१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ ७ बुधबार २०:३९:००
Read Time : > 2 मिनेट
फिचर

अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनसँग सम्बन्धित १० रोचक पक्ष

Read Time : > 2 मिनेट
२०७७ माघ ७ बुधबार २०:३९:००

विश्वकै सबैभन्दा पुरानो लोकतन्त्र भएको राष्ट्र अमेरिकाको ४६औँ राष्ट्रपतिका रूपमा जो बाइडेनले बुधबार राति (नेपाली समयअनुसार १०ः४५ बजे) क्यापिटल हिलमा शपथ लिनेछन् । उमेरका हिसाबले अमेरिकी राष्ट्रपति इतिहासमा उनी सबैभन्दा वृद्ध हुन् । उनी ७८ वर्ष दुई महिनाका भए । यस्तै, उनी तेस्रो प्रयासमा राष्ट्रपति बन्न सफल भएका हुन् । सन् १९८७ र २००८ मा उनले राष्ट्रपति पदमा उम्मेदवारी दिएका थिए । त्यसवेला आवश्यक समर्थन प्राप्त गर्न नसक्दा उनको उम्मेदवारी फिर्ता भयो । बाराक ओबामा दुईपटक राष्ट्रपति बन्दा भने बाइडेन दुवैपटक उपराष्ट्रपति बनेका थिए । ओबामाले बाइडेनको प्रशंसा गरी भनेका थिए, ‘बाइडेन अमेरिकाका उत्कृष्ट उपराष्ट्रपति हुन् ।’

बाइडेनले दुईपटक विवाह गरेका छन् । सन् १९६६ मा पहिलो पत्नीका रूपमा नेलियालाई भित्र्याएका थिए । दोस्रो श्रीमतीको नाम मेरी होने हो । मेरीले एक दिन बाइडेनसँग त्यत्तिकै ठट्टा गर्दै भनेकी थिइन्, ‘तपाईं भविष्यमा पक्कै केही बन्नुहुन्छ ।’ बाइडेनले हाँस्दै जवाफ थिएका थिए, ‘म अमेरिकाकै राष्ट्रपति बन्नेछु ।’ बाइडेन ३६ वर्ष सिनेटर तथा आठ वर्ष उपराष्ट्रपति बने । यसबाहेक पनि बाइडेनसँग सम्बन्धित धेरै रोचक घटना छन् । तीमध्ये १० रोचक पक्षलाई यहाँ प्रस्तुत गरिएको छ ।

१. १० वर्षको उमेरसम्म राम्रोसँग बोल्न नआउने
बाइडेनको बाल्यकाल फिलाडेल्फियामा बित्यो । त्यसपछि उनको परिवार डेलावेयर विलिन्टनमा बसाइँ स¥यो । १० वर्षको उमेरमा बाइडेनलाई उच्चारणसम्बन्धी गम्भीर रोग लाग्यो । यस बिरामीलाई स्टुटर भनिन्छ । यो रोगका कारण बाइडेनले राम्रोसँग आफ्नै नामसमेत उच्चारण गर्न सक्दैनथे । साथीहरूले उनलाई बारम्बार जिस्क्याइरहन्थे । ‘वाय–वाय’ भनी बाइडेनलाई साथीहरूले जिस्क्याउँथे ।

२. राम्रा फुटबल खेलाडी
स्कुलजीवनमा बाइडेनलाई सबैभन्दा मन पर्ने खेल फुटबल थियो । फुटबलका उनी निकै राम्रा खेलाडी थिए । फुटबलले जीवनमा धेरै कुरा सिकाएको उनी बताउँछन् । ‘मैदानमा विपक्षी पोस्टमा गोल गर्न धेरै मिहिनेत गर्नुपर्छ, गोल गर्दा सबै संगठित हुनुपर्छ, यसैगरी जीवनमा सफलता पाउन सबैको सहयोग तथा मिहिनेत हुनुपर्छ,’ बाइडेन भन्छन्, ‘जसरी गोल गर्न गोलपोस्टसम्म खेलाडी पुग्नुपर्छ, त्यसैगरी लक्ष्य पाउनका लागि अन्तिम बिन्दुसम्म पुग्नुपर्छ, यो संसारमा एकल प्रयासमा केही हुँदैन ।’

३. भियतनाम युद्धमा जान पाएनन्
बाइडेनले उच्च शिक्षा सायराकल विश्वविद्यालयबाट गरेका हुन् । डिग्री हासिल गरेपछि उनको नाम भियतनामविरुद्धको लडाइँमा एक सैनिकका रूपमा समावेश गरिएको थियो । त्यसवेला अमेरिका र भियतनामबीच युद्ध चलिरहेको थियो । तर, दम रोगले च्यापेपछि बाइडेनको एक सैनिकका रूपमा अमेरिकाको सेवा गर्ने र भियतनामविरुद्ध लडाइँ गर्ने सपना पूरा भएन ।

