मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १२ आइतबार
  • Thursday, 19 December, 2024
२o७८ बैशाख १२ आइतबार o९:५९:oo
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

बसाइँसराइ रोक्न होमस्टे अभियान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख १२ आइतबार o९:५९:oo

लमजुङको ताँजे गाउँबाट बसाइँसराइ र युवा पलायन हुने क्रम बढेपछि स्थानीयहरू होमस्टेको अभियानमा जुटेका छुन् । दोर्दी गाउँपालिका–६, ताँजेका ५५ घरधुरीमा युवाहरूकै सक्रियता होमस्टे सञ्चालन गरिएको हो । गाउँको अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे सञ्चालन भएसँगै ताँजेका युवाहरू गाउँ फर्किएका छन् । 

सुरुमा गाउँका ३ घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे सञ्चालनमा स्थानीय आमा समूहले युवाहरूलाई साथ दिएको ताँजे होमस्टे व्यवस्थापनका अध्यक्ष एवं होमस्टेका अभियन्ता टकलाल घले बताउँछन् । अध्यक्ष घलेले भने ‘युवा पलायनका कारण हिजोआज ग्रामीण बस्ती बिस्तारै युवाविहीन बन्नेक्रम बढ्दो छ, यसलाई रोक्न गाउँमै स्वरोजगार बन्न होमस्टे सञ्चालन गरिएको हो ।’ ताँजे गाउँमा घले, गुरुङ, तामाङ र दलित बस्ती रहेको छ । गाउँमा सडक निर्माणसँगै पर्यटकको आगमन बढ्न थालेपछि ५४ मेगावाट क्षमताको सुपर दोर्दी–ख जलविद्युत् आयोजनाले पनि युवाको अभियानमा साथ दिएको छ । 

जिल्लामा पर्यटनको मोह होटेलभन्दा होमस्टेमा बढी देखिएको छ । जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि पर्यटकहरू यसमा आकर्षित भएका छन् । पछिल्लो समय जिल्लामा आउने पर्यटक होटेलभन्दा होमस्टे रोज्न थालेका छन् । अन्नपूर्ण पदयात्रा गर्ने पर्यटकका लागि प्रवेशद्वारका रूपमा रहेको लमजुङमा आन्तरिक र बाह्य पर्यटक समान रूपमा आउने गरेका छन् । जिल्लाका घलेगाउँ, गाउँसहर, काउलेपानी, राइनास, भुजङ, पसगाउँ, गिलुङ, सिउरुङ, खासुर, गहते, हिलेटक्सार, राइनास, ताघ्रिङको छापा, मिप्रा, सिन्दुरे, पुरानकोटलगायतका एक दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालित छन् । ग्रामीण भेगमा होमस्टेको प्रचलन बढ्दो छ ।

होमस्टेमा मार्सी चामल र कालो भटमासको स्वाद
हिमचुली हिमालको काखमा रहेको मनोरम पर्यटकीय गाउँ ताँजेमा उत्पादन हुने अर्गानिक परिकारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित पार्ने गरेको छ । गाउँमै बसेर जलविद्युत् आयोजनामा रोजगारी पाउने र होमस्टे सञ्चालन गर्न पाउने भएपछि गाउँ फर्कने युवाहरूको संख्या पनि बढेको  स्थानीय मेखमाया घले बताउँछिन् । उनका अनुसार स्थानीयले गाउँमा उत्पादन हुने दुर्लभ कालो भटमास, गाउँमै उत्पादित तरकारी, लोकल कुखुरा, लोकल मार्सी चामलको भात र कोदोको परिकारले पर्यटकलाई स्वागत गर्ने गरिएको छ ।

सदरमुकाम बेँसीसहरबाट उदिपुर, नौथर, हिले, कीर्तिपुर, सिमी हुँदै दुई घन्टामा गाउँमा पुगिन्छ । गाउँ हुँदै हिमचुली हिमाल, मेमेपोखरी, गोरखा र लमजुङको सिमानामा रहेको दूधपोखरी पुग्न सकिन्छ । गाउँपालिकाले होमस्टेका साथै युवा लक्षित कार्यक्रम सञ्चालन गरेपछि स्थानीय युवाहरू हौसिन थालेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ बताउँछन् ।