मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १८ मंगलबार
  • Tuesday, 02 March, 2021
२०७७ माघ १२ सोमबार १६:०४:००
Read Time : > 1 मिनेट
खेलकुद

साबिक विजेता पुलिस सेमिफाइनलमा

Read Time : > 1 मिनेट
२०७७ माघ १२ सोमबार १६:०४:००

साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा प्रदेश २ लाई चार विकेटले पराजित गर्दै पुलिसले समूह बीको उपविजेताको रूपमा प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

समूह बीबाट बागमती प्रदेश यसअघि नै विजेताको रूपमा अघिल्लो चरण प्रवेश गरिसकेको छ । पुलिसविरुद्ध प्रदेश २ ले पराजयबाहेक जित वा बराबरीको नतिजा आत्मसात् गरेको अवस्थामा सेमिफाइनल पुग्ने लुम्बिनीको बाटो खुल्ने थियो । यद्यपि, प्रदेश २ को पराजयसँगै लुम्बिनी पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

मूलपानीस्थित मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ६९ रनको योगफल तय गरेको थियो । जवाफमा पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर जित हात पारेको हो । 

पुलिसको जितमा अनिल शाहले अविजित ४७ रनको योगदान दिए । उनले आफ्नो इनिङमा चार चौका प्रहार गरे । उनीबाहेक कुशल भुर्तेलले ४३ रनको महत्वपूर्ण योगदान दिए । कप्तान मञ्जित श्रेष्ठ १२ रनमा अविजित रहदा दीपेन्द्र सिंह ऐरी र अमित श्रेष्ठले समान १७ रन जोडे । 

प्रदेश २ का हरिशंकर शाहले ५३ रनको अर्धशतकीय योगदान दिए पनि टोलीको जित सम्भव भएन । उनले आफ्नो इनिङमा एक छक्का र पाँच चौका प्रहार गरेका थिए । उनलाई अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । प्रदेश २ का लागि हिमांशु दत्तले १६, आदिल अन्सारीले १५, कप्तान सुरज कुर्मीले १३ तथा रभी सिंह र विशाल सुस्लिङले समान १२–१२ रन जोडे । अन्य खेलाडीले योभन्दा माथिको योगदान दिन सकेनन् । 

प्रदेश २ लाई सहज योगफलमा रोक्न पुलिसका ललितनारायण राजवंशी एक्लैले चार विकेट लिए । आठ ओभर बलिङ गरेका उनले एक मेडन निकाल्दै ३७ रन खर्चिएका थिए । सागर ढकालले दुई र पवन सर्राफले एक विकेट लिए । प्रदेश २ का विवेक यादव र कुमार थापाले पनि तीन–तीन विकेट लिएका थिए ।