४. राष्ट्रपति बन्ने दुईपटकको प्रयास असफल
राजनीतिज्ञका रूपमा बाइडेन डेमोक्रेटिक पार्टीका असाध्यै राम्रा नेता मानिन्छन् । उनी तेस्रोपटकको प्रयासमा राष्ट्रपति बनेका हुन् । सन् १९८७ र २००८ मा डेमोक्रेटिक पार्टीबाट उम्मेवार बनेका बाइडेनले पार्टीबाटै समर्थन हात पार्न नसक्दा पछि हटे । दोस्रोपटकको प्रयासमा उनी पार्टीभित्रै पाँचौँ स्थानमा परेका थिए । उनका मिल्ने साथी ओबामा राष्ट्रपति निर्वाचित हुँदा बाइडेन अति नै खुसी भएका थिए ।

५. दुर्घटनामा पहिलो पत्नीको निधन
सन् १९७२ मा बाइडेनले जीवनकै कठिन समयको सामना गर्नुप¥यो । यो वर्ष उनले कार दुघर्टनामा पहिलो श्रीमती नेलिया र छोरी नाओमीलाई गुमाए । कार दुर्घटनामा बाइडेनका दुई छोरा भने जोगिए । सन् २०१५ मा उनले परिवारका अर्का एक सदस्य गुमाए । कार दुर्घटनामा बाँचेका कान्छो छोराको ब्रेन क्यान्सरबाट मृत्यु भयो ।

६. मनपर्ने सिनेमा ‘चेरियेट्स अफ फायर’
बाइडेन फुटबल खेल्नजत्तिकै सिनेमा हेर्न पनि मन पराउँछन् । अहिले पनि फुर्सद पाउँदा उनी सामाजिक तथा सन्देशमूलक सिनेमा हेर्ने गर्छन् । उनलाई मन पर्ने सिनेमा चेरियेट्स अफ फायर हो । जीवनमा कसरी अगाडि बढ्नुपर्ने उनले यही सिनेमाबाट सिकेको बताउँछन् ।

७. आइसक्रिम मन पर्ने
सन् २०१६ मा बाइडेनसँग अमेरिकी एजेन्सीहरूले एक अन्तर्वार्ता लिएका थिए । त्यसवेला पत्रकारहरूले उनलाई साोधेको थिए, ‘तपार्इंलाई खान के मन लाग्छ ?’ बाइडेनले भनेका थिए, ‘मेरो नाम बाइडेन हो, मलाई आइसक्रिम खान खुवै मन लाग्छ ।’ उनले मदिरा र चुरोट भने अहिलेसम्म नखाएको बताएका थिए ।

८. जनावर प्रिय
अक्सर ह्वाइटहाउस पुगेका राष्ट्रपति कुनै न कुनै जनावरसँग नजिक रहेका छन् । बाइडेन पनि जनावर अति नै मन पराउँछन् । विशेषतः उनी कुकुर पाल्ने शौख राख्छन् । सन् १९६७ मा पहिलो विवाहपछि उनले कुकुर किनेका थिए । उनले त्यस कुकुरको नाम सिनेटर राखेका थिए । अहिले बाइडेनसँग दुईवटा जर्मन सेफर्ड जातका कुकुर छन् । तिनीहरूको नाम मेजर तथा चेम्प राखेका छन् ।

९. श्रीमती शिक्षिका
बाइडेनले बुधबार राष्ट्रपति पदभार ग्रहण गर्दा श्रीमती मेरी फस्र्ट लेडी बन्नेछिन् । सन् २००७ मा बाइडेनले एक अन्तर्वार्तामा भनेका थिए, ‘मलाई एक शिक्षिका श्रीमतीको श्रीमान् भन्न निकै मन लाग्छ ।’ ४६औँ राष्ट्रपति निर्वाचनको क्रममा श्रीमती मेरीले नै धेरै शिक्षा दिएको उनले बताएका छन् ।

१०. बाराक ओबामा नै दंग
बाराक ओबामाले अन्तिम कार्यकालमा बाइडेनको खुवै प्रशंसा गरेका थिए । ओबामाले बाइडेनलाई अमेरिकामा दिइने सर्वोच्च सम्मान ‘प्रेसिडेन्ट अफ फ्रिडम’ दिएका थिए । आठ वर्ष ह्वाइटहाउसमा बस्दा ओबामाले बाइडेनको साथ पाउँदा कुनै डर नलागेको र सधैँ काम गर्ने प्रेरणा प्राप्त भएको बताएका थिए ।

–एजेन्सीको सहयोगमा