मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कृष्ण रिजाल काठमाडौं
२०७७ चैत ६ शुक्रबार १०:१६:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

केराउ, मरिच, छोकडा आयातमा लगाइएको प्रतिबन्ध हट्यो

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७७ चैत ६ शुक्रबार १०:१६:००

परिमाणात्मक बन्देज भने जारी, डेढ साताअघिको निर्णय अझै सार्वजनिक भएन

सरकारले केराउ, मरिच र छोकडाको आयातमा लगाएको पूर्ण प्रतिबन्ध हटाएको छ । अघिल्लो वर्ष १६ चैतमा सरकारले केराउ, छोकडा र मरिचको आयात रोक्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को गत २५ फागुनको बैठकले ती वस्तुको आयातमा लगाइएको पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको हो ।

उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले परिमाणात्मक बन्देज लगाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सचिवालय स्रोतले जानकारी दिएको छ । ‘लकडाउनका वेलामा व्यापार घाटा रोक्दै मुलुकको शोधनान्तर अवस्थालाई सन्तुलित बनाउन त्यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाइएको थियो,’ स्रोतले भन्यो, ‘अहिले अवस्था सामान्य भएको र उद्योगी–व्यवसायीले समेत माग गरेका कारण पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लगाइएको हो ।’ यद्यपि, के–कति परिमाणमा बन्देज लगाउने निर्णय भएको भन्ने विस्तृत जानकारी भने मन्त्रिपरिषद्बाट मन्त्रालयमा आइनसकेको उनले बताए । 

मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख सहसचिव प्रकाश दाहालले अध्ययन गरेरै आयातको प्रतिबन्ध हटाउने र परिमाणात्मक बन्देज लगाउने निष्कर्षमा पुगिएको बताए । ‘मन्त्रालयले ती वस्तुको आयात र खपतको तथ्यांक विश्लेषण गरेको थियो, अन्य अध्ययन पनि गरेको हो,’ उनले भने, ‘अध्ययनबाट निस्किएको निष्कर्षअनुसार नै मन्त्रालयले केराउ, मरिच र छोकडा आयातको पूर्ण प्रतिबन्ध हटाउन मन्त्रिपरिषद्मा सिफारिस गरेका हौँ ।’ यद्यपि, के–कति परिमाण रोक्ने वा खुला गर्ने भन्ने निर्णय भने आफूले पाइनसकेको उनले बताए । 

नेपाल समुद्रपार निकासी–पैठारी संघका प्रथम उपाध्यक्ष विनोदकुमार सेठियाले ती वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाइएको अनौपचारिक सूचना पाएको बताए । यद्यपि, औपचारिक जानकारी भने पाइनसकेको उनको भनाइ छ । ‘हामीले त पहिलादेखि नै आयात रोक्न हुँदैन भनेका हौँ, बन्द गरेर समस्याको समाधान हुँदैन,’ उनले भने, ‘आयातमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय सही छ, स्वागतयोग्य छ ।’

तर, राजपत्रमा आएको छैन सूचना
मन्त्रिपरिषद्ले केराउ, मरिच र छोकडा आयातमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय २५ फागुनमै गरेको भए पनि हालसम्म राजपत्रमा सूचना प्रकाशन गरिएको छैन । राजपत्रमा सूचना प्र्रकाशित भएपछि मात्रै यस्तो निर्णय कार्यान्वयनमा आउँछ । भन्सार विभाग र कार्यालयमा पनि आयात प्रतिबन्ध हटाउने निर्णयको कार्यान्वयनको विषयमा कुनै पत्र परिपत्र पुगेको छैन । 

यस्तो छ कानुनी व्यवस्था 
सरकारले निकासी–पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ३ को उपदफा १ अनुसार केराउ, मरिच र छोकडा आयातमा बन्देज लगाएको थियो । ‘तोकिएको उद्देश्यप्राप्तिका लागि कुनै वस्तुको निकासी वा पैठारीमा मनाही वा नियन्त्रण गर्न आवश्यक छ भन्ने लागेमा नेपाल सरकारले सूचित आदेशद्वारा त्यस्तो वस्तुको निकासी वा पैठारीमा सर्त वा निश्चित अवधि तोकी वा नतोकी मनाही गर्न वा पूर्ण वा परिमाणात्मक बन्देज लगाउन सक्नेछ,’ ऐनमा भनिएको छ । त्यस्तै, निकासी–पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ३ को उपदफा २ लाई टेकेर सरकारले आयातमा लगाएको बन्देज हटाएको हो । ‘कुनै वस्तुको निकासी वा पैठारीमा लगाएको बन्देज कायम राखिराख्न आवश्यक छैन भन्ने लागेमा नेपाल सरकारले सोको आधार र कारण खुलाई सूचित आदेशद्वारा त्यस्तो बन्देज जुनसुकै बखत हेरफेर गर्न, परिवर्तन गर्न वा हटाउन सक्नेछ,’ ऐनमा उल्लेख छ ।

तीन कृषि वस्तुको आयातमा सवा ११ अर्ब बाहिरिन्छ 
सरकारले तीनवटा कृषि वस्तुहरू केराउ, मरिच र छोकडाको आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेसँगै नेपालको व्यापार घाटा अझ चुलिने पक्का छ । यी तीनै कृषि उत्पादन उच्च मूल्य भएका उपभोग्य वस्तु हुन् । हाल नेपालमा वार्षिक ११ अर्ब रुपैयाँभन्दा बढी मूल्यबराबरको केराउ, मरिच र छोकडा आयात हुने गरेको छ । गत वर्ष प्रतिबन्ध लगाउनुअघि फागुन मसान्तसम्ममा नेपालमा ११ अर्ब ११ करोड रुपैयाँबराबरका केराउ, मरिच र छोकडा आयात भएको भन्सार विभागको तथ्यांक छ । अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा नेपालमा यी तीन वस्तुको आयात मूल्य ११ अर्ब २३ करोड रुपैयाँबराबर रहेको थियो ।