मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल तस्बिर
२०७७ माघ ७ बुधबार २०:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपेन्द्र यादवको आक्रोश– ओली एन्ड कम्पनीलाई गलामा गम्छा लगाएर सत्ताबाट ननिकालेसम्म लोकतन्त्रको रक्षा हुँदैन 

Read Time : > 1 मिनेट
२०७७ माघ ७ बुधबार २०:५२:००

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली एन्ड कम्पनीलाई गलामा गम्छा लगाएर सत्ता र शक्तिबाट ननिकालेसम्म लोकतन्त्रको रक्षा हुन नसक्ने बताएका छन् । ओली नेतृत्वको सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत बुधबार राजविराजमा आयोजित विरोध सभामा यादवले ओलीमा अहंकार बढेको बताए । 

उनले भने, ‘केपी ओलीको चिन्तन र सोचमा अहंकार भरिएको छ । मैले जे गरे पनि हुन्छ भन्ने दम्भ छ ।’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले भने, ‘जनताको विरुद्धमा जाने नेपालमा बढेबढे राजा महराजा आए र गए, संविधानका विरुद्ध जाने केपी ओली कुन खेतको मूली हो ।’ 

अदालतबाट असंवैधानिक र गैरकानुनी कार्यको विरुद्धमा फैसला आउनेमा ढुक्क रहेको उनले बताए । यादवले लोकतन्त्रको पक्षमा पैmसला नआए जनताले फैसला गर्ने चेतावनीसमेत दिए । 

ओलीका कारण देश तहसनहस भएको बताउँदै यादवले विश्वमा शक्तिशाली अमेरिकाको राष्ट्रपति लोकतन्त्रको विरुद्धमा जाँदा कार्यकालको अन्तिम समयमा समेत महाअभियोग लागेको स्मरण गराउँदै नेपालको सन्दर्भमा पनि प्रधानमन्त्री ओलीलाई कारबाही हुन सक्ने बताए । 

यादवले कांग्रेसले विपक्षीको धर्मसमेत ननिभाएको भन्दै आलोचना गरे । ‘नेपाली कांग्रेसका मुख्य नेतृत्व भूमिकाविहीन छ । कांग्रेस जनता माझ छैन । आज लोकतन्त्रको अपहरण भएको छ, तर कांग्रेसको नेतृत्व दुई–चारवटा संवैधानिक निकायको नियुक्तिमा फसेको छ ।’ 

लोकतान्त्रिक आन्दोलनको नेतृत्व अब जसपाले गर्ने यादवको दाबी छ । उनले भने, ‘अब कांग्रेसको काम छैन, अब लोकतन्त्रको जिम्मा मधेसी, मुस्लिम, दलित, आदिवासीलगायत सबै उत्पीडितको समुदायको अधिकार र मुक्तिका लागि लड्ने जसपाले जिम्मा लिन्छ ।’ 

प्रतिनिधिसभा भंग भएपछि सरकार कामचलाउ हुने भए पनि ओलीले मन्त्रिपरिषद् विस्तार गरेर कानुनको उल्लंघन गरेको आरोप पनि उनले लगाए । यादवले भने, ‘काण्डैकाण्डले चर्चित केपी ओली सरकार अन्त्यको वेला आइसक्यो ।’ 

कार्यक्रममा वरिष्ठ नेता राजेन्द्र महतोले ओली महाप्रतिगामी भएको दाबी गरे । ‘संघीयता र गणतन्त्रको रक्षाका लागि जसपा सडकमा आएको छ । ओली प्रतिगमनकारी मात्रै होइनन्, महाप्रतिगमनकारी हुन्,’ महतोले भने, ‘संविधान निर्माणकै वेला मधेसीको अधिकार कटौती गरेर प्रतिगमन गरेका ओलीले गत ५ पुसमा प्रतिनिधिसभा भंग गरेर महाप्रतिगमन गरे ।’

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीका जनता प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक कदमको विरुद्धमा रहेको पुष्टि गरेको बताए । 

प्रदेश सभा सदस्य मनीष सुमनले जनताको करबाट तलब खाने राष्ट्रपतिले नेकपाको एउटा गुटको काम गरिरहेको आरोप लगाए ।