
नेपाल बंगलादेश बैंकको चाबहिल शाखाले चाबहिलको चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्युआर कोडमार्फत भुक्तानी सेवा सुरु गरेको छ । बैंकले एफवान सफ्टसँगको सहकार्यमा क्युआर सेवा सुरु गरेको हो ।
उक्त सेवाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरेको जनाइएको छ । उनले त्यस एरियाका व्यापारीलाई क्युआर कोड वितरण तथा विभिन्न तरकारीहरू खरिद गरी क्युआर कोडको माध्यमद्वारा भुक्तानी गरेको बैंकले जनाएको छ ।
डेपुटी गभर्नर सिवाकोटीले डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तरिकाले नगदरहित कारोबार गर्दा हुने फाइदाको बारेमा जानकारी दिँदै बैंकले साना तथा महिला उद्यमीहरूलाई प्रदान गर्ने सहुलियतपूर्ण कर्जाको उपयोग गरी आफ्नो व्यवसाय विस्तार गर्न आग्रह गरेको जनाइएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले प्रदान गर्ने सेवा तथा सुविधाका बारेमा जानकारी गराएको जनाइएको छ । बैंकले ग्राहक तथा व्यापारी वर्गको सुविधालाई ध्यानमा राखी उक्त स्थानमा वल्र्डलिंक कम्युनिकेसनसँगको सहकार्यमा निःशुल्क वाइफाई पनि जडान गरिदिएको जानकारी गराएको छ ।
बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८२ एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको जनाएको छ ।