मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिपेश शाही काठमाडाैं
२०७७ चैत १७ मंगलबार ०२:२९:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

प्रतिवादमा उत्रिन र आवश्यकताअनुसार जिल्लाजिल्लामा संगठन बनाउन कार्यकर्तालाई आह्वान गर्दछु : माधव नेपाल

Read Time : > 1 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७७ चैत १७ मंगलबार ०२:२९:००

अध्यक्ष केपी ओलीले पार्टी विधानको धारासमेत उल्लेख गरेर तपाईंलाई पार्टीका सबै जिम्मेवारी र पार्टीको साधारण सदस्यताबाटै निलम्बन गर्नुभएको छ, अब के गर्नुहुन्छ ?

विधानविपरीत एकपक्षीय रूपमा २८ फागुनमा गरिएका निर्णय अमान्य छन् । त्यसका आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षले पार्टीका कुनै पनि नेतालाई कारबाही गर्ने अधिकार छैन । केपी ओली विधानको उल्लंघन गर्ने अवैधानिक अध्यक्ष हुनुहुन्छ । उहाँ पार्टीको अध्यक्ष पनि हुनुहुन्न । अवैधानिक भएकाले उहाँलाई कारबाही गर्ने कुनै अधिकार पनि छैन । न वैधानिक अधिकार छ, न नैतिक । जुन मान्छेले देशको संविधान र पार्टीको विधान कुल्चेको छ, उही व्यक्तिले अरूलाई स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार छैन । म यसलाई अस्वीकार गर्दछु । उहाँको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध नीति, विधि, नैतिकता, मूल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता–कार्यकर्तालाई कत्ति पनि विचलित नभई दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न अपिल गर्दछु । सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरुद्धमा जटेर लडिन्छ ।

पार्टीभित्र समाहित हुन छाडेर पार्टीको नाम, झन्डा र चिह्न दुरुपयोग गरेर गुटगत भेला गरेको आरोप लागेको छ, कार्यक्रम त तपाईंहरूले गर्नुभएको हो नि? 

उहाँले नै मदन भण्डारी फाउन्डेसनका नाममा धेरै वर्षदेखि गुट सञ्चालन गर्दै आउनुभएको छ । बालुवाटारलाई गुटको अखडा बनाउनुभएको छ । सरकार, सत्ता र सरकारी साधन–स्रोतको पूरै दुरुपयोग गर्नुभएको छ । यो सबै गरेबापत उहाँलाई कारबाही गर्नुपर्छ । जेसुकै भए पनि टुक्राटुक्रामा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत, विस्तार र विकास हामीले नै गरेका हौँ, यसको रक्षा पनि हामीले नै गर्ने हो । मैदान छोडेर भागिन्न । 

तपाईंलाई निलम्बन गर्नुभएको छ । अब यसको प्रतिक्रिया कसरी दिनुहुन्छ ?

नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौँ महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतः निराश होइन, दृढ बनेर कम्युनिस्ट आन्दोलनको रक्षा गरिन्छ । हामीसँग पार्टीको विधान छ । विधानसम्मत ढंगले कानुनी आधारमा उहाँमाथि पनि कारबाही हुन्छ । 

तपाईंलाई मात्रै हो कि तपाईंको पक्षमा उभिएका अरूलाई पनि कारबाही हुने सम्भावना छ ?

सुरु त उहाँले अर्घाखाँचीका कार्यकर्तालाई कारबाही गरेर गर्नुभएको हो । हामी त दोस्रोमा परेका हौँ । तर, हामी डराउँदैनौँ । आवश्यकताअनुसार जिल्ला–जिल्लामा संगठन बनाउन, भएको कमिटी आफ्नो लाइनमा दृढताका साथ उभ्याउन, नआत्तिन र प्रतिवादमा उत्रिन म कार्यकर्तालाई आह्वान गर्दछु ।

निलम्बनपत्रमा राखिएको व्यहोरा हेर्दा, सांसद पदबाट पनि हटाउन सक्ने चेतावनीजस्तो देखिन्छ नि ?

उहाँले भविष्यमा के गर्नुहुन्छ, त्यो अहिले कुरा नगरौँ । उहाँको यो स्वेच्छाचारी कदमविरुद्ध कम्युनिस्ट आन्दोलन जोगाउन म देशभरका कार्यकर्ता पंक्तिलाई एक भएर उभिन आह्वान गर्दछु । यो पार्टी जसले निर्माण गरेका छन्, उनीहरूलाई पार्टीप्रति माया छ । ओली गुटले पार्टीलाई तहसनहस पार्न खोजेको छ । हामी त्यसको प्रतिकारमा उत्रिन्छौँ । यसका लागि म सबै कार्यकर्तालाई आह्वान गर्छु ।