प्रहरी र सेनाले पहिले हवाईफायर गरे, त्यसपछि झ्यालमा ढुंगाले हाने र ढोका नखोले ढोकामा गाडी पसाइदिने धम्की दिए । स्वे विन र उनको परिवार त्यसवेला सुतिरहेको थियो । समय बिहानको २ः३० भएको थियो । सुरक्षाकर्मी स्वे विनका छोरा विन ह्टुट न्येनलाई पक्राउ गर्न आएका थिए । ढोका खोल्नासाथ तिनले १९ वर्षीया विन ह्टुट न्येनलाई पिटे र हातमा हथकडी लगाएर झुन्ड्याउँदै लगे । परिवारका अनुसार अघिल्लो दिन म्यान्डलेमा भएको प्रदर्शनमा उपस्थित प्रहरीको फोटो खिचेकाले न्येनलाई पक्राउ गरिएको थियो ।
दुई हप्तापछि पनि स्वे विन आफ्ना छोरालाई खोजिरहेका थिए । प्रशासनले आफूहरूसँग उनको छोरा पक्राउ परेको प्रमाण नभएको बताइरहेको छ । ‘सबै आशा हराएको अनुभव भइरहेको छ । तिनीहरूको हातबाट मेरो छोरा नमारियोस् भन्ने मात्र चाहना छ । तिनले उसलाई यातना देलान् भन्ने डर छ ।’
फेब्रुअरी १ को कुपछि म्यानमारमा दशौँ लाख प्रदर्शनकारी प्रजातन्त्रको पक्षमा आन्दोलनरत छन् । आमसर्वसाधारण आमहडतालमा सहभागी भइरहँदा सरकारी कर्मचारीहरू पनि भद्र अवज्ञामा उत्रिएका छन् । अर्थतन्त्र ठप्पप्रायः छ । सुरक्षाकर्मी पछिल्लो समय प्रदर्शनकारीविरुद्ध कठोर दमनमा उत्रिन थालेका छन् । सडकमा मर्नेको संख्या बढेको छ भने सुरक्षाकर्मीले घरभित्रै पसेर धरपकड तथा पक्राउ गर्न थालेका छन् ।
सेनाको कारबाहीमा राजनीतिक दलका नेता मात्र होइन, पत्रकार, विद्यार्थी र आमनागरिक सबै परेका छन् । सेना र प्रहरी मध्यरातमा घरभित्र पसेर सत्ताविरोधीको खोज गर्न थाल्छन् । यसैले सरकारविरोधीहरू घर जान छाडेर भूमिगत भएका छन् । तर पनि कठोर निगरानीका कारण पक्राउ पर्ने क्रम रोकिएको छैन । पक्राउ परेकामध्येबाट बेपत्ता हुने, यातना भोग्ने तथा मृत्यु हुनेको संख्या बढिरहेको छ ।
सेनाको पछिल्लो कारबाहीले सत्ताविरोधी कोही पनि सुरक्षित नरहेको सन्देश दिएको छ । पक्राउ र हत्याको मापन गर्ने एक समूहका अनुसार सुरक्षाकर्मी कारबाहीबाट शुक्रबारसम्म झन्डै ३२० जनाको हत्या भइसकेको थियो । पक्राउ पर्नेको संख्या तीन हजारभन्दा बढी थियो । शनिबार कुपछिकै सबैभन्दा हिंसात्मक दिन साबित भयो । सुरक्षाकर्मीको कारबाहीबाट ९१ देखि १४१ मानिसको मृत्यु भएको सूचना आइरहेको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी उच्च आयोगका अनुसार सयौँ मानिस गैरकानुनी रूपमा बेपत्ता पारिएका छन् । कम्तीमा पाँचजनाको हिरासतमै मृत्यु भएको छ, जसमध्ये दुईको यातनाका क्रममा मृत्यु भएको आशंका छ । हिरासतमा देशकी प्रमुख नेतृ आङ सान सुकीलगायत सयौँ सांसदहरू पनि छन् । सुकीको पार्टी नेसलन लिग फर डेमोक्रेसीका गभर्नर र अन्य अधिकारी पनि जेलमै छन् । अन्य बन्दीजस्तै सुकीलाई पनि उनको वकिलसँग कुराकानी गर्न दिइएको छैन । बुधबार उनलाई अदालतमा पेस गरिने कार्यसूची भए पनि अन्तिममा रद्द गरियो ।
