मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २६ बिहीबार ०६:१९:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विमानस्थलबाट रोकिएन सुन तस्करी : राइसकुकरभित्र लुकाएर ल्याएको ७० लाखको सुन बरामद

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत नेपाल आएका प्रगास महरा तस्करीको नौ सय ३४ ग्राम सुनसहित पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २६ बिहीबार ०६:१९:००

दैनिकजसो बरामद भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी रोकिएको छैन । प्रहरी र भन्सार अधिकारीलाई छक्याउन तस्कर समूहले नयाँ–नयाँ शैली अपनाउन थालेका छन् । राइसकुकरको तल्लो भागमा सुनको जलप लगाएरसमेत तस्करी हुन थालेको छ । मंगलबार राइसकुकरभित्र राखेर तस्करी गर्न लागिएको करिब नौ सय ग्राम सुन बरामद गरेको छ । सुनको मूल्य ७० लाख रुपैयाँबराबरको छ ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत दुबईबाट आएका प्रगास महरालाई भन्सार कार्यालयले तस्करीको नौ सय ३४ ग्राम सुनसहित पक्राउ गरेको हो । उनले राइसकुुकरको तल्लो भागमा फ्याक्ट्रीमै सुन टाँसेर ल्याएका थिए । भन्सारको एक्सरेले सुन पत्ता लगाएको हो । पक्राउ परेका महरा सुन तस्कर गिरोहले प्रयोग गरेका भरिया भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

केही दिनयता नियमितजसो विमानस्थलमा तस्करीको सुन बरामद हुँदै आएको छ । गत २० चैतमा मात्र प्रहरीले दुबईबाट आएका विष्णुबहादुर भण्डारीलाई पाँच सय १६ ग्राम सुनसहित पक्राउ गरेको थियो । त्यसअघि ११ चैतमा दुबईबाट आएका सहदेव चौधरी ७० ग्राम सुनसहित पक्राउ परेका थिए । १० चैतमा रिचार्जेबेल ब्याट्रीभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने धादिङका रमेश सापकोटा र सिन्धुलीका निर्दोष थिङ पक्राउ परेका थिए । उनीहरूबाट चार सय ग्राम सुन बरामद भएको थियो । सो सुन दुबईबाट ल्याइएको थियो । तस्करी गर्ने समूहले विविध सामानभित्र लुकाएर तस्करी गर्न खोज्ने गरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोला बताए ।

यसरी तस्करी गर्न खोज्ने भरिया पक्राउ परे पनि नाइकेमाथि अनुसन्धान हुने गरेको छैन । यस्ता घटनामा प्रहरीले अनुसन्धान गर्न पाउँदैन । प्रहरीले भन्सारलाई बुझाउने र भन्सारले सम्बन्धित व्यक्तिलाई मात्र कारबाही गर्दा नाइकेहरू जोगिने र भरियाहरू मात्र कारबाहीमा पर्ने प्रवृत्ति छ । यसरी तस्करी गर्ने दर्जनौँ गिरोह दुबईमा सक्रिय छन् । एक तोला सुनमै दुबई र नेपालमा करिब १० हजार रुपैयाँको फरक रहेकाले तस्करी हुने गरेको छ ।