कमलादीस्थित काठमाडौं प्लाजा भवनलाई नेपाल ट्रस्टको कार्यालयले आफ्नो नियन्त्रणमा लिएको छ । कार्यालयले सुरक्षा निकायको सहयोगमा अवैध रूपमा व्यापार गरिरहेको व्यवसायीलाई १० महिनापछि हटाएर भवन आफ्नो नियन्त्रणमा लिएको ट्रस्टको कार्यालयले जनाएको छ ।
भवनमा अटेरी गरेर बसेको व्यवसायीको फर्म सिल गर्दै आफ्नो नियन्त्रणमा लिएको कार्यालयका कार्यकारी सचिव सुरेश आचार्यले जानकारी दिए । ट्रस्टको कार्यालयले गत २५ चैतमा प्लाजा भवनमा रहेका फर्महरूमा २ वैशाखदेखि ताल्चा लगाउने निर्णय गरेको थियो । ३ असारदेखि अवैधानिक रूपमा बस्दै आएका फर्महरूमा १० महिनापछि ट्रस्टले ताल्चा लगाएको हो ।
कार्यालयले भवन खाली गर्न ०७७ असारदेखि बारम्बार सूचना प्रकाशन गरे पनि भाडामा बसेका कम्पनीले अटेर गरिरहेका छन् । भवन भाडा लिने दोस्रो पक्ष कन्सेप्ट डेभलपर्सले भवन खाली गर्न व्यवसायीले अटेरी गरेका कारण कार्यालयलाई नियन्त्रणमा लिन सहमति दिएको थियो । सो सहमतिसँगै २५ चैतमा कार्यालयले दिएको अन्तिम समय सकिएपछि २ गते फर्ममा सिल गरेर कब्जामा लिएको सचिव आचार्यले जानकारी दिए । यसअघि कार्यालयले २ वैशाखदेखि सुरक्षा निकायलगायत सरोकारवालाको सहयोगमा भवन खाली गराउने भन्दै ३१ गते माइकिङ गरिएको थियो । नियन्त्रणमा लिएका सामानहरू सुरक्षित राखिने र बक्यौता उठेपछि फिर्ता गर्ने आचार्यले जानकारी दिए ।
कब्जामा लिएका सामान लैजान व्यवसायी फर्म कन्सेप्ट डेभलपर्सको सम्झौताअनुसारका सबै काम पूरा गरेर आएको अवस्थामा मात्र स्वीकृति दिने कार्यालयको भनाइ छ । ०५० सालमा कन्सेप्ट डेभलपर्ससँग भएको २७ वर्षको सम्झौता सकिएपछि उक्त भवन काठमाडौं महानगरपालिकालाई दिने निर्णय ट्रस्टले गरेको थियो ।
कन्सेप्टसँगको सम्झौता सकिएसँगै ट्रस्टको कार्यालयले काठमाडौं प्लाजा कार्यालयीय प्रयोजनका लागि काठमाडौं महानगरलाई दिने निर्णय गरिसकेको छ । ट्रस्टको कार्यालयले महानगरलाई ६० लाख ५० हजार मासिक भाडा तिर्ने गरी काठमाडौं प्लाजा दिने निर्णय गरेको थियो । हालको कम्पनीले ट्रस्टलाई मासिक ६ लाख मात्रै दिँदै आएको छ ।