ।
चिसंखुगडी र मानेभञ्ज्याङबाहेक सबै पालिकामा एमिबिएस डाक्टरसहित दुईजना स्टाफ नर्सको दरबन्दी छ । जिल्लाका सबै पालिकाका कोभिड अस्पतालमा पाँच शय्याको बेडहरू छन् । क्वारेन्टिन अहिले तयारी अवस्थामा छैनन् । तर, जिल्ला स्वास्थ्य कार्यालयले अवस्था जटिल हुँदै गएमा पालिकाहरूलाई न्यूनतम १५ बेडको क्वारेन्टिन बनाउन भनेको छ ।
ओखलढुंगामा हाल कोरोनाका सक्रिय संक्रमित छैनन् । कोरोना परीक्षण गर्ने क्रम सुरु नभएकाले हाल नयाँ संक्रमित नरहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । कोरोना परीक्षण गर्ने र उपचार गर्ने जिम्मेवारी स्थानीय तहमा सरेकाले संक्रमण नियन्त्रण, संक्रमितको स्वाब संकलन, परीक्षण र उपचारमा पालिकाको मुख्य जिम्मेवारी रहने उनको भनाइ छ ।
अहिले जिल्ला अस्पताल रुम्जाटारमा सात बेड र जिल्ला सामुदायिक अस्पतालमा आठ बेडको आइसोलेसन तयारी अवस्थामा छ । एकैपटक धेरैको संख्यामा संक्रमित भएमा जिल्ला अस्पतालले सयजनासम्मको मात्र एकैपटक उपचारको व्यवस्था मिलाउन सक्ने जिल्ला स्वास्थ्य प्रमुख तिवारीले बताए । यस्तो अवस्थामा पालिकाहरूले पनि कोरोना नियन्त्रण र रोकथामका लागि तयारी हुनुपर्ने उनको भनाइ छ । तर, पालिकाहरूले भने स्रोतसाधनको अभावमा तयारी थाल्न समस्या हुने गरेको बताउँदै आएका छन् ।