मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण २६ बुधबार
  • Wednesday, 18 December, 2024
श्रवण थापा सर्लाही
२o७७ फाल्गुण २६ बुधबार o८:३३:oo
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

जुवाडे पक्राउको विरोधमा  प्रहरी कार्यालय घेराउ

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७७ फाल्गुण २६ बुधबार o८:३३:oo

जुवाडे छुटाउन लालबन्दी नगरप्रमुख र उपप्रमुखको दबाब

जुवाडे पक्राउ गरेको विरोधमा सर्लाहीको लालबन्दीस्थित इलाका प्रहरी कार्यालय घेराउ गरिएको छ । प्रहरीले सोमबार लालबन्दीस्थित तरकारी बजारबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना जुवाडेलाई पक्राउ गरेको थियो । पक्राउ परेका आफन्तले मंगलबार प्रहरी कार्यालय घेराउ गर्दै छुटाउन दबाब दिएका छन् । जनप्रतिनिधिसमेतको उपस्थितिमा आफन्त र परिवारले दिनभर इलाका प्रहरी कार्यालय घेराउ गरे ।

पक्राउ परेको जुवाडेलाई छुटाउने पहल गर्न लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्का, उपप्रमुख शान्ति लामा, एमाले नेता डिल्ली अधिकारीसहित विभिन्न राजनीतिक दलका नेताहरू मंगलबार दिनभर इलाका प्रहरी कार्यालय परिसरमा बसेको प्रहरी स्रोतको दाबी छ । नगरप्रमुख खड्कासहितको टोलीले पक्राउ परेकालाई तत्काल छोड्न भन्दै प्रहरीलाई दबाब दिएको प्रहरी स्रोतको भनाइ छ । 

पक्राउ परेकाका आफन्तसहित स्थानीयको भिड बढ्दै गएपछि लालबन्दी प्रहरी कार्यालयमा थप मद्दतका लागि इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट, इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहलगायतको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

प्रहरीले निकै सम्झाइबुझाइ गरेपछि मात्र दिउँसो २ बजे प्रहरीले कडा सुरक्षाबीच १३ जनालाई म्याद थपका लागि सदरमुकाम मलंगवा लगेको थियो । परिवार र आफन्तले प्रहरी कार्यालय गेटमा जम्मा भएर अवरोध गरेपछि उनीहरूलाई म्याद थप गर्न लैजान ढिलाइ भएको प्रहरीको भनाइ छ । उनीहरूलाई जुवातास ऐनअन्तर्गत अनसुन्धानका लागि जिल्ला प्रशासन कार्यालय मलंगवा लगिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

छुटाउन होइन, सहज वातावरण बनाउन गएको हुँ : नगरप्रमुख खड्का
जुवाडेलाई विनासर्त तत्काल छाड्न भन्दै दबाब दिन नगरप्रमुखसहितको टोली जिल्ला प्रशासन कार्यालय मलंगवा पुगेको थियो । तर, नगरप्रमुख खड्काले पक्राउ परेका आफन्तहरूको आग्रहमा आफू घटना बुझ्न मात्र प्रहरीकोमा गएको दाबी गरे । ‘पेसेवर जुवाडे नभई तरकारी व्यापारीहरूले मनोरञ्जनका लागि तास खेलेको भन्ने सुनेँ, त्यसैले घटना के रहेछ भनेर बुझ्न मात्र गएको थिएँ,’ नगरप्रमुख खड्काले भने, ‘तर सार्वजनिक ठाउँमा तास खेलिरहेको अवस्थामा पक्राउ परेपछि निर्दोष त भन्न मिलेन, त्यसैले आवश्यक कारबाही प्रक्रियाका लागि सहज वातावरण बनाउन आफन्तहरूलाई आग्रह गरेर फर्किएको हुँ ।’ 

प्रहरीको टोलीले लालबन्दी नगरपालिका–७ स्थित डुमडुमेस्थित एक होटेलबाट सोमबार साँझ कृषिउपज बजार समितिका अध्यक्ष दरेश चौधरीसहित १३ जनालाई एक लाख ५४ हजार चार सय ४५ रुपैयाँसहित पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक भाटले कसैको दबाबमा पक्राउ परेका अभियुक्तलाई नछाडिने र कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने दाबी गरे ।