पक्राउका क्रममा प्रहरीले पैसा, मोबाइल फोन र कारको साँचो पनि लुट्ने गरेको मानिसले बताइरहेका छन् । केही प्रदर्शनकारीले आफूले प्रहरीलाई पैसा दिएर छुटेको बताइरहेका छन् । तर, सबै त्यस्तो सौभाग्यशाली देखिएका छैनन् । म्यान्डलेका २४ वर्षे म्यो हेइन क्वे प्रदर्शनस्थलबाट पक्राउपछि बेपत्ता पारिए । चार दिनपछि उनको परिवारलाई क्वेको मृत्यु भएको र सुरक्षाकर्मीले नै उनको दाहसंस्कार गरिदिएको जानकारी दिइयो ।
म्यानमारको सेनाले प्रदर्शनकारीमाथि दमन बढाउन थालेसँगै सडकमा मर्नेको संख्या बढेको छ । सुरक्षाकर्मीहरू घरघरमै गएर मानिसलाई यातना दिने र पक्राउ गर्ने कामलाई पनि तीव्रता दिइएको छ ।
घरपरिवारलाई फर्काइएका केही प्रदर्शनकारीका शवमा भने चोटपटक पाइने गरेको छ । नेसलन लिग फर डेमोक्रेसीआबद्ध अभियन्ता ज म्यात लिन मार्च ८ को मध्यरातमा पक्राउ परे । अर्को दिन प्रहरीले ज म्यात लिनकी श्रीमतीलाई उनको शव पहिचानका लागि बोलायो । पछि पत्रकारसँग बोल्ने क्रममा उनले आफ्नो श्रीमान्को शरीरमा धेरै चोटपटक देखेको बताइन् ।
सम्पूर्ण शरीर कपडामा बेरिएको थियो । शवको फोटोमा पेटमा चोट थियो, जसलाई मृत्युको कारण बताइएको थियो । आधिकारिक पोस्टमार्टम रिपोर्टमा उनी भाग्नका लागि ३० फिटको पर्खालबाट हामफाल्दा पेटमा चोट लागेको उल्लेख छ । तर, ज म्यात लिनकी श्रीमतीलाई आफ्नो श्रीमान्लाई पेटमा चक्कु हानिएको लाग्छ । ‘मेरो श्रीमान्को शरीर हेर्दा उनलाई यातनापछि मारिएकोजस्तो देखिएको थियो,’ उनले बताइन् ।
कुविरोधी भूमिगत नेताको खोजीमा प्रहरीले परिवारका सदस्य तथा साथीहरूलाई पक्राउ गर्ने र सोधखोज गर्ने क्रम पनि बढाएको छ । खोजीमा रहेकाहरूमध्ये धेरै विघटित संसद्का निर्वाचित सदस्यहरू छन् । पक्राउबाट बच्न अधिकांश भूमिगत भएका छन् । तिनैमध्ये एकजना विधायक हुन्, ३३ वर्षका उ सिथु मोङ । सिथुलाई खोजिरहेको सुरक्षाकर्मीले मार्च ६ रातको साढे ९ मा सिथुका घनिष्ट मित्र उ खिन मोङ लतको घरबाटै लिएर गयो ।
भोलिपल्ट परिवार सदस्यलाई शव उठाउन बोलाइयो । परिवारले उनको ढाडमा चोटपटक लागेको पाए, टाउकोमा टाँका पनि लगाइएको थियो । सैन्य सरकारका प्रवक्ता बिग्रेडियर जनरल ज मिन टुनले एक पत्रकार सम्मेलनमा सुरक्षाकर्मीले १६४ मानिसको हत्या गरेको स्विकारेका छन् । तर, मारिनेहरू सबै प्रहरी तथा सेनालाई पेट्रोल बम प्रहार गर्ने क्रममा मारिएको उनले बताए । सेनाले पक्राउपछि मर्ने र बेपत्ता हुनेहरूको बारेमा केही प्रतिक्रिया दिएको छैन । सर्वसाधारणले सुरक्षाकर्मीको दमनका कारण उनीहरूलाई ‘आतंकवादी’ भनेर बोलाउन थालेका छन् ।