मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ माघ ८ बिहीबार ०७:५७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निःशुल्क शिक्षा घोषणासँगै वडामा खुसियाली

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ माघ ८ बिहीबार ०७:५७:००

सरकारले माध्यमिक तहको शिक्षा कक्षा १२ सम्मलाई निःशुल्क भने पनि यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । सिन्धुपाल्चोकमा रहेका सबै माध्यमिक विद्यालयले सहयोगबापत भन्दै शुल्क लिने गरेका छन् । सरकारले दिने अनुदान र बजेटबाट शैक्षिक तथा भौतिक व्यवस्थापन गर्न नसकेकोले सहयोगस्वरूप रकम लिएको बताउने गरिन्छ । 

तर, आँट गरे सरकारको घोषणालाई सफल पार्न सकिन्छ भन्ने उदाहरण चौतारा साँगाचोकगढी नगरपालिका– देउरालीस्थित कालिकादेवी माविले प्रस्तुत गरेको छ । व्यवस्थापन समितिका अध्यक्ष रघुसिंह तामाङले यही शैक्षिक वर्षदेखि निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेका छन् । उनले अंग्रेजीमाध्यमको प्राथमिक तह कक्षा नर्सरीदेखि मावि तह कक्षा १२ सम्म कुनै पनि नाममा शुल्क नलिने घोषणा गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिको यस्तो महत्वपूर्ण घोषणापछि वडावासी हर्षित भएका छन् । विपन्न, असहाय र टुहुरा बालबालिकालाई निःशुल्क शिक्षाको अलवा शैक्षिक सामग्रीको सहायता प्रदान गरिने योजना पनि घोषणा भएको छ । 
सम्पूर्ण रूपले निःशुल्क शिक्षा प्रदान घोषणा गर्ने जिल्लाको यो पहिलो विद्यालय हो ।

जिल्लामै पहिलोपटक यस विद्यालयमा कानुन संकायमा अध्यापन सुरु गरिएको छ । सदरमुकाम चौताराबाट नजिकै रहेको यस विद्यालयमा कानुन विषयमा अध्यापन सुरु गरिएपछि जिल्लाका अन्य ठाउँबाट पनि विद्यार्थी आउन थालेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुवीर तामाङ चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिंह तामाङका छोरा हुन् । 

निःशुल्क शिक्षा साकार पार्न अक्षय कोष 
निःशुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्ने घोषणासँगै विव्यसले अक्षय कोष स्थापना गरेको छ । अक्षय कोषमा संकलित रकमबाट विद्यालयको शैक्षिक तथा भैपरी आउने समस्या समाधान गर्ने नीति बनाइएको छ । अक्षय कोष घोषणा गरेको दुई महिनामा ११ लाख संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले बताए ।

‘०७७ मा २० लाख उठाउने लक्ष्य छ,’ उनले भने, ‘हाम्रो पञ्चवर्षीय योजनामा अक्षय कोषमा एक करोड जम्मा गरिने लक्ष्य छ ।’ अक्षय कोषबाट विभिन्न पुरस्कार, आर्थिक विपन्नता भएकालाई शैक्षिक सहायता र वृद्धवृद्धालाई संरक्षण गरिने नीति रहेको उनले सुनाए । निःशुल्क शिक्षा अभियानमा अभिभावक मात्रै होइन, वडावासी सिंगै लागेका छन् । वडावासीको दरिलो साथ पाएका तामाङले आर्थिक अवस्था मजबुत पार्न विभिन्न दातृ निकायसँग छलफल गरेका छन् ।