१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १७ शनिबार
  • Saturday, 05 July, 2025
२o७७ माघ १७ शनिबार ११:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दैलेखको तीन स्थानबाट जोडियो कर्णालीका पाँच जिल्लासँग सडक सम्बन्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ १७ शनिबार ११:५६:oo

कर्णाली प्रदेशका पाँचवटा जिल्ला जोड्नका लागि दैलेखका तीनवटा स्थानहरूबाट सडक सञ्जाल जोडिएको छ । सडक यातायातमार्फत कर्णालीका कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पाका लागि एउटा मात्र सडक कर्णाली राजमार्गको भर पर्नुपर्ने बाध्यता हट्दै गएको छ । 

पछिल्लोपटक दैलेखको भैरवी गाउँपालिका–७ हुँदै कालिकोटको शुभकालिका गाउँपालिकासँग–६ सँग सडक सञ्जाल जोडिएको छ । सडक सञ्जाल जोडिएसँगै दुई जिल्लाको आन्तरिक आवतजावत र पर्यटन प्रवदर्धनमा निकै ठूलो टेवा पुग्ने देखिएको छ । 

अहिले सञ्चालनमा आएको कर्णाली राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत दैलेखको माथिल्लो डङ्गेश्वर, दुल्लु, डाँडमाडी, ब्याउली हुँदै कालिकोटको सेरी पान्तडीअन्तर्गत यी दुई जिल्ला सडक सञ्जालसँग जोडिएका हुन् । 

अहिले सञ्चालनमा आएकाे सडक कर्णाली राजमार्गभन्दा करिब ७० किलोमिटर छोटो हुने गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए । अहिलेसम्म यो सडकका लागि पाँच करोडभन्दा बढी रकम खर्च भइसकेको छ । सिमानामा निकै ठूलो चट्टान भएकाले चट्टान फोडेर सडक आवतजावत सुरु गरेको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भालाराम पंगालीले बताए । 

निकै कठिन पहाडमा साँगुरो मोड मिलाउँदै दुई जिल्ला जोड्ने काम सकिएको र अब प्रदेश सरकारले यो वर्ष विनियोजन गरेको २९ करोड रकमले सडकको थप विस्तारका काम सुरु गरिने इन्जिनियर हीरासिंह थापाले जानकारी दिए ।  

कर्णाली राजमार्गअन्तर्गतको कालिकोट जिल्लाको पान्तडी सेराबाडा जोड्न कालीकोट जिल्लातर्फ १५ किलोमिटर सडकको काम बाँकी रहेको र उक्त सडक निर्माण भए वर्षमा ६ महिना साना सवारीसाधनहरु सहजै आवतजावत हुने देखिएको छ । 

सुर्खेतको वीरेन्द्रनगर, दैलेखको माथिल्लो डुंगेश्वर, बैंकमालिका, दुल्लु कुसापानी ब्याउली हुँदै कालीकोटको शुभकालिका–६ को मेहेले, सेरी पान्तडीकाट जुम्ला, मुगु हुँदै उत्तरी नाका चीनको नाम्चेसम्म यो सडक निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ । 

अर्कोतर्फ, केन्द्र सरकारले नेपालगन्जको जमुनाहा नाका हुँदै, सुर्खेत, दैलेख बजार हुँदै महावु, कालीकोट, जुम्ला, हुम्ला हुँदै नाम्चे सम्मको त्रिदेशीय सडकका लागि पनि दैलेखको महावु खण्डमा ट्रयाक खोल्ने काम सकेपछि माथिल्लो कर्णालीका पाँच जिल्लासँग दैलेखको तीनवटा स्थानबाट आवतजावत खुला भएको र यसले सिंगो दैलेखको मुहार परिवर्तनमा सहयोग पुग्ने प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले जानकारी दिए ।