मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएफपी सिड्नी
२०७७ माघ १२ सोमबार १४:१८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

अस्ट्रेलियाले फाइजरको भ्याक्सिनलाई अनुमति दियो

Read Time : < 1 मिनेट
रासस/एएफपी सिड्नी
२०७७ माघ १२ सोमबार १४:१८:००

अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले सोमबार फाइजरको खोप स्वीकृत भएको घोषणा गरेका हुन् ।

उनले आगामी फेब्रुअरीको अन्त्यदेखि खोप लगाउन थालिने सम्भावना रहेको पनि बताएका छन् । अस्ट्रेलियामा कोभिड– १९ विरुद्धको खोपका लागि थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन (टिजिए) बाट अनुमति प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो । 

प्रधानमन्त्री मरिसनले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै अस्ट्रेलियाको नियामक निकायले विस्तृत अध्ययनपश्चात् फाइजरको खोपलाई स्वीकृति प्रदान गरेको जानकारी दिए । उनले यो खोप अस्थायी र आकस्मिक नभई पूर्ण खोपका रूपमा अस्ट्रेलियाले स्वीकार गरेको पनि बताए ।

अस्ट्रेलियाले यसअघि नै फाइजरसँग एक करोड डोज खोपका लागि  अनुबन्ध गरिसकेको छ । यसबाट करिब ५० लाख मानिसलाई खोप दिन पर्याप्त हुनेछ । कार्यक्रमअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई खोप दिइनेछ । प्रधानमन्त्री मरिसनले आगामी अक्टोबरसम्ममा खोप अभियान पूरा हुने पनि जानकारी दिए ।

भाइरसको प्रकोप देखिनासाथ कडा लकडाउन र सीमाहरू बन्द गरेको अस्ट्रेलियामा तुलनात्मक रूपमा कम मानिस संक्रमित भएका थिए । तैपनि करिब दुई करोड ५० लाख जनसंख्या रहेको अस्ट्रेलियामा २९ हजार व्यक्ति संक्रमित भएका र नौ सय नौजनाको ज्यान गएको थियो ।

अस्ट्रेलियाले अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेको पाँच करोडभन्दा बढी डोज खोपका लागि पनि आदेश दिइसकेको छ । यो खोपको अधिकांश हिस्सा अस्ट्रेलियामै उत्पादन गरिने भए पनि अस्ट्रेलियाको नियामक निकाय टिजिएले त्यसलाई मान्यता दिइसकेको छैन ।