सामान्यतः कुनै पनि भाइरसविरुद्ध पूर्ण रूपमा काम गर्न खोपका सबै डोज आवश्यक हुन्छन् । जस्तै, बालबालिकामा दिइने दादुरा, गलगाँड, रुबेलाविरुद्धको भ्याक्सिनको एक डोजले मात्रै काम गर्दैन । अर्थात् एकपटकभन्दा बढी लगाउनुपर्ने हुन्छ । एउटा मात्रै भ्याक्सिनको डोजकाे ४० प्रतिशत पनि प्रभाव देखिँदैन । खोप पूर्ण रूपमा प्राप्त नगरेका व्यक्तिमा पुनः संक्रमण हुने जोखिम रहन्छ । इम्युनोलोजिस्टहरूका अनुसार, भ्याक्सिन आधा डोज मात्रै दिँदा शरीरमा इम्युनिटीले पर्याप्त रूपमा काम गर्न असमर्थ हुने गर्छ । शरीरमा भ्याक्सिन लगाइसकेपछि प्रतिरक्षा प्रणालीले महत्वपूर्ण दुईवटा सेता रक्तकोष सक्रिय गर्छ, प्लाज्मा बी सेल र प्लाज्मा टी सेल ।
प्लाज्मा बी सेलहरू शरीरमा एन्टिबडी बनाउनमा केन्द्रित हुन्छन् । तर, बी सेल शरीरमा एकदमै छोटो समय मात्रै रहन्छन् । दोस्रो डोज दिँदा केही समय बी सेलले काम गरे पनि केही हप्तामै गिरावट आउने गर्छ । यस्तै, टी सेलले भाइरस पहिचान गर्ने र मार्ने काम गर्छ । टी सेल भने शरीरमा लामो समयसम्म रहिरहन्छ । अर्थात् एकपटक भ्याक्सिन लगाइसकेपछि भ्याक्सिनले जीवनभरि पनि काम गर्न सक्छ । अर्थात् खोपको एउटा डोज भाइरसविरुद्ध लड्न पर्याप्त नहुन सक्छ ।
कोभिडविरुद्धको भ्याक्सिनमा भने एउटा डोज कति प्रभावकारी हुने भन्नेबारेमा फरक–फरक धारणा रहेको पाइन्छ । जस्तै, फाइजर बायोन्टेक खोपको पहिलो डोज करिब ५२ प्रतिशत प्रभावकारी हुने बताएको थियो । यद्यपि, प्रारम्भिक सुरक्षा महत्वपूर्ण भएकाले दुइटै डोज अनिवार्य हुने विज्ञहरू बताउँछन् । यस्तै, एस्ट्राजेनेका, मोडर्ना, कोरोनाभ्याक, स्पुतनिक फाइभजस्ता भ्याक्सिनको पहिलो डोजले शरीरमा एन्टिबडी उत्पादन गरे पनि त्यति प्रभावकारी नभएको पाइएको हो ।
केही भ्याक्सिनको एक डोजले मात्रै पनि भाइरसविरुद्ध काम गरेको देखाएकाले सुरुवाती चरणमा एक डोज मात्र दिने कि भन्ने विषयमा बहस चलेको पाइन्छ । तर, अनुसन्धानकर्ताहरूले भने एउटा डोजले प्रभाव देखिए पनि भाइरससँग पूर्ण रूपमा प्रभावकारी हुन दुईवटै डोज आवश्यक हुने निष्कर्ष निकालेका छन् । सामान्यतः शरीरमा प्रतिरक्षा प्रणाली सक्रिय हुन र भाइरसविरुद्ध लड्न समय लाग्ने भएकाले पहिलो डोज दिइएको केही समयपछि मात्रै अर्को डोज दिइन थालिएको छ ।
– एजेन्सीको सहयोगमा