१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ९ बिहीबार
  • Saturday, 21 September, 2024
निकिता आचार्य
२o७८ बैशाख ९ बिहीबार १o:१८:oo
Read Time : > 3 मिनेट
Read Time : > 3 मिनेट
निकिता आचार्य
नयाँ पत्रिका
२o७८ बैशाख ९ बिहीबार १o:१८:oo

मेरो पहिलेदेखिकै सोच केही नयाँ सिर्जनशील उद्यम गर्नुपर्छ भन्नेमै थियो । तिनताका म विद्यार्थी थिएँ । यो सन् २०१२ तिरको कुरा हो । तर, त्यति वेला यही गर्छु भन्ने स्पष्ट मार्गचित्र थिएन । नेपालको भौगोलिक अवस्था र अहिले हुर्किँदै आएको नयाँ पुस्तालाई केही नयाँपन दिनुपर्छ भन्ने भित्री अठोट भने थियो । त्यसलाई प्रविधिसँग जोड्न खोज्ने प्रयास मात्र गरेकी हुँ । आफैँले केही गर्ने लक्ष्यलाई व्यवहारमा उतार्नु निकै चुनौतीपूर्ण थियो । मैले त्यो चुनौतीलाई स्विकार गरेँ । 

बाल्यकालदेखि नै मेरो प्रविधिप्रति लगाव थियो । त्यसले पनि यस उद्यममा लाग्न महत्वपूर्ण सहयोग पुग्यो । नेपालमा स्टार्टअप व्यवसायमा केही नयाँपन दिन सकियोस् भन्ने भित्री चाहना थियो । मलाई लाग्छ यसमा मैले सानै भए पनि इँटा थप्ने काम गरेकी छु । यस्ता अनलाइन पोर्टलबारे चासो राख्दाराख्दै स्टार्टअपको सिर्जना गर्ने अवधारण बन्यो र केही गर्ने जमर्को साथ यसमा हात हाल्ने निर्णय गरियो । नयाँ प्रविधिको प्रयोग र इन्टरनेटको पहुँचको सुविधा हुँदाहुँदै पनि नेपाल यस क्षेत्रमा प्रयोगविहीनजस्तै थियो । अहिले भने निकै उत्साहप्रद काम भइरहेका छन् । 

नयाँ पुस्तामा स्टार्टअपप्रति आकर्षण बढ्दो छ । युवापुस्ता चुनौतीसँग जुध्न चाहन्छ । प्रविधिसँग जोडिएर नवीनतम् सोच विकास गर्न चाहन्छ । प्रविधिको दुनियाँमा सिर्जनशील बनेर आफूलाई अब्बल देखाउन चाहने युवापुस्ताले स्टार्टअप व्यवसायलाई दीर्घकालीन उद्यमका रूपमा विकास गर्न थालेका छन् । 

आजको दुनियाँमा सूचना प्रविधिको विकासँगै युवाले अन्तर्राष्ट्रिय जगत्मा भइरहेका नयाँ विषयको खोज तथा अनुसन्धान गर्न थालेका छन् । युवाहरूको प्रविधिलाई आधार बनाएर उद्यमी बन्ने रुचि देखिन्छ । अबको दुनियाँ प्रविधिकै वरिपरि घुम्ने पक्का छ । जसले आधुनिक प्रविधिलाई आत्मसात् गरेर उद्यमी बन्छ, उसैले सफलता प्राप्त गर्ने हो । प्रविधिमा आधारित बिजनेस गरेकै कारण कतिपय युवा सानै उमेरमा अर्बपति बन्न सकेका सफलताका कथाहरू हामीले पढ्ने गरेका छौँ । प्रविधिमा आधारित उद्यम गर्नेले छिटै सफलता पनि प्राप्त गर्छ । 

विश्वभरि नयाँ पुस्ताले नै स्टार्टअप बिजनेस सुरु गरिरहेका छन् । उनीहरूले परम्परागत व्यवसायलाई प्रविधिको माध्यमबाट आधुनिकतामा ढालेको देखिन्छ । कतिपय समाजले तिरस्कार गरेका काम पनि युवाले आधुनिक प्रविधिको प्रयोग गरेर समाजकै प्रतिष्ठित उद्यममा दर्ज गर्न सफलता प्राप्त गरेका छन् । जस्तो कि, लुगा धुने धोबी, फोहोर संकलन गर्नेलगायत समाजले तिरस्कार गर्ने कामलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्दा समाजमै उदाहरणीय बनेको पनि देखिएको छ । 

