लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा २५ प्रतिशत काम सकिएको पुलको शिलान्यास गरेका छन् । नेकपा ओली पक्षको जिल्ला भेला गर्न रोल्पाको लिबाङ पुगेका पोखरेलले लिबाङनजिकै रहेको धाङ्सीखोलाको २५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको पुलको शनिबार शिलान्यास गरेका हुन् । करिब एक घन्टा पुल शिलान्यासमा बिताएका मुख्यमन्त्री पोखरेलले दिनभरि ओली पक्षका कार्यकर्तालाई प्रशिक्षणमा बिताएका थिए ।
सम्पन्न भएको पिलरमा बसेर शिलान्यास
मुख्यमन्त्री पोखरेलले सम्पन्न भइसकेको पिलरमा बसेर पूजापाठसहित पुलको शिलान्यास गरे । प्रदेशका भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी र मुख्यमन्त्री पोखरेलका श्रीमती तथा विघटित प्रतिनिधिसभा सदस्य सुजिता शाक्यले शिलान्यासमा सघाएका थिए । ६० मिटर लम्बाइ रहेको पुलको तीन पिलरमध्ये दुई पिलर सम्पन्न भइसकेका छन् । त्यही पिलरमा बसेर मुख्यमन्त्री पोखरेलले पुलको शिलान्यास गरे ।
‘गर्नुपर्ने समयमा शिलान्यास नगरेर के गर्न खोजेको हो ?’ निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मानबहादुर खत्रीले भने, ‘गर्नुपर्ने वेलामा कसैले वास्ता नगर्ने, आधा बन्न लागेपछि सबैले आँखा लगाउने काम राम्रो भएन ।’
जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले पनि उद्घाटन गर्ने समयमा शिलान्यास गर्नु त्यति राम्रो नभएको प्रतिक्रिया दिए ।
शिलान्यास भएमा जनताले चासो राख्छन्ःमुख्यमन्त्री
मुख्यमन्त्री पोखरेलले आलोचना मात्र गर्ने प्रवृत्ति राजनीतिमा मौलाएको चर्चा गर्दै हरेक योजनामा शिलान्यासपछि मात्रै जनताले चासो राख्ने गरेको बताए । ‘शिलान्यास नहुँदासम्म यो पुलको बारेमा कसैलाई चासै थिएन होला’ पोखरेलले भने, ‘आज हामीले शिलान्यास ग¥यौँ अब यसको गुणस्तरीयता र समयमै काम सम्पन्न गर्नका लागि यहाँको जनताले चासो राख्नेछन्, शिलान्यासको महŒव यहाँनेर छ ।’ शिलान्यासलाई अनर्थ नलगाउन आग्रह गर्दै पोखरेलले राम्रो कामको चर्चा गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए । जिल्लाका केही जनप्रतिनिधि, कर्मचारी र पत्रकार मात्र सहभागी कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले निर्माणका काममा जनसहभागिता नहुनु दुःखद भएको टिप्पणी गरे । ‘राजनीतिक कार्यक्रम भए यहाँ ठूलो भिड लाग्थ्यो होला’ उनले भने, ‘विकास निर्माणका काम भएकाले जनता देखिएनन् ।’
उनले क्रान्तिको उद्देश्य निर्माण हुनुपर्ने भए पनि राजनीतिक दलले ध्वंसको रूपमा मात्र परिभाषित गरेको बताए । क्रान्तिको परिभाषा निर्माणसँग जोडिन्थ्यो भने अहिले विप्लवहरू पनि निर्माणकै कार्यमा हुने उनको भनाइ छ ।
साढे पाँच करोड लागत
मुख्यमन्त्रीले शनिबार शिलान्यास गरेको पक्की पुलको निर्माण कम्पनी एसियाटिक राज जेभीले भ्याटसहित पाँच करोड ६१ लाख ४९ हजार पाँच सय ४९ रुपैयाँमा २४ असोज २०७९ मा निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का लिएको कम्पनीका राजवीर घर्तीले बताए । ‘दुई खण्डमा निर्माण हुने पुलको दुईवटा पिलर पूरा भएर पनि तेस्रो पिलरको काम भइरहेको छ, २५ प्रतिशत काम भएपछि हामीले केही भुक्तानी पनि लिइसकेका छौँ’ घर्तीले भने, ‘हामी त निर्माण व्यवसायी हौँ, सम्झौताअनुसार काम गर्ने र भुक्तानी लिने हो, सम्झौताअगावै काम सक्ने योजना छ ।’
पुल निर्माणका लागि सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिक राज जेभीबीच गत असोजमा सम्झौता भएर पुल निर्माण कार्य जारी रहेको पूर्वाधार कार्यालयका प्रमुख नवीनकुमार श्रेष्ठले बताए । ६० मिटर लम्बाइ रहेको पुलको ८.४ मिटर चौडाइ रहेको छ । जिल्ला सदरमुकाम लिबाङबाट धाङ्सी हुँदै मिरुल–थबाङ जोड्ने यो सडकको पुलका लागि स्थानीयले लामो समयदेखि माग गर्दै आएका थिए ।