१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १७ सोमबार ०९:०३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

किन बढ्दै छ पेट्रोलपम्पमा आगलागीका घटना ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १७ सोमबार ०९:०३:००

पाँच महिनायता पेट्रोलपम्पपरिसरमा आगलागीका तीन ठूला घटना भएका छन् । पछिल्लोपटक १२ फागुनमा संखुवासभाको चैनपुर नगरपालिका–७, जिरोप्वाइन्टमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगलागी भएको थियो । ट्यांकरबाट पम्पको अन्डरट्यांकीमा तेल खसाल्नेक्रममा ठूलो आगलागी भई १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो ।

 यसअघि २८ मंसिरमा ललितपुरको ग्वार्कोस्थित उज्ज्वल आयल सेन्टर र ३ कात्तिकमा भैरहवाको अञ्चलपुरमा रहेको एभरेस्ट फ्युल सेन्टरमा ट्यांकरबाट तेल खसाल्नेक्रममै ठूलो आगलागी भएको थियो । पर्याप्त सावधानीविना नै ट्यांकरबाट पम्पमा तेल खसाल्दा आगलागी भएका यी तिनै घटनाको साझा निष्कर्ष छ । तर, यस्ता घटना दोहोरिरहे पनि न्यूनीकरणका लागि ठोस पहल कतैबाट भएको छैन ।

युरो ६ मापदण्डको तेललाई उचित ढंगले व्यवस्थापन गर्न नसक्दा पम्पपरिसरमा आगलागीका घटना भइरहेको आयल निगमका कर्मचारी र सम्बद्ध व्यवसायी बताउँछन् । अधिकांश घटनामा ट्यांकरमा ‘स्पार्क’ भई आगलागी भएको आयल निगमको भनाइ छ । ‘युरो ६ को तेल तुलनात्मक रूपमा बढी प्रज्वलनशील हुन्छ । यो तेलको कण हावामा छिटो फैलिन्छ र आगो पनि छिटो टिप्छ,’ निगमको वितरण विभाग प्रमुख दीपक बरालले भने, ‘त्यसैले ट्यांकरबाट तेल खसाल्दा पहिलेभन्दा धेरै सावधानी अपनाउनुपर्छ ।’

ललितपुरको ग्वार्कोस्थित पम्पमा आगलागी भएपछि देशभरका पम्प सञ्चालक र ढुवानी व्यवसायीलाई तेलको ओसारपसार र कारोबार गर्दा सचेत हुन जानकारी गराएको उनले बताए । ‘हामीले सबै व्यवसायीलाई दुई महिनाअघि नै परिपत्र गरी उचित सावधानी अपनाउनु भनेका छौँ,’ उनले भने, ‘सावधानी अपनाउन नसक्दा घटना पुनः दोहोरिरहेका छन् ।’

उनका अनुसार तेल बोकेर गएको ट्यांकरबाट तुरुन्तै पम्पमा तेल खसाल्नु जोखिमपूर्ण छ । ‘तेल लिएर गएको ट्यांकरको इन्जिन तातै हुन्छ । ट्यांकरका अन्य इलेक्ट्रिकल सामान पनि ताजा अवस्थामै हुन्छन्,’ उनले भने, ‘त्यसैले तुरुन्तै यस्तो ट्यांकरबाट तेल पम्पमा खसाल्दा स्पार्क भई आगलागी हुने सम्भावना ज्यादा हुन्छ ।’ ट्यांकरबाट तेल अनलोडिङका क्रममा मोबाइल चलाउँदा पनि आगलागी हुन सक्ने उनी बताउँछन् । ‘अहिलेको युरो ६ तेल ज्यादै प्रज्वलनशील छ । त्यसैले पम्पपरिसरमा मोबाइल चलाउन बन्देज गर्नुको विकल्प छैन,’ बरालले भने । ट्यांकरबाट पम्पमा तेल खसाल्ने वेला बिजुलीको आपूर्तिसमेत बन्द गर्दा थप सुरक्षित हुने उनको भनाइ छ ।

मंसिरमा ग्वार्कोस्थित पम्पमा आगलागी भएपश्चात् आयल निगमले सबै पम्पको अध्ययन अघि बढाउने र पम्पको सुरक्षामा ध्यान दिने निर्णय गरेको थियो । आगलागी भएको एक सातासम्म विभिन्न अनुगमन र बैठक पनि भएका थिए । तर, त्यसयता निगमका कर्मचारीले आगलागी न्यूनीकरणका घटनाबारे चासो दिन छाडेका छन् ।