अहिलेका पुस्ताको चाहना र रुचिलाई सरकारले सम्बोधन गरिदिएको खण्डमा नेपालको आर्थिक रूपान्तरणमा ठूलो सहयोग पुग्ने पक्का छ । नेपालको सन्दर्भमा स्टार्टअप नयाँ उद्यम हो । यो उद्यममा जोडिने पनि नयाँ पुस्ता नै हो । यसको अभ्यास पनि नितान्त नयाँ नै हो । त्यसैले पनि नीति–निर्मातादेखि यस उद्यममा जोडिन आइपुग्ने युवा पुस्तासम्ममा केही अन्योल देखिएको हो । यसलाई बुझ्न पक्कै समय लाग्छ । नेपालमा ढिलो भए पनि स्टार्टअपले गति लिन थालेको छ । केही वर्षभित्र स्टार्टअपले अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउन थाल्नेछ ।

नीति–नियम बनाउनेदेखि अनुदान उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण गराएको हुनाले पक्कै बजेटमा सम्बोधन हुनेमा विश्वस्त छौँ

स्टार्टअप उद्यम भनेको इनोभेसन हो, अर्थात् पुरानो ढर्राबाट चलिरहेको व्यवसायलाई आधुनिक डिजिटल प्रविधिमा रूपान्तरण गर्नु हो । अहिले विभिन्न क्षेत्रले खोजेको पनि यही प्रविधिको माध्यमबाट गरिने उद्यमशीलता हो । समयलाई बचाउनका लागि अहिलेको पुस्ता सूचना र प्रविधिसँग जोडिन चाहन्छ ।

हामीले सुरुवाती दिनमा स्टार्टअपबारे बुझाउनै समय लागेको थियो । तर, अहिले स्टार्टअपबारे धेरै बताइरहनुपर्दैन । अहिलेका पुस्ताले हाम्रो अनुभवबाट पनि धेरै सिक्ने अवसर पाएका छन् । यो पक्कै पनि सकारात्मक पक्ष हो । शिक्षा, स्वास्थ्य, यातायात, व्यापारलगायत हरेक क्षेत्रमा यसको प्रयोग हुन थालिसकेको छ । यसले के पनि देखाउँछ भने नेपालमा स्टार्टअप सफल हुँदै गइरहेको छ । अहिलेको पुस्ताले खोजेको पनि यही हो । 

प्रविधिको दुनियाँमा हरेक क्षेत्रमा आधुनिकता होस् । कुनै काममा समयको बचत होस् । आफू उभिएकै ठाउँबाट मोबाइल वा कम्प्युटरबाटै आफूलाई आवश्यक सबै काम गर्न सकियोस् । नेपालमा धेरैका बाबुआमा आफ्ना छोराछोरी पढेर इन्जिनियर वा डाक्टर बनुन्, पढेर विदेशमा गएर प्रगति गरून् भन्ने चाहन्छन् । कुनै युवा नयाँ सिर्जनशील काममा लाग्न खोज्दा बाबुआमा तगारो बनिदिने अवस्था पनि छ ।

घरपरिवारको इच्छा एकातिर, छोराछोरीको चाहना अर्कोतिर पनि भइदिन्छ । हामीले आफ्नो लक्ष्यमा हिँड्नका लागि सबैभन्दा पहिला घरपरिवार र आफन्तसँग विद्रोह गर्नुपर्ने अवस्था छ । मेरा साथीहरू अहिले पनि आफ्ना इच्छा, चाहना र रहरलाई कुल्चिएर परिवारको इच्छाअनुरूप पढाइ गर्न बाध्य छन् । केही गर्ने वेलामा विवाहबन्धनमा बाँधिनुपर्दा उनीहरूभित्रको सिर्जनशीलता मर्ने गरेको छ । उनीहरूले आफैँ केही नयाँ गर्ने चाहना हुँदाहुँदै पनि परिवारको अवरोधका कारण गर्न सकेका छैनन् । 

