नागरिक स्टक डिलर कम्पनीले धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाएको छ । कम्पनीले गत भदौबाटै बजारमा कारोबार सुरु गर्ने रणनीति बनाएको भए पनि विभिन्न प्रक्रियागत ढिलाइले समय धकेलिएको हो । ‘अब सानातिना काम मात्रै बाँकी छन्,’ नागरिक लगानी कोषका नायब कार्यकारी निर्देशक डा. इन्द्र कट्टेलले भने, ‘केही सातापछि नै हामीले बजारमा लगानी सुरु गर्न सक्नेछौँ ।’
नागरिक लगानी कोषबाहेक अन्य संस्थाले समेत डिलरका रूपमा काम गर्न सक्ने व्यवस्था छ । यससम्बन्धी कार्यविधिले यस्ता डिलरहरूले २० करोडभन्दा कम पुँजी भएका कम्पनीमा लगानी गर्न पाउँदैनन् । स्टक डिलरका रूपमा काम गर्नेले नेप्सेमा कम्तीमा ५० लाख नगद वा बैंक ग्यारेन्टी राख्नुपर्नेछ । यसरी राखिएको ग्यारेन्टी रकमको २५ गुणा रकमसम्म कारोबार गर्न पाउँछन् । यस्तो रकम कारोबारपछि राफसाफको हिसाब मिलानमा समेत प्रयोग गर्न पाइनेछ । यस्ता कम्पनीले आफ्नो नेटवर्थको अधिकतम ४ गुणा रकमसम्मको कारोबार गर्नसमेत पाउनेछन् ।
एकपटकमा अधिकतम १० हजारदेखि ५० हजार कित्तासम्म सेयर किनबेच गर्न सक्ने सुविधा यस्ता कम्पनीलाई दिइएको छ । डिलरहरूले एकपटकमा एक हजार कित्ताभन्दा कम सेयर कारोबार गर्न पाइँदैन । कारोबार सुनिश्चितताका लागि राफसाफ कोषको समेत व्यवस्था गर्नुपर्नेछ ।
तीन वर्षदेखि नाफामा भएको, कम्तीमा १० हजार लगानीकर्ता भएको र २० करोडभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीको सेयर मात्रै स्टक डिलरले किनबेच गर्न पाउनेछन् । यसरी कारोबार गरिने कम्पनीको कम्तीमा वर्ष दिनमा ८० प्रतिशत कारोबार भइरहेको हुनुपर्नेछ । ३ अर्ब ५० करोड चुक्ता पुँजी रहेको नागरिक स्टक डिलर कम्पनीमा नागरिक लगानी कोष, पुनर्बिमा कम्पनी र नेपाल टेलिकमको लगानी छ । यिनले क्रमशः ५१ प्रतिशत, १० प्रतिशत र ९ प्रतिशत लगानी गरेका छन् । कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेर बाँकी १ अर्ब ५० करोड रुपैयाँ जुटाउने भएको छ ।
कम्पनीले सञ्चालनमा आएलगत्तै अर्को कोषसमेत बनाउने तयारी गरिरहेको छ । नागरिक स्टक डिलर कम्पनीले अलग्गै ५ अर्बको कोष बनाएर बजारमा लगानी गर्ने रणनीतिसमेत बनाएको छ । यसका लागि संस्थागत रूपमा नै पुँजी संकलन गर्ने लक्ष्य कम्पनीको छ । कम्पनीमा लगानी गर्ने सर्वसाधारण भने कम्पनीले प्राप्त गर्ने प्रतिफलको अंशियार हुनेछन् ।