मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण १७ सोमबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १७ सोमबार १६:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दक्षिण सुडानमा नेपाल एफपियू उत्कृष्ट 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १७ सोमबार १६:३८:oo

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिणी सुडानको जुवामा तैनाथ विभिन्न देशका युनिटहरूमध्ये सशस्त्र प्रहरी बलको फम्र्ड पुलिस युनिट (एफपियू– १) सर्वोत्कृष्ट ठहरिएको छ । 

अनमिस पुलिस कमिसनर युनेसी लुतु भुनीवाकाद्वारा एलिन पिकेरिङको नेतृत्वमा गठित चार सदस्यीय कार्य सम्पादन परीक्षण तथा मूल्यांकन समितिले दक्षिणी सुडानमा तैनाथ ६ वटा एफपीयूहरूमध्ये राजधानी जुवामा तैनाथ नेपाल एफपियू– १ लाई सर्वोत्कृष्ट युनिट घोषणा गरेको हो । उक्त समितिले तयार पारेको कार्य सम्पादन परीक्षण तथा मूल्यांकन प्रतिवेदनमा नेपाल एफपियूले शतप्रतिशत नतिजा प्राप्त गरी हालसम्मकै सर्वोत्कृष्ट हुन सफल भएको कुरा उक्त युनिटका कमान्डिङ अफिसर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)कुमार न्यौपानेले जानकारी दिए । 

मिसनमा तैनाथ एफपियूहरूबीच विभिन्न विधामा मूल्यांकन गरी उत्कृष्टता छनोट गर्ने कडीको रूपमा लिइने यस मूल्यांकनलाई एफपियूहरूले प्राप्त गर्ने प्राप्तांकका आधारमा उत्कृष्ट छनोट गरिने गरिएको छ । आन्तरिक प्रतिस्पर्धामा समावेश गरिएका आठ विधाहरू क्रमशः मिसन कार्यादेशको ज्ञान र समर्थन, कमाण्ड एन्ड कन्ट्रोल, नागरिक सुरक्षा, अप्रेसनल रेडिनेस र क्षमता, बन्दोबस्ती क्षमता, प्रशासन, तालिम र स्वास्थ्य तथा कल्याणकारी हुन । प्रत्येक विधामा अधिकतम चार–चार अंकका दरले ३२ पूर्णांक छुट्याइएको थियो । १८ फेब्रुअरी सन् २०२१ मा लिइएको उक्त परीक्षण तथा मूल्यांकनमा नेपाल एफपियू– १ ले ३२ अंक नै ल्याउन सफल भएको हो । सो एफपियूले खासगरी आन्तरिक शरणार्थीको क्याम्पसको सुरक्षा हेर्दै आएको छ । 

एसएसपी न्यौपानेले नेतृत्व गरिरहेको उक्त डफ्फामा डिपुटी कमान्डिङ अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक शिवप्रसाद गैह्रे, चिफ लजिस्टिक अफिसर सशस्त्र प्रहरी नायब उपरीक्षक रामजंग पाण्डे र चिफ अप्रेसन अफिसरको जिम्मेवारीमा सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार शर्मा रहेका छन् । उक्त एफपियूमा ३४ जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित १८० सशस्त्र प्रहरी अधिकृत तथा जवान कार्यरत छन । शान्तिप्रक्रिया सातौँ डफ्फाको रूपमा सन २०२० को फेब्रुअरी ९ तारिखमा सुडानमा तैनाथ सशस्त्र प्रहरी बल, नेपालको उक्त टोलीले कोराना कहरको समयमा समेत प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा निर्वाह गरेको तथा कमान्ड स्टाफ र सकल दर्जाका कर्मचारीहरूको अथक मिहिनेतका कारण पनि अन्य एफपियूहरूलाई पछि पार्न सफल भएको एसएसपी न्यौपाने बताउँछन् ।

हाल दक्षिण सुडानमा रहेका एफपियूहरूमा नेपालको तर्फबाट दुई वटा, रुवान्डाको तीनवटा र घानाको एक गरी जम्मा ६ वटा एफपियूहरू कार्यरत रहेका छन् । शान्ति प्रक्रियामा रहेको यस राष्ट्रमा सन् २०२३ डिसेम्बरमा आमनिर्वाचन हुन गइरहेको छ । यसै क्रममा एफपियूहरूको संख्यामा कटौती गरी इन्डिभिज्युयल प्रहरीहरूको संख्या वृद्धि गर्ने योजनाको साथ अगाडी बढिरहेको परिप्रेक्ष्यमा यस रिपोर्टलाई अर्थपूर्ण सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् ।