१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ चैत १२ बिहीबार १०:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

Read Time : < 1 मिनेट
२०७७ चैत १२ बिहीबार १०:२६:००

काठमाडौं महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो । व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शंका लागेका व्यवसायीलाई सात दिनको समय दिएर विभाग बोलाइएको हो ।

विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार अहिले विभागले नयाँ सडक, लाजिम्पाट, पानीपोखरी महाराजगञ्जसम्म मूलसडक किनारामा रहेका पसलहरूको प्रतिनिधिमूलक रूपमा अनुगमन गरेको छ । व्यवसाय कर तिर्नेको तुलनामा बहाल कर तिर्ने करदाताको संख्या  कम रहेको पनि अनुगमनका क्रममा देखिएको छ ।

विभागको अनुगमनमा सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रहरी, विभाग र वडाका कर्मचारी रहेका छन् । प्रतिनिधिमूलक यो अनुगमनपछि वडास्तरबाट अनुगमन टोली परिचालन गरिने विभागका प्रमुख डा. अधिकारीले जानकारी दिए । 

जागरणमूलक र शिक्षामूलक कार्यक्रमबाट करदातालाई करका विषयमा जानकारी दिने र कानुनले दिएको अधिकार प्रयोग गरेर राजस्व असुली गर्ने कामपाको अबको योजना रहेको छ । करदाताको सहजताका लागि कामपाले गत असोज १ गतेदेखि १० वडाबाट र १३ गतेदेखि ३२ वटै वडाबाट अनलाइन राजस्व निर्धारण तथा संकलन कार्य थालेको छ । रासस