Skip This
तनहुँ जलविद्युतकाे बाँध निर्माणका लागि ठेक्का सम्झौता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत १० मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैँ
२o७७ चैत १० मंगलबार o९:५२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तनहुँ जलविद्युतकाे बाँध निर्माणका लागि ठेक्का सम्झौता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैँ
नयाँ पत्रिका
२o७७ चैत १० मंगलबार o९:५२:oo

कालिका र भियतनामको सोङ्ग दा कर्पोरेसनले पाए ठेक्का, १६ अर्ब ६२ करोडको ठेक्का ५७ महिनामा सम्पन्न गरिने

तनहुँ जिल्लामा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको नदी फर्काउने, बाँधलगायतका संरचना (हेडवक्र्स) निर्माण कार्यका लागि सम्झौता भएको छ । पहिलो प्याकेजअन्तर्गतको हेडवक्र्स निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन नेपाल जेभीले ठेक्का पाएका हुन् । 
सोमबार आयोजना प्रवर्द्धक र निर्माण कम्पनीबीच खरिद सम्झौता भएको छ । सम्झौतामा आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि विक्रम पाण्डेले हस्ताक्षर गरे । कम्पनीसँग १६ अर्ब ६२ करोड रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक)मा खरिद सम्झौता भएको हो । 

ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ । आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डी राभेना, इटालीसँग १५ असोज ०७५ मा सम्पन्न खरिद सम्झौता रद्द भएपश्चात् कम्पनीले १२ वैशाख ०७६ मा पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरू सारभूत रूपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्रहरू अस्वीकृत गरी एसियाली विकास बैंकको खरिद निर्देशिकाअनुरूप १६ फागुन ०७६ मा दोस्रोपटक पुनः बोलपत्र आह्वान गरेको थियो । 

कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको देशव्यापी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लागू गरिएको प्रतिबन्धका कारण पटक–पटक बोलपत्र पेस गर्ने म्याद थप गरिएको थियो । अन्ततः तीनवटा अन्तर्राष्ट्रिय कम्पनीले बोलपत्र पेस गरेकोमा प्राविधिक बोलपत्रहरूको मूल्यांकनपश्चात् सारभूत रूपमा प्रभावग्राही दुईवटा बोलपत्रदाताहरूको आर्थिक बोलपत्र खोलिएको थियो । आर्थिक बोलपत्रहरूको मूल्यांकनपश्चात् न्यूनतम मूल्यांकित सारभूत रूपमा प्रभावग्राही सोङ्ग दा कालिका जेभीको बोलपत्र स्वीकृत गरी खरिद सम्झौता गरिएको हो । 

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबल सुरुङ खन्ने कार्य सम्पन्न गरिसकेको छ । त्यसबाहेक भूमिगत विद्युत्गृह खन्ने कार्यहरूका अतिरिक्त सर्च ट्यांकतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण कार्य गरिरहेको छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य पनि भइरहेको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।