१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १९ बुधबार
  • Tuesday, 08 July, 2025
श्रवण थापा सर्लाही
२o७७ फाल्गुण १९ बुधबार o८:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेकपाका दुवै समूहले देशलाई बन्दी बनाए : गगन थापा

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७७ फाल्गुण १९ बुधबार o८:५४:oo

कांग्रेस नेता गगन थापाले नेकपाका दुवै समूहले देशलाई अनिर्णयको बन्दी बनाएको बताएका छन् । सर्लाहीको धन्कौलमा मंगलबार कांग्रेस क्षेत्र नम्बर ४ ले गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री केपी ओली र प्रचण्ड–नेपाल समूहको नेकपा देशलाई अनिर्णयको बन्दी बनाउने खेलमा लागेको बताएका हुन् ।

इतिहासकै ठूलो बहुमतको सरकार बने पनि नेकपाले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको उनको भनाइ थियो । ‘राजा–महाराजाहरूलाई पनि जनताले यसरी बहुमत दिएका थिएन्न,’ उनले भने, ‘तर, उनीहरू जनताको आशालाई कुठाराघात गर्दै पद र पैसाको लोभमा होमिए ।’ 

कांग्रेस केन्द्रीय सदस्य थापाले प्रधानमन्त्री ओलीलाई असंवैधानिक र प्रतिगामी कदम चाल्ने हैसियतमा नेकपाको प्रचण्ड–नेपाल समूहले पुर्‍याएको दाबी गरे । ‘अहिले प्रचण्ड र माधव नेपाल सडकमा बसेर हामी यता छौँ भनिरहेका छन्,’ उनले भने, ‘उनीहरूलाई पनि हामीले पुस ५ भन्दा पहिलाको अवस्थामा फर्काएर मूल्यांकन गर्नुपर्छ ।’ प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूह सत्तासमीकरणको अंकगणितमा लागेकाले देश झन् अन्योलको भुमरीमा फस्ने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले आफू देशी–विदेशी शक्तिबाट असुरक्षित रहेको अभिव्यक्ति दिएको प्रसंग कोट्याउँदै उनले अहिलेको सरकारबाट जनताले कसरी आफूलाई सुरक्षित महसुस गर्ने भन्दै प्रश्न गरे । ‘आधुनिक हातहतियारले सुसज्जित सुरक्षाकर्मीको घेरामा बस्ने प्रधानमन्त्रीले दिएको अभिव्यक्ति अत्यन्त हास्यास्पद छ,’ उनले भने, ‘प्रधानमन्त्री नै सुरक्षित छैनन् भने नागरिक कसरी सुरक्षित छन्, हामी कसरी सुरक्षित महसुस गर्ने ?’ 

जनतालाई दुई चक्की औषधि छैन, सरकार भ्रष्टाचारमा लिप्त
नेता थापाले वर्तमान सरकाले महामारीको समयमा समेत भ्रष्टाचार गरेर पाप गरेको जिकिर गरे । ‘यहाँ जनता दुई ट्याब्लेट औषधिको अभावमा छटपटाइरहेको अवस्थामा छ, उता सरकार पद र पैसा कसरी कमाउने भन्ने खेलमा लिप्त छ,’ उनले भने ।