१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण २६ बुधबार
  • Wednesday, 03 July, 2024
नवराज मैनाली काठमाडौं
२o७७ फाल्गुण २६ बुधबार o९:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पिएसओ माग्दै गृहमा नेताहरूको चिठी : फिर्ता गरेको एक महिनामै ११ नेताले लिए पिएसओ 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण २६ बुधबार o९:२२:oo

सुरक्षा खोसेको केही हप्तापछि नै गृह मन्त्रालयले नेताहरूलाई फेरि व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) खटाउन थालेको छ । गृहले हालै ११ जना नेतालाई पिएसओ दिने निर्णय गरेको छ । 

दुई महिनाअघि मन्त्रिपरिषद्बाट स्वीकृत भएको विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीबाहेक अन्य नेताको सुरक्षा कटौती गरिएको थियो । सुरक्षाकर्मी फिर्ता गरिएलगत्तै आफूहरूलाई सुरक्षा जोखिम रहेको भन्दै नेताहरूले गृहमा निवेदन दिएका छन् । सोही निवेदनअनुसार गृह मन्त्रालयले केहीलाई फेरि पिएसओ खटाउन थालेको छ । 

पिएसओ लिनेमा धेरैजसो कांग्रेस नेताहरू छन् । नेताहरू गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, सुरेन्द्र पाण्डे, बालकृष्ण खाण, राजेन्द्र श्रेष्ठ, डा. रामशरण महत, डा. प्रकाशशरण महत, डा. प्रकाशचन्द्र लोहनी, सुमनराज प्याकुरेल, देवेन्द्र कँडेलले नेपाल प्रहरीबाट पिएसओ लिएको गृह मन्त्रालय स्रोत बताउँछ । गृहसचिव नेतृत्वको सुरक्षा जोखिम मूल्यांकन समितिबाट निर्णय गराएर उनीहरूलाई पिएसओ खटाइएको हो । यसअघि उनीहरूले सशस्त्र प्रहरीका कर्मचारी राखेमा हाल नेपाल प्रहरीबाट खटाइएको छ । 

गृहले नै पालना गरेन कार्यविधि, २५ प्रहरीको दुरुपयोग 
कार्यविधि कार्यान्वयनका लागि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पत्राचार गरे पनि गृह आफैँले भने कार्यविधि पालना गरेको छैन । मन्त्रालयकै कर्मचारीले दुई दर्जन सुरक्षाकर्मीको दुरुपयोग गरिएको छ ।

मन्त्रालयकै कर्मचारीहरूले नियमविपरीत सुरक्षाकर्मी राखेका हुन् । यसरी दुरुपयोग गर्नेमा राष्ट्रिय विपत् तथा जोखिम न्यूनीकरण प्राधिकरणका सिइओ अनिल पोखरेल, सहसचिव वासु दाहाल, जनकराज दाहाल, हुमकला पाण्डे, प्रहरी किताबखानाका सहसचिव यादव सुवेदी छन् । गृहकै उपसचिवहरू जनार्दन गौतम, निर्मल न्यौपाने, चन्द्रप्रसाद गैरे, विष्णुराज न्यौपाने, खुमकान्त अर्याल, रामहरि शर्मा, दिलकुमार तामाङ, भीमकान्त शर्मा, हरि पन्थीलगायतले प्रहरी राखेका छन् । त्यस्तै, हज कमिटीका अध्यक्ष शमशेर मियाँले पनि प्रहरी फिर्ता गरेका छैनन् ।

पिएसओ लिनेमा धेरैजसो कांग्रेस नेताहरू छन् । गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, सुरेन्द्र पाण्डे, बालकृष्ण खाण, राजेन्द्र श्रेष्ठ, डा. रामशरण महत, डा. प्रकाशशरण महत, डा. प्रकाशचन्द्र लोहनी, सुमनराज प्याकुरेल, देवेन्द्र कँडेलले नेपाल प्रहरीबाट पिएसओ लिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

गृह मन्त्रालयको स्टाफ बस चलाउनदेखि अन्य कर्मचारीको गाडी चलाउनसमेत नियमविपरीत प्रहरीलाई राखिएको स्रोत बताउँछ । गृहका केही कर्मचारीले गाडी चलाउन तथा केहीले घरमा प्रहरी राखेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलकै सचिवालयमा तीन प्रहरी जनशक्तिको दुरुपयोग गरिएको छ । 

गृहका प्रवक्ता बुढाले मन्त्रालयमा चालक अभाव भएकाले केही प्रहरीलाई राखिएको बताए । कार्यविधिअनुसार उनीहरूलाई फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ । 

