कक्षा ११ र १२ मा अनिवार्य विषयमा राखिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको विकल्पमा अनिवार्य विषयकै रूपमा गणित विषय पढ्न पाउने भएका छन् । शिक्षामन्त्रीको अध्यक्षतामा रहेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणितमध्ये एक अनिवार्य विषयको रूपमा पढ्न पाउने व्यवस्था गरेको हो । पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा प्रवक्ता गणेश भट्टराईले विद्यार्थीको अध्ययनको क्षेत्र फराकिलो बनाउन परिषद्ले यस्तो व्यवस्था गरेको बताए ।
कक्षा ११ र १२ मा अनिवार्य तीन विषय रहेकामा नेपाली, अंग्रेजी यथावत् रहेको छ भने सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको विकल्पमा गणित विषय अध्ययन गर्न पाउने व्यवस्था गरेको हो । गणित विषय अनिवार्य गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो । अदालतले विद्यार्थीहरूलाई मर्का नपर्ने गरी व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको थियो ।
विद्यालय तहको पाठ्यक्रम प्रारूप २०७६ अनुसार अहिले कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन भइरहेको छ । प्रारूपअनुसार कक्षा ११ र १२ मा तीनवटा अनिवार्य र कम्तीमा तीनवटा ऐच्छिक विषय अध्ययन गर्नुपर्छ । अहिले पाठ्यक्रम गणित ऐच्छिक विषयको चौथो समूहमा रहेको छ । त्यही विषयलाई सामाजिक अध्ययनको विकल्पमा अनिवार्य विषयमा राखेको हो । ‘अब जुनसुकै विषय अध्ययन गर्ने विद्यार्थीले पनि गणित पढ्न पाउँछन्,’ केन्द्रका प्रवक्ता भट्टराईले भने, ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पढ्नेले पनि ऐच्छिक चौथो समूहअनुसार गणित विषय पढ्न पाउँछन, चौथो समूहबाट कुनै एउटा विषय छनोट गरेको विद्यार्थीले त्यही गणित विषय अनिवार्य विषयका रूपमा सामाजिक अध्ययनको विकल्पमा पढ्न पाउँछन् ।’
परिषद्को निर्णयले विज्ञान समूहका विषय पढ्ने र गणितमा रुचि भएका विद्यार्थी लाभान्वित हुने भएका छन् । गणित विषयलाई अनिवार्य गर्नुपर्ने माग गर्दै नेपाल गणित समाजले आन्दोलनसमेत गर्दे आएको थियो । समाजका सहसचिव डा. जीवन काफ्लेले अब गणित पढ्न चाहने विद्यार्थीहरूलाई न्याया भएको बताए । उनले भने, ‘अब जुनसुकै विषय पढ्ने विद्यार्थीले पनि इच्छाअनुसार गणित विषय पढ्न पाउने भए, यो सकारात्मक कुरा हो ।’ गणित विषय अध्ययनका लागि चार वटा ऐच्छिक विषय पढेका विद्यार्थीले अब सामाजिक विषयको सट्टा गणित अनिवार्य रूपमा पढ्दा ६ विषय मात्र पढ्दा हुने भएको छ । उच्च शिक्षामा माथिल्लो तहमा सहजताका लागि विज्ञान समूहका विद्यार्थीले अहिले गणित विषय पढिरहेका छन् ।
केही विषयको समूह परिवर्तत
परिषद्को बैठकले केही विषयको समूहसमेत परिवर्तन गरेको छ । स्वास्थ्य शारीरिक विषय ऐच्छिक प्रथम पत्रबाट चौथो र कम्प्युटरलाई चौथो समूहमा राखेको छ ।