![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/biruwa12021-01-29-09-11-09.jpeg)
नेपाली सेना श्रीजंग गणले प्रकृतिका साथ समृद्धिलाई टेवा पुऱ्याउने उद्देश्यसहित लमजुङमा १५ हजार सात सय ५० वटा २० प्रकारका बहुउपयोगी बिरुवा रोपेको छ । बिहीबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बेंसीसहर नगरपालिका– २ श्रीस्वारामा एभोकाडो रोपेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
लमजुङको उदीपुरमा रहेको श्रीजंग गणले १३ दशमलव ५५ वर्गकिलोमिटर क्षेत्रफलमा २० प्रकारका बहुउपयोगी बिरुवा राेपेकाे हो । सेनाले नाै वटा सार्वजनिक स्थान र चारवटा सामुदायिक स्थानमा बृहत् फलफूल वृक्षरोपण गरेको श्रीजंग गणका गणपति प्रमुख सेनानी जयराम थापाले बताए ।
प्रमुख सेनानी थापाका अनुसार बेंसीसहर नगरपालिका– २ मा सेनाको ब्यारेक र व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्र रहेकोले वडा नम्बर २ लाई फलफूल जोनका रूपमा विकास गर्न वृक्षरोपण गरिएको हो ।
उनका अनुसार फलफूलमा एभोकाडोका दुई हजार दुई सय ७५, ओखरका दुई हजार तीन सय ५०, टिमुरका दुई हजार पाँच सय, अम्बाका एक हजार तीन सय ९५, रूख कटहरका एक हजार एक सय वृक्षरोपण गरिएको छ ।
यस्तै, कागती नौ सय ९५, शीतल चिनी (मरिंगा) ६ सय ४०, जामुन चार सय, अमला दुई सय, सुन्तला एक सय ५५, रुद्राक्ष ९०, मेवा २०, बेलपत्र २०, आँप १५, ड्यागनफ्रुटका ५ वटा बिरुवा राेपिनेछ ।
अन्य बिरुवामा तेजपत्ता तीन हजार पाँच सय ३५, रिठ्ठो ३०, शिरीस १५, पारिजात ५ र धुपी पाँचवटा राेपिएको थापाले बताए । सार्वजनिक स्थान, सामुदायिक स्थान र नेपाली सेनातर्फ ब्यारेक र तालिम केन्द्रमा उक्त बिरुवा रोपिएको हो । उक्त बिरुवाहरू सेनाले धनकुटा, कोसी टप्पु, म्याग्दी र गोरखाको पालुङटारका नर्सरीबाट ल्याएको हो ।