१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
कृष्ण रिजाल काठमाडौं
२०७७ फाल्गुण २८ शुक्रबार १०:४५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सात दिनभित्र १ अर्ब ८० करोड बेरुजु दाखिला गर्न आयातकर्तालाई भन्सारको म्याद

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७७ फाल्गुण २८ शुक्रबार १०:४५:००

वीरगन्ज भन्सार कार्यालयले मालवस्तु जाँचपासका क्रममा बेरुजु हुन पुगेको १ अर्ब ८० करोड रुपैयाँ दाखिला गर्न आयातकर्ता र भन्सार एजेन्टलाई सात दिनको म्याद दिएको छ । आयात कारोबारमा देखिएको बेरुजु रकम दाखिला गर्न पटक–पटक पत्राचार गर्दासमेत बेवास्ता गरेको भन्दै कार्यालयले अन्तिम म्याद तोकेको हो । कार्यालयले सात दिनभित्र बेरुजु रकम वा रकम दाखिला गरेको प्रमाण पेस नगरे कारबाही गर्ने चेतावनी दिएको छ । 

आर्थिक वर्ष ०७५/७६ मा विभिन्न एजेन्टमार्फत १ सय ८६ व्यावसायिक फर्म तथा कम्पनीले गरेको आयात कारोबारमा बेरुजु देखिएको थियो । महालेखा परीक्षकको कार्यालयले गरेको अन्तिम लेखापरीक्षणले बेरुजु औँल्याएको थियो । लेखापरीक्षणले एउटै आयातकर्ताको ९७ लाखसम्म बेरुजु रहेको औँल्याएको थियो । महालेखाले औँल्याएको बेरुजु रकम असुलउपर गर्न ताकेता गरिएको वीरगन्ज भन्सार प्रमुख महेश आचार्यले बताए ।  

कार्यालयले बुधबार सूचना प्रकाशन गरेर बेरुजु रकम दाखिला गर्न ताकेता गरेको हो । ‘महालेखा परीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट औँल्याएको बेरुजु रकम दाखिला गर्न पटक–पटक पत्राचार हुँदा पनि दाखिला गरेको नदेखिएकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र बेरुजु रकम दाखिला गर्न वा यसअघि नै दाखिला भएको भए, त्यसको भौचरलगायत प्रमाण पेस गर्न जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ, ‘तोकिएको म्यादभित्र उक्त बेरुजु रकम दाखिला नगर्ने–नगराउने पैठारीकर्ताहरू तथा संलग्न सरोकारवालालाई समेत प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने व्यहोरासमेत जानकारी गराइन्छ ।’

बेरुजु हुनेमा सानादेखि बहुराष्ट्रिय कम्पनी र ठूला घरानासम्म 

भन्सारमा बेरुजु हुनेमा सानादेखि बहुराष्ट्रिय कम्पनी र व्यावसायिक घरानासमेत रहेका छन् । त्यस्तै, एक सरकारी स्वामित्वको संस्थानको समेत बेरुजु देखिएको छ । भन्सारमा बेरुजु हुने ठूला कम्पनीमा एसियन पेन्ट्स नेपाल प्रालि, पताञ्जली आयुर्वेद प्रालि, श्रीराम सुगर मिल, सिजी फुड्स इन्टरप्राइजेज, दुगर फुड एन्ड वेभरेज, डाबर नेपाल प्रालि, सिजी फुड्स नेपाल, आइएमई मोटर्स प्रालि, भ्याली कोल्ड स्टोर, डेल्टा मार्केटिङ, शिवशक्ति आयल एन्ड फ्याट्स, यति पेन्ट्स नेपाल प्रालि, जगदम्बा इन्टरप्राइजेज, नेपाल आयल निगम, सूर्य नेपाल प्रालि, वंशल ओभरसिज, विशाल इन्टरनेसनल, दी नेपाल डिस्टिलरिज, युनिभर्सल ट्रेडिङ, सुजल फुड्स, बोटलर्स नेपाल (तराई)लगायत रहेका छन् । 

कसरी भयो बेरुजु ?
आयातीत वस्तुको भन्सार जाँचपासका क्रममा वर्गीकरण तथा मूल्यांकनमा फरक पर्दा रकम बेरुजु हुन पुगेको भन्सार प्रमुख आचार्यले बताए । ‘पैठारी गर्दा भएको वर्गीकरण तथा मूल्यांकनको लेखापरीक्षण गर्दा कैफियत भेटिएपछि रकम समायोजन गर्दा बेरुजु हुन पुगेको हो,’ उनले भने, ‘सम्बन्धित भन्सार एजेन्ट वा आयातकर्ताले रकम दाखिला वा भुक्तान गरिसकेको प्रमाण पेस गर्नुपर्छ ।’ भन्सारमा सैद्धान्तिक बेरुजु, असुल गर्नुपर्ने बेरुजु र प्रमाण पेस गर्ने बेरुजु गरी तीन प्रकारका बेरुजु रहेका छन् ।