६ सय फर्किए, पूर्वप्रहरी अधिकारीको विषयमा अन्योल 
नयाँ कार्यविधिअनुसार अवकाशपछि महानिरीक्षकले मात्र पिएसओको सुविधा पाउनेछन् । विगतमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)बाट अवकाश पाउनेले पनि सुविधा पाउँथे । सुरक्षाकर्मीलाई जोखिम हुने भएकाले डिआइजीसम्मलाई अवकाशपछि सुरक्षा दिनुपर्ने प्रहरी अधिकारीको मत छ । सोही कारण तत्काल पूर्वप्रहरीको घरबाट भने फिर्ता गरिएको छैन । तर, केही पूर्वएआइजीले भने फिर्ता गरेको स्रोत बताउँछ । 

हालसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका साढे ६ सय सुरक्षाकर्मी फिर्ता भइसकेका छन् । सशस्त्र प्रहरीका साढे तीन सय तथा नेपाल प्रहरीबाट साढे दुई सयलाई फिर्ता गरिएको छ । 

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका २५, शेरबहादुर देउवाबाट दुई, वामदेव गौतमबाट १०, कृष्णप्रसाद सिटौलका चार, विजयकुमार गच्छदारका दुई, कृष्णबहादुर महराका पाँच, नारायणकाजी श्रेष्ठका तीन, शक्ति बस्नेतका आठ, विमलेन्द्र निधिबाट ६, प्रकाशमान सिंहका सात, जनार्दन शर्माका पाँच, गोविन्दराज जोशीबाट चारजना सुरक्षाकर्मी फिर्ता गरिएको तथ्यांक प्रहरीले गृह मन्त्रालयमा बुझाएको छ । 

विगतमा प्रदेश सरकारका मन्त्रीहरूले सशस्त्र प्रहरी पाउने गरेकोमा अब संघीय संरचनाअुनसार प्रदेश प्रहरीअन्तर्गत पिएसओ खटाउन थालिएको छ । जसअनुसार सबै प्रदेश मन्त्रीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी फिर्ता भएका छन् । प्रदेशको सुरक्षामा खटिएका एक सय ३२ जना सशस्त्र प्रहरी फिर्ता भइसकेका छन् । 

सुरक्षा जोखिमका आधारमा पिएसओ दिने निर्णय : गृहप्रवक्ता

केही नेतालाई सुरक्षा जोखिमका आधारमा पिएसओ दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । ‘पिएसओ माग गर्दै धेरै नेताज्यूहरूले निवेदन दिनुभएको छ,’ उनले भने, ‘केहीको हकमा निर्णय भइसकेको छ, केहीको प्रक्रियामा छ ।’ विगतमा सुरक्षाको नाममा चालक र प्रहरी परिचरसमेत खटाउने गरिएकोमा यसपटक गृहले पिएसओ मात्र दिएको छ ।

यसले सुरक्षाका नाममा प्रहरी राखेर घरेलु काममा खटाउने प्रवृत्ति रोकिने गृहका एक अधिकारी बताउँछन् । नेता मात्र, होइन पूर्वराजा ज्ञानेन्द्र शाहले समेत थप सुरक्षाकर्मी माग गरेका छन् । निर्मलनिवास र उनको सुरक्षामा खटाइएका ८३ जना फिर्ता भइसकेका छन् । अहिले पनि उनको सुरक्षामा करिब ४० प्रहरी छन् । हाल ज्ञानेन्द्र झापा हुँदै भारत गएका छन् । काठमाडौं फर्किएपछि थप सुरक्षाकर्मी फिर्ता गर्न लागिएको छ ।

नयाँ कार्यविधिअनुसार उनले पनि १८ जना सुरक्षाकर्मी पाउनेछन् । उनले करिब सयजना सुरक्षाकर्मी माग गरेका छन् । गृहले उनको सुरक्षामा कार्यविधिमा तोकिएभन्दा थप सुरक्षाकर्मी खटाउने तयारी गरेको छ ।

नयाँ कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीले आजीवन १८ जना तथा पूर्वगृहमन्त्रीले १० वर्षसम्म दुईजना सुरक्षाकर्मी पाउनेछन् । अन्यको हकमा विशेष निर्णय गरेर मात्र खटाउन सकिने प्रावधान छ । कार्यविधिअनुसार सबैजसो पूर्वमन्त्रीको सुरक्षामा खटिएका प्रहरीलाई फिर्ता गरिएको छ । 

ad
ad
ad
ad