१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख ९ बिहीबार ०६:५९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमसिसी रोक्न चीनको इसारामा ओलीले संसद् अधिवेशन अन्त्य गरेको देउवाको विश्लेषण

Read Time : > 2 मिनेट
२०७८ बैशाख ९ बिहीबार ०६:५९:००

चीन रिसाउँछ भनेर ओलीले संसद् अधिवेशन अन्त्य गराए :  देउवा

ओलीले अविश्वासको प्रस्ताव आउला भनेर होइन, अन्य कारणले (चीन रिसाउँछ भनेर) नै संसद् अधिवेशन अन्त्य गराएका हुन्, तपाईंहरू (पार्टी नेताहरू) कुरै बुझ्नुहुन्न । आफैँ सर्वदलीय बैठक बोलाएर ओलीले एमसिसीको प्रस्ताव अघि सारेका थिए, तर उनले सभामुखका कारण अघि बढ्न सकेन भने । संसद्मा अघि बढ्ने अवस्था थियो, तर ओलीले संसद् नै बन्द गरे । ओलीले एमसिसी पास गर्दा चीन रिसाउँछ र त्यसपछि आफूविरुद्ध खेल हुन्छ भनेर संसद् अधिवेशन अन्त्य गराएका हुन् । उनले अमेरिका र चीनसँग दोहोरो भूमिका खेले ।

.....                   ....

प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्बाट पास हुन नदिन प्रधानमन्त्री केपी ओलीले हठात्मा संसद् अधिवेशन अन्त्य गराएको विश्लेषण सुनाएका छन् । बुधबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकमा सभापति देउवाले एमसिसी रोक्न ओलीले चिनियाँ इसारामा संसद् अधिवेशन अन्त्य गराएको विश्लेषण सुनाएका हुन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गराएकै दिन सोमबार देउवाले ‘ओली भारतको टाङमुनि छिरिसकेको’ बताएका थिए । 

बैठकमा देउवाले एमसिसीसँग जोडेर प्रधानमन्त्री ओलीसँगको असन्तुष्टि पोखेका थिए । ‘ओलीले अविश्वासको प्रस्ताव आउला भनेर होइन, अन्य कारणले नै संसद् अधिवेशन अन्त्य गराएका हुन्, तपाईंहरू कुरै बुझ्नुहुन्न,’ देउवाले बैठकमा भनेको उद्धृत गर्दै कांग्रेसका एक पदाधिकारीले भने, ‘आफैँ सर्वदलीय बैठक बोलाएर ओलीले एमसिसीको प्रस्ताव अघि सारेका थिए, तर उनले सभामुखका कारण अघि बढ्न सकेन भने । संसद्मा अघि बढ्ने अवस्था थियो, तर ओलीले संसद् नै बन्द गरे ।’

अमेरिकाको पनि विश्वास लिने र चीनसँगको विश्वासलाई नतोड्ने गरी ओलीले खेल रचेको देउवाको ब्रिफिङ थियो । ओलीले एमसिसी पास गर्नुपर्छ भनेर चिनियाँको इसारामा संसद् अधिवेशन अन्त्य गराएको देउवाको दाबी थियो । ‘एमसिसीबारे छलफल गर्दा सत्ता र प्रतिपक्ष नै पास गर्नुपर्ने पक्षमा उभिएका छौँ । सभामुखले मात्रै कसरी रोकेर राख्न मिल्छ ?’ एक नेताले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘ओलीले एमसिसी पास गर्दा चीन रिसाउँछ र त्यसपछि आफूविरुद्ध खेल हुन्छ भनेर संसद् अधिवेशन अन्त्य गराएका हुन् । ओलीले अमेरिका र चीनसँग दोहोरो भूमिका खेले ।’

ओलीले अन्तर्राष्ट्रिय शक्तिहरूलाई झुक्याउन जालझेल गरेको देउवानिकट नेता पूर्वउपसभापति गोपालमान श्रेष्ठले बताए । ‘ओलीले हामीलाई मात्रै होइन, दुनियाँलाई ढाँट्न थाले । एउटा गर्ने, अर्को बोल्ने कूटनीति उनले गरे,’ उनले भने । 

प्रधानमन्त्री ओलीले गत शनिबार मात्रै सर्वदलीय बैठक बोलाएर चालू अधिवेशनमै एमसिसी पास गर्नुपर्ने प्रस्ताव गरेका थिए । बैठकमा कांग्रेस र जसपाका नेताले एमसिसी पारित गर्ने पक्षमा मत राखेका थिए । एमसिसी पास गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावले कांग्रेस सभापति देउवाले राहत महसुस गरेका थिए । तर, त्यसको दुई दिन नबित्दै ओलीले संसद्को हिउँदे अधिवेशन अन्त्य गराएपछि ओली र देउवाबीच दूरी बढेको छ । 

बुधबारको बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाको सधैँझैँ आलटाल गर्ने क्रम निरन्तर रहेको प्रतिक्रिया दिए । ‘सरकार र पार्टी दुवैतिर आलटाल गर्ने काम भइरहेको छ । यसरी कहीँ पनि पुगिँदैन । उहाँ सधैँ विचार गर्नुपर्छ भन्नुहुन्छ, कहिलेसम्म कसरी विचार गर्ने हो, केही ठेगान छैन,’ उनले नयाँ पत्रिकासँग भने । पौडेलले बुधबारको छलफलमा राजनीतिक विषयमा निर्णायक कुराकानी नभएको बताए । ‘पार्टीका आन्तरिक विषयमाथि धेरै छलफल भयो । निर्वाचन समितिलाई पूर्णता दियौँ । त्यहाँ परेका उजुरीमाथि छलफल गरेर समाधान गर्ने काम निर्वाचन समितिलाई नै दिने कुरा भयो । त्यसबाहेकका विषयमा खास सहमति भएको छैन । छलफल गर्न बाँकी नै छ,’ उनले भने । 

बैठकमा देउवाले जसपाले निर्णय नगर्दासम्म नयाँ सरकारका लागि बहुमत नपुग्ने बताएका छन् । ‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन, जसपा पनि तयार भएको छैन,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘परिस्थिति परिपक्व नभएसम्म हामीले केही गर्न सक्ने अवस्था छैन ।’ देउवाले माधव नेपाल समूहले फ्लोर क्रस गर्छ भन्ने आसले अविश्वासको प्रस्ताव लैजान नहुने बताएका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अविश्वासको प्रस्तावका लागि जसपा तयार नभएसम्म कांग्रेसले प्रक्रिया अघि नबढाउने बताए । ‘कांग्रेसले निर्णय गरिसकेको छ, अन्य दलहरूसँग पनि छलफल चलिरहेको छ । तर, जसपा निर्णायक स्थानमा छ, जसपाले निर्णय नलिएसम्म अविश्वासको प्रस्ताव अघि बढाउन सक्ने अवस्था छैन,’ शर्माले भने ।