कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कोभिड– १९ का कारण प्रभावित भएको छ । सोमबारका लागि बोलाइएको बैठक कोभिड– १९ का १५ वैशाखसम्म सारिएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कार्यसमिति बैठकको मिति सारेको हो । पदाधिकारी बैठकमा १४औँ महाधिवेशनसहित समसामयिक विषयमा छलफल भएको थियो ।
१५ वैशाखको बैठकमा सहभागी हुन कोभिड– १९ नभएको विवरण पेस गर्नुपर्नेछ । कोभिड– १९ परीक्षणका लागि बैठक सारिएको बैठकपछि केसीले बताए ।
पदाधिकारी बैठकपछि उपसभापति विमलेन्द्र निधिले आफू खाडलमा पर्ने गरी कांग्रेसले अविश्वासको प्रस्ताव नल्याउने बताए । पत्रकारहरूसँग कुरा गर्दै निधिले भने, ‘कांग्रेस खाडलमा पर्ने काम किन गर्छ ? कांग्रेसले अहिले अविश्वासको प्रस्ताव ल्याउने वा नल्याउने भन्नेबारे निर्णय गरिसकेको छैन । अवस्था हेरेर भोलि जे पनि हुन सक्छ ।’
अविश्वासको प्रस्ताव पारित हुने अवस्था नभएसम्म कांग्रेस अघि नबढ्ने उनको भनाइ छ ।