मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १६ बिहीबार
  • Wednesday, 18 December, 2024
२o७८ बैशाख १६ बिहीबार o९:५६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकामा आजदेखि निषेधाज्ञा लागू    

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख १६ बिहीबार o९:५६:oo

पत्रकारको हकमा सूचना विभाग, पत्रकार महासंघ र स्वयं सञ्चार संस्थाले जारी गरेको प्रेस परिचयपत्रका आधारमा आवतजावत गर्न पाइनेछ

काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा लागू गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । 

आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइनेछैन ।     

आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटिपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइनेछैन ।  

विवाह, व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । विवाहमा जाँदा ब्यानरसहित दुईवटा मात्रै गाडी प्रयोग गर्नुपर्नेछ । विवाहमा जाँदा जिल्ला वा अन्तरजिल्लाका लागि पास नचाहिने, तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिनेछ ।  

विवाह, व्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्कनुपर्दा चालकसहित बढीमा सातजनासम्मका लागि स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ । 

मृत्यु संस्कार वा बिरामी कुरुवाका रूपमा अन्य जिल्ला जानुपर्दा विवरण खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस) सहित प्रशासन कार्यालयबाट पास लिनुपर्ने व्यवस्था गरिएको छ ।  

सरकारले संक्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाडौं उपत्यका तथा तराईमा पाँच सय सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ । 

सोही अधिकार प्रयोग गरी उपत्यकामा आजदेखि लागू गरिएको आदेश यही २२ गते राति १२ बजेसम्म जारी रहनेछ । यस्तै, अन्य दर्जनभन्दा बढी जिल्लामा पनि यसैगरी आदेश जारी भएको छ ।    

उक्त अवधिमा अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारीसाधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधन उपत्यकामा प्रवेश पाउने छैनन् ।  

सरकारी कार्यालयलगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारीसाधन प्रयोग गर्न पाइनेछ । विकास निर्माण कार्यमा चाहिने मजदुर र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा पास लिएर चलाउनुपर्नेछ ।

यस्तै, खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसायबाहेकका व्यवसाय बन्द गरिएको छ । खाद्य सामग्री पसल, ग्रोसरी कक्ष बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म चल्न पाइनेछ, तर तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।

सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था बिमा र सहकारीलगायत राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने, काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य रूपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । पत्रकारको हकमा सूचना विभाग, पत्रकार महासंघ र स्वयं सञ्चार संस्थाले जारी गरेको प्रेस परिचयपत्रका आधारमा आवतजावत गर्न पाइनेछ ।  

यसैबीच सरकारले नेपाल सिमाना जोडिएका छिमेकी मुलुकका नागरिकबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट हुने आवागमन स्थगन गरेको छ । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय र चिनियाँ नागरिकलाई निजले यात्रा गर्नुअघि स्वाब संकलन भएको ७२ घन्टाभित्रको कोभिड– १९ नेगेटिभ तथा १० दिन अनिवार्य रूपमा होटेल क्वारेन्टिनमा बस्ने गरी होटेल बुक गरेको प्रमाण पेस गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।  हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नागरिकले पनि उक्त मापदण्ड पालना गर्नुपर्नेछ । उनीहरूले १० दिन अनिवार्य होटेल वा होम क्वारेन्टिनमा बस्नुपर्नेछ ।   रासस