इन्धन अनलोडिङ र वितरणमा सावधानी अपनाउन नसक्दा आगलागी बढेको इन्धन ढुवानी व्यवसायी र पम्प सञ्चालक स्वीकार गर्छन् । आयल निगमबाट उचित तालिम र ज्ञान प्रवाह नहुँदा यस्ता घटना बढेको उनीहरूको आरोप छ । पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्याल चालकलाई प्राविधिक विषयमा ज्ञान शून्य हुने बताउँछन् । ‘गाडी चलाउने ड्राइभरलाई आगो लाग्नबाट कसरी जोगिने ज्ञान हुँदैन,’ उनले भने, ‘तालिम दिएर जानकारी गराउनुपर्छ भन्दा निगमले सुनेको छैन ।’

गत मंसिरमा ग्वार्कोमा आगलागी भएपछि तालिम सञ्चालन गर्ने निर्णय भए पनि कार्यान्वयन नभएको उनले गुनासो गरे । ‘पम्पपरिसरमा आगलागी हुन नदिने गरी व्यवसायी, चालक, पेट्रोलियम मजदुरलाई तालिम दिने भनेर आयल निगमले चारपटक मिति तोक्यो । चारैपटक रद्द भएर एउटा तालिम कार्यक्रम गर्न सकिएको छैन,’ उनले भने ।  

पेट्रोलपम्प व्यवसायीहरूको संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान अहिलेसम्मको घटनामा ट्यांकरलाई क्षति हुने र पेट्रोलपम्पमा आगलागी नहुने हुँदा ठूलो समस्या नपरेको बताउँछन् । ‘अहिलेसम्मको घटनामा कुनै असर गरेको छैन ।

पम्पमा आगो सल्कियो भने कसैले नसोचेको क्षति व्यहोर्नुपर्छ,’ प्रधानले भने, ‘त्यसैले वेलैमा सचेत हुन पम्पका कर्मचारीलाई तालिम आवश्यक छ । हामीले तालिम कार्यक्रम उपलब्ध गराउन आयल निगमलाई आग्रह गर्दै आएका छौँ ।’देशभर १ हजार ५ सय ५८ भन्दा बढी पेट्रोलपम्प छन् । इन्धन ओसार्न करिब २ हजार ट्यांकर प्रयोग हुँदै आएका छन् । 

पछिल्ला तीन ठूला घटना
१) संखुवासभाको चैनपुर नगरपालिका–७, जिरोप्वाइन्टमा रहेको श्रेष्ठ आयल सप्लायर्समा १२ फागुनमा आगलागी भएको छ । सो पम्पमा ट्यांकरबाट पम्पमा तेल खसाल्ने क्रममा स्पार्क भई आगलागी हुँदा ट्यांकर पूर्ण रूपले क्षतिग्रस्त भएको छ भने २१ हजार लिटर तेल जलेर आगोको मुस्लो निस्किँदा नजिकै रहेको होटेल शुभको भवनमा ठूलो क्षति पु¥याएको छ । आगलागीले १ करोड रुपैयाँभन्दा बढीको क्षति गरेको प्रहरी अनुमान छ ।
२) ललितपुरको ग्वार्कोमा रहेको उज्ज्वल आयल सेन्टरमा २८ मंसिर साँझ ८ बजे ट्यांकरबाट तेल खसाल्दै गर्दा आगो लागेको थियो । पम्पबाट मोटरसाइकलमा तेल भर्ने र ट्यांकरबाट पम्पको अन्डरग्राउन्डमा तेल खसाल्ने काम एकैसाथ भइरहेको थियो । जसकारण ठूलो आगलागी भई तेल बोक्ने ट्यांकर र ४–५ वटा मोटरसाइकल पूर्ण रूपले जलेका थिए ।
३) ३ कात्तिकमा भैरहवाको अञ्चलपुरमा रहेको एभरेस्ट फ्युल सेन्टरमा साँझ ८ बजेपछि तेल खन्याउँदै गर्दा ट्यांकरमा आगो लागेको थियो । सो आगलागीले ट्यांककर पूर्ण रूपले जलेको थियो । नगरपालिका र आयल निगमको दमकलले चाँडो आगो नियन्त्रण गर्दा पम्पमा आगो लाग्नबाट रोकिएर ठूलो क्षति हुनबाट जोगिएको थियो ।