घरपरिवारमा आफ्नो इच्छा र चाहना बुझाउन नसक्दा पनि समस्या निम्तिएको हो जुन अहिलेको युवापुस्ताका लागि चुनौती पनि हो । यस्ता चुनौतीलाई चिर्न सक्नु नै उद्यमशील बन्नु हो । मैले धेरै साथीहरूसँग नजिक रहेर काम गरिरहेकी हुन्छु । उनीहरू भनिरहेका हुन्छन्, ‘केही त नयाँ गरौँ ।’ उनीहरू अध्ययन पनि त्यही विषयमा गर्न चाहन्छन् । रुचि पनि त्यसमै हुन्छ, तर परिवारको डरले आफूले इच्छाएको विषय पढ्न सक्दैनन् । त्यहीँबाट उनीहरूको नयाँ काम गर्ने यात्रामा अवरोध सिर्जना हुन्छ ।

पहिलोपटक ‘युजी बजार’ नामक अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउँदा व्यापक अन्योल थियो । कसरी काम गर्ने होला भन्ने लागेको थियो । अनलाइनबाट अर्डर लिएर घरघरमा बेकरीका आइटमहरू पुर्‍याउनु पक्कै पनि चुनौतीपूर्ण थियो । उपभोक्तामाझ युजी बजार अनलाइनलाई चिनाउन पनि केही वर्ष लाग्यो । तर, दृढ विश्वासका साथ काम गर्दै जाँदा सफलता हासिल हुने रहेछ । हामीले युजी बजार ०६८ सालमा सुरुवात गरेका थियौँ । सुरुवातमै भूकम्प, नाकाबन्दीको सामना गर्नुपर्‍यो । घरघरमा बेकरी आइटम डेलिभरी गर्न बाइक थियो । तर, नाकाबन्दीले पेट्रोल किन्न नपाउँदा हामीले साइकल किनेर सेवाग्राहीलाई डेलिभरी गर्नुपरेको थियो ।

युवाहरूले स्टार्टअप सुरु गरेर उद्यमी मात्र बनेका छैनन् धेरैलाई रोजगारी पनि दिइरहेका छन् । स्टार्टअपले अर्थतन्त्रमा पनि योगदान पुर्‍याउन थालेको छ । मान्छेको जीवनशैली सहज बनाउन थालेको छ । अहिले मान्छेले घरमै बसेर खानेकुरादेखि सम्पूर्ण सामान अर्डर गर्न सक्छन् ।

सरकारले स्टार्टअपलाई हेर्ने नजर परिवर्तन गर्नुपर्छ । स्टार्टअप फस्टाउने गरी नीति निर्माण गर्ने र त्यस्ता युवाहरूमा लगानी पनि गर्नुपर्छ । किनभने स्टार्टअपमा जोडिन चाहने युवाका लागि सबैभन्दा ठूलो चुनौती भनेकै पुँजीको अभाव हो । उनीहरूले स्टार्टअप सुरु गर्नका लागि घरमा परिवारलाई सम्झाएर पनि पैसा लिन सक्दैनन् । त्यसैले बैंक तथा वित्तीय संस्थाहरूले पनि युवाहरूको परियोजना धितो राखेर सहुलियत ब्याजदरको ऋण दिनुपर्छ ।

सरकार आर्थिक वर्ष ०७८/७९ सालको बजेटको गृहकार्यमा जुटेको छ, नयाँ बजेटमा स्टार्टअपलाई सघाउने खालका कार्यक्रम ल्याउनुपर्छ । यस विषयमा अर्थमन्त्री विष्णु पौडेल, अर्थसचिवलगायत सरोकारवालाहरूलाई हामीले भेटेर आफ्ना सरोकारका विषय राख्दै आइरहेका छौँ । सरकारले पनि स्टार्टअपलाई सकारात्मक रूपले लिन थालेको छ । यो क्षेत्रलाई नियमन गर्न ऐन–कानुन बनाउँदै छ । नीति–नियम बनाउनेदेखि अनुदान उपलब्ध गराउने विषयमा सरकारको ध्यानाकर्षण गराएको हुनाले पक्कै पनि बजेटमा सम्बोधन हुनेमा विश्वस्त छौँ ।