१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ चैत २८ शनिबार १०:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्योग वाणिज्य महासंघसँग रुष्ट बनेका उद्योगी-व्यापारी परिसंघमा आबद्ध

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ चैत २८ शनिबार १०:००:००

उद्योग वाणिज्य महासंघदेखि रुष्ट बनेका विराटनगरका उद्योगी–व्यवसायीहरू उद्योग परिसंघमा आबद्ध भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को शनिबारदेखि सुरु हुने ५५औँ वार्षिक साधारणसभाकै सन्दर्भ पारेर प्रधानमन्त्री केपी ओलीका विशेष आर्थिक सल्लाहकार तथा उद्योगी मोती दुगडसहितको विशेष योजनामा १ दर्जन व्यापारीहरू परिसंघमा आबद्ध भएका हुन् ।  

रुष्ट उद्योगी–व्यवसायीले नेपाल उद्योग परिसंघमा प्रदेश नं १ तदर्थ समिति पनि गठन गरेका छन् । आगामी २०७८ वैशाखमा तदर्थ समितिको पहिलो प्रदेश साधारणसभा गरेर वैधानिकता दिने योजना उनीहरूको छ । काठमाडौंबाहिर खासै पहुँच विस्तार गर्न नसकेको नेपाल उद्योग परिसंघको प्रदेश नं १ को तदर्थ समितिको संयोजकमा उद्योगी भीम घिमिरे चयन भएका छन् ।

घिमिरे उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष हुन् । उनी प्रगतिशील धारका उद्योगीका रूपमा पनि परिचित छन् । परिसंघको वरिष्ठ उपाध्यक्षमा मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा चयन भएका छन् । त्यस्तै, नबलकिशोर काबरा, सुशीलकुमार जोशी, कृष्णकुमार अग्रवाल, दीपक पौडेल र देवेन्द्र गुप्ता तदर्थ समितिको उपाध्यक्षमा चयन भएका छन् । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार एवं पूर्वउद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगड नवगठित परिसंघको संरक्षक  बनेका छन् ।   

उद्योगी गिरीश लुनियाँलाई कोषाध्यक्ष बनाइएको छ । परिसंघको सदस्यमा विकास अधिकारी, डेनिस कार्की, वेदान्त जाजू, दिवस सुवेदी, अनुप सिग्देल, कर्ण रायमाझी, भावेश राठी, निखिल तोदी र गिरिजा सारडा, मधुर दुगड, रिसव दाहाल, साकेत राठी, अनुपमा बास्तोला, मुकेश कोठारी, महेश पौडेल, रजत तोदी र राजेन्द्र राठीलाई समावेश गरिएको छ । मधु लोहियालाई महिला उद्यम समिति र गोपाल अग्रवाललाई युवा उद्यमीको सभापति बनाइएको छ । भवन निर्माण समितिमा महेश सोनी, विकास दुगड र आरती स्ट्रिप्सका उपाध्यक्ष अश्विनी शर्मालाई पनि राखिएको छ ।

वैशाख पहिलो हप्ताभित्र पहिलो साधारणसभा गरेर परिसंघ प्रदेश समितिलाई वैधानिकता दिने आफूहरूको योजना रहेको तदर्थ समिति संयोजक घिमिरेले बताए । उनका अनुसार उद्योगी–व्यापारीहरूले हकहितका लागि उठाएको आवाजमा उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले बेवास्ता गरेको गुनासो छ । परिसंघ संयोजक घिमिरेले भने, ‘बैंक ब्याज, श्रम विवाद, उद्योगी–व्यवसायीको आत्मसम्मानको मुद्दालाई हामीले राष्ट्रिय रूपमा उठाएका थियौँ । तर नेतृत्वले समाधानमा कुनै चासो दिएन, सबैले मोफसलको भनेर दोस्रो दर्जाको झैँ ठानिरहे, यसैले हामी मोरङ व्यापार संघ र उद्योग संगठनमा आबद्ध धेरै उद्योगी–व्यापारीहरू एफएनसिसिआई त्याग्न बाध्य भयौँ ।’ 

उद्योगीहरूका अनुसार उद्योग परिसंघलाई प्रदेश नं १ मा बलियो बनाउने योजनामा नेपाल उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य महेश जाजू, पूर्वसंविधानसभा सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन सारडा, उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुशील धनावत र उद्योग परिसंघका प्रतिनिधि वासुदेव गोल्यान, मीनप्रकाश मैनाली र उद्धव रिजालले प्रमुख भूमिका निभाएका छन् । २०६७ सालमा तत्कालीन अध्यक्ष विनोद चौधरीले विराटनगरका उद्योगी वासुदेव गोल्यानको अध्यक्षतामा सिएनआईको कोसी अञ्चल तदर्थ समिति गठन गराएका थिए ।  

जानकारहरूका अनुसार उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका समूह उद्योग वाणिज्य संघको प्रदेश समितिमा पकड बनाउन चाहन्थ्यो । तर, उनीहरूले झापा बिर्तामोडमा भएको अधिवेशनमा सर्वसम्मत बनाएर आफूहरू समावेश हुन विभिन्न प्रयास गरे पनि सफल हुन सकेनन् । यसैले उनीहरू मौकाको पर्खाइमा थिए । तर, परिसंघमा आबद्ध भएको समूहलाई एफएनसिसिआई समूहले भने पदलोलुपताको आरोप लगाएको छ । विराटनगरका एक उद्योगीले भने, ‘सधँै पदमा टाँसिरहन चाहनेहरूको लोलुपताले गर्दा यस्तो भएको हो, तर यसले उद्योग वाणिज्य संघलाई केही फरक पार्दैन ।’