१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत १ आइतबार
  • Saturday, 21 September, 2024
विजयराज खनाल काठमाडौं
२o७७ चैत १ आइतबार ११:o३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकहरूको बेस रेट अझै घट्यो, कर्जाको ब्याजदर फेरबदल भएन

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत १ आइतबार ११:o३:oo

पुसमा ५.७६ देखि ८.४७ प्रतिशतसम्म रहेको बैंकहरूको बेस रेट माघमा घटेर ५.५८ देखि ७.७९ प्रतिशतसम्म कायम, अधिकांश बैंकले निक्षेपको ब्याज पनि बढाएनन्, बैंकरहरू भन्छन्– ब्याजदरमा धेरै वृद्धि हुँदैन

बैंक तथा वित्तीय संस्थाहरूको बेस रेट (आधार दर) अझै घटेको छ ।  अधिकांश बैंकको कर्जाको ब्याज गणनामा प्रयोग गर्ने आधार दर घटेकाले बैंक तथा वित्तीय संस्थाले चैत महिनाका लागिसमेत कर्जाको ब्याजदर बढाएका छैनन् । गत पुसमा बैंकहरूको आधार ब्याजदर ५ दशमलव ७६ देखि ८ दशमलव ४७ प्रतिशतसम्म रहेकोमा माघमा घटेर ५ दशमलव ५८ देखि ७ दशमलव ७९ प्रतिशतसम्म कायम भएको हो ।  

बैंकरहरूले तत्कालै ठूलो मात्रामा ब्याजदर वृद्धि नहुने बताएका छन् । ‘अहिले बैंकहरूमा रहेको तरलता सहज नै छ,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘आर्थिक वर्षको अन्त्यतिर आइसकेको कारण सरकारको खर्च बढ्न थाल्ने भएकाले खासै समस्या नहोला ।’

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पछिल्ला केही साता आक्रामक रूपमा वृद्धि हुन थालेपछि बैंकहरूमा यसअघि रहेको तरलतामा भने कमी आएको छ । हाल बैंक तथा वित्तीय संस्थाहरूमा करिब ४० अर्ब हाराहारी अधिक तरलता रहेको राष्ट्र बैंकले बताएको छ । बैंक तथा वित्तीय संस्थामा यसअघि देखिएको अधिक तरलतामा कमी आएसँगै केही बैंकहरूले निक्षेपको ब्याजदरमा सीमान्तदरमा मात्रै वृद्धि गर्न थालेका छन् । २० वाणिज्य बैंकहरूले १ चैतदेखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेकोमा ८ वटाले निक्षेपको ब्याजदर केही वृद्धि गरेका हुन् । 

निक्षेपमा न्यूनतम १ दशमलव ५ प्रतिशतसम्मदेखि ८ प्रतिशतसम्म ब्याज दिइरहेका बैंकहरूले २ देखि ८ प्रतिशतसम्म ब्याजदर दिने प्रस्ताव गरेका हुन् । एनआइसी एसिया, सन्राइज, नबिल, नेपाल एसबिआई, मेगा, लक्ष्मी, सेन्चुरी र नेपाल बंगलादेश बैंकले निक्षेपको ब्याजदर सामान्य मात्रामा बढाएका हुन् ।  

गत फागुन एक महिनामा मात्रै बैंकहरूको कर्जा ७१ अर्ब रुपैयाँले बढेर ३३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप भने यो अवधिमा ३७ अर्बले बढेर ३२ खर्ब ५९ अर्ब पुगेको छ । हाल बैंकहरूसँग ५ खर्बबराबर प्राथमिक पुँजी रहेको छ । यस आधारमा बैंकहरूको कर्जा निक्षेप अनुपात करिब ७७ दशमलव ३३ प्रतिशत छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिबाट अनिवार्य नगद मौज्दात ३  प्रतिशत मात्र राखे हुने व्यवस्थाले बैंकहरूले निक्षेप र प्राथमिक पुँजीको ८५ प्रतिशतसम्म कर्जा लगानी गर्न पाइरहेका छन् । त्यसैले पनि हाल बैंकहरूको कर्जा वृद्धि आक्रामक रूपमा बढ्न थालेको भए पनि केही समयसम्म तरलता सहज नै रहनेमा बैंकरहरू विश्वस्त भएका छन् ।  

बैंकहरूले एक–अर्कासँग लिने अन्तरबैंक कर्जा सापटीको ब्याजदरसमेत वृद्धि भएर ३ दशमलव ३८ प्रतिशतसम्म पुगेको छ । केही साताअघिसम्म मात्रै यो ब्याजदर १ प्रतिशतभन्दा पनि कम थियो ।