मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ चैत १५ आइतबार ०७:१६:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भ्याक्सिन लगाएका व्यक्तिमा कोभिड संक्रमणको सम्भावना दुर्लभ

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ चैत १५ आइतबार ०७:१६:००

संक्रमण भइहाले पनि जटिल हुँदैन : चिकित्सक

२३ फागुनमा खोप लगाएका ७२ वर्षीय एक पुरुषमा कोभिड पोजिटिभ देखिएपछि ९ चैतमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आइसोलेसनमा भर्ना गरेको छ । अस्पतालका अनुसार उनमा निमोनिया, खोकीलगायतका लक्षण देखिएको छ । उनले खोप लगाएको पाँच दिनपछि अर्थात २७ फागुनमा परिवारका सदस्यमा कोभिड पोजिटिभ देखिएको थियो । चिकित्सकहरूका अनुसार सामान्यतया कोभिड संक्रमण भइसकेपछि लक्षण देखिन १४ देखि २८ दिनसम्म लाग्ने गर्छ । अर्थात् खोप लगाएपछि कोभिड संक्रमण देखिएका वृद्धमा खोप लगाउनुभन्दाअघि नै संक्रमण भइसकेको हुन सक्ने उनीहरूको भनाइ छ । अस्पतालमा भर्ना भएका अर्का एकजना पुरुषमा पनि खोपपछि कोभिडका लक्षण देखिएकाले उपचाररत छन् ।

भारतको राजधानी नयाँदिल्लीस्थित एक अस्पतालमा कार्यरत नर्समा कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको एक महिनापछि कोरोना पोजिटिभ देखिएको छ । उनले खोपको पहिलो डोज १८ जनवरीमा र दोस्रो डोज १७ फेब्रुअरीमा लगाएकी थिइन् । भारतकै उत्तर प्रदेशको लखनउस्थित अस्पतालमा कार्यरत चिकित्सकमा भ्याक्सिनको पूर्ण डोज लगाइसकेपछि पनि कोरोना संक्रमण देखिएको छ । 

संक्रमणको दर फेरि बढ्दै गएको र कोभिडविरुद्धको खोप लिएका व्यक्तिमा पनि संक्रमण भएकाले सर्वसाधारणमा त्रास बढ्न थालेको छ । यसैबीच नेपालमा मात्र नभई विश्वभरि नै खोप लगाएका व्यक्तिहरूमा कोरोना पोजिटिभ देखिएका घटनाहरू सार्वजनिक पनि भइरहेका छन् । खासगरी ‘म्युटेड’ भाइरसहरू तीव्र गतिमा फैलिन थालेपछि अस्पतालका आइसोलेसनहरू फेरि कोभिडका बिरामीले भरिन थालेका छन् । नेपालमा बुधबार मात्रै एक सय ४५ जनामा कोरोना पोजिटिभ देखिएको छ । खोप लगाइसकेका व्यक्तिमा संक्रमण देखिनुले आममानिसमा खोपको प्रभावकारितामाथि शंका बढाइरहेको छ । तर, विश्वभरका अन्य देशको तंथ्याक हेर्दा खोपपछि संक्रमण हुने दर भने निकै न्यून छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसन वार्डमा उपचाररत कोभिड संक्रमित ।  तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

क्यालिफोर्निया स्यान डिगो स्कुल अफ मेडिसिन युनिभर्सिटीले गरेको एक अध्ययनअनुसार खोपपछि एक प्रतिशतमा पुनः कोभिड संक्रमणको सम्भावना रहन्छ । द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनले मंगलबार प्रकाशित गरेको रिपोर्टअनुसार युनिर्भसिटीले १६ डिसेम्बरदेखि ९ फेब्रुअरीसम्म (मोडर्ना र फाइजर) खोपको पहिलो डोज लगाएका करिब ३७ हजार र दोस्रो डोज लिएका २८ हजारमाथि अध्ययन गरेको थियो । पहिलो डोज लगाएको दुई सातासम्ममा तीन सय ७९ जनामा कोरोना पोजिटिभ देखिएको थियो भने दोस्रो डोज पनि लिएकाहरूमध्ये ३७ जनामा मात्रै संक्रमण देखिएको थियो । अर्थात् हालसम्म कोभिडविरुद्धको खोप लगाइसकेकामध्ये अधिकतम १.१९ प्रतिशतमा मात्र संक्रमण भएको छ । टेक्सास साउथवेस्टर्न मेडिकल युनिभर्सिटीले गरेको अर्को अध्ययनले पनि खोपपछि न्यून संख्यामा मात्रै संक्रमण देखिएको उल्लेख गरेको छ । 

अधिकांश खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा बढी 
आपत्कालीन प्रयोगमा आइरहेका अधिकांश खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा बढी छ । जसलाई चिकित्सा क्षेत्रमा शतप्रतिशत मान्ने गरिन्छ । तर, खोप लगाइसकेपश्चात् पनि संक्रमण देखिँदा आममानिसमा डर सिर्जना गरेको चिकित्सकहरूको बुझाइ छ । संक्रामक रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार भ्याक्सिनले शरीरमा पूर्ण रूपमा काम गर्न दोस्रो डोज पनि आवश्यक हुन्छ । अर्थात्, खोपको एउटा डोज मात्रै शतप्रतिशत प्रभावकारी हुँदैन । भन्छन्, ‘सामान्यतया खोप लगाएको दुईतिहाइमा कम्तीमा तीन महिनासम्म नाकघाँटीको र्‍यालमा पोजिटिभ देखाउँदैन । अर्थात् संक्रमण भए पनि अन्य व्यक्तिमा सर्दैन । खोप लगाइसकेपछि कम्तीमा ७० प्रतिशत सुरक्षित देखाएको छ । खोपपछि अस्पताल भर्ना भएकाहरू खोप नलगाउँदै संक्रमित भइसकेकाहरू हुन् ।’ 

खोप लगाइसकेपछि पनि केही प्रतिशतमा कोरोना देखिए पनि नआत्तिन चिकित्सकको सुझाब छ । तर, नेपालमा पनि नयाँ भेरियन्ट देखिएको र अस्पतालहरू पुनः भरिन थालेकाले सजग हुन उनीहरूको आग्रह छ । विज्ञहरूका अनुसार, खोपको पहिलो डोज लिइसकेका व्यक्तिमा केही साताको अन्तरालमा एन्टिबडी उत्पादन भइसकेको हुन्छ । यस्तोमा संक्रमण भइहालेमा पनि अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ । लक्षणहरू पनि सामान्य हुन्छन् । अध्ययनहरूका अनुसार हाल प्रयोगमा रहेको कोभिसिल्ड भ्याक्सिन अफ्रिकामा देखिएको नयाँ भेरियन्टबाहेक सबै भाइरसविरुद्ध प्रभावकारी देखिएको छ ।