२० जनवरी अर्थात् आज बुधबार राति जो बाइडेनले ४६औँ अमेरिकन राष्ट्रपतिका रूपमा क्यापिटल हिलमा शपथग्रहण गर्नेछन् । शपथग्रहणसँगै डेमोक्रेटिक पार्टीका बाइडेनले चार वर्ष विश्वकै शक्तिशाली व्यक्तित्वका रूपमा कार्यभार सम्हाल्नेछन् । बाइडेनको शपथग्रहणसँगै उनकी श्रीमती जिल बाइडेनले पनि विशेष पद पाउनेछिन् । विश्वले उनलाई फर्स्ट लेडी (पहिलो महिला) भनी सम्बोधन गर्नेछ ।
फर्स्ट लेडीको परम्परा अमेरिकामा सन् १७५९ देखि नै चलेको हो । यही क्रममा बुधबारदेखि जेलीले पनि पछ्याउनेछिन् । बाइडेन ह्वाइटहाउसमा दैनिक प्रशासनिक कार्यमा व्यस्त रहँदा जेली फर्स्ट लेडीकै भूमिकामा व्यस्त हुनेछिन् । तर, जेलीले फस्र्ट लेडीभन्दा पनि शिक्षण पेसालाई नै निरन्तरता दिने बताइसकेकी छिन् । ह्वाइटहाउसबाट बाहिर आएर काम गर्ने फर्स्ट लेडीकी रूपमा उनले इतिहास बनाउने पक्का छ ।
डिजिटल र क्यामेरा प्रविधि विकास नहुँदासम्म ह्वाइटहाउसका फस्र्ट लेडीको चित्र बनाइने चलन थियो । फर्स्ट लेडीको चित्र संग्रहालय वा ग्यालरीमा राख्ने गरिन्थ्यो । विश्लेषक तथा इतिहासकारहरूले त्यही तस्बिर हेर्दै अहिले फर्स्ट लेडीको वर्णन गर्छन् । वासिङ्टनको नेसनल पोट्रेट ग्यालरीमा अमेरिकाका प्रथम महिलाहरूको चित्र राखिएको छ । यी चित्र अहिले अनलाइन माध्यमबाट पनि हेर्ने सुविधा छ ।
ग्यालरीमा अमेरिकी इतिहासकै पहिलो महिला (फर्स्ट लेडी) बनेकी मार्था वासिङ्टन, डोली म्याडिसनदेखि मिसेल ओबामासम्मको चित्र राखिएका छन् । बिबिसीका पत्रकार क्याथ पाउलले तिनै फर्स्ट लेडीहरूको तत्कालीन समयको विश्लेषण गरेका छन् । उनले राजनीति र समाजमा प्रभाव पार्न ती महिलाले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । फर्स्ट लेडीले राम्रो र नराम्रो अवस्थामा राष्ट्रपतिको साथ दिएको पाउलले उल्लेख गरेका छन् ।
मार्था वासिङ्टन
३० अप्रिल १७८९–४ मार्च १७९७
जर्ज वासिङ्टन अमेरिकाको प्रथम राष्ट्रपति हुँदा उनकी श्रीमती मार्था वासिङ्टन फर्स्ट लेडी बनेकी थिइन् । मार्था इतिहासकै पहिलो फर्स्ट लेडी हुन् । तत्काल मार्थाको स्वभावबारे वर्णन गर्ने माध्यम चित्र मात्रै थियो । त्यसवेला मार्थाको चित्र युरोपियन चित्रकारहरूले बनाएका थिए । ग्यालरीका क्युरेटर ग्वेन्डोलिन डुबोरिसले मार्थाको चित्र हेर्दा तत्काल अमेरिकामा राजतन्त्र नभए पनि त्यस्तै किसिमको शासन भएको झल्काउने गरेको बताएका छन् । डुबोरिस भन्छन्, ‘नयाँ संयुक्त राज्य अमेरिकामा राजतन्त्रको परम्परा थिएन, त्यसैले ब्रिटिस औपनिवेशिक विषय जानकारी लिन त्यो तस्बिर नै प्रमुख मान्न सकिन्छ ।’
यहाँसम्म कि त्यसवेला राष्ट्रपतिकी श्रीमती सार्वजनिक स्थलमा जाँदा के भनी बोलाउने भनी मार्था जनतासमक्ष अलमलमा हुन्थिन् । फर्स्ट लेडी मार्थालाई ‘वासिङ्टन’ भनी बोलाउने गरेको डु बोरिसले बताए । ‘मार्था वासिङ्टन सार्वजनिक स्थलमा जाँदा लेडी वासिङ्टन भनी बोलाउँथे,’ उनले भने, ‘यो चलन १९औँ शताब्दीको अन्तिम समयसम्म फर्स्ट लेडीलाई नाम लिएर बोलाउने चलन चल्यो ।’
अबिगेल एडम्स
४ मार्च १७९७–४ मार्च १८०१
अबिगेल एडम्सकै बुद्धिमता र दृढसंकल्पले नै उनका श्रीमान जोन एडम्स सन् १७७९ मा अमेरिकाको राष्ट्रपति बनेको विश्वास गरिन्छ । अबिगेलको चित्र जोन एडम्स राष्ट्रपति हुनु दुई वर्षअघि नै चित्रित गरिएको थियो । श्रीमानभन्दा अबिगेल राजनीतिक रूपमा निकै सक्रिय थिइन् । राजनीतिक करिअरमा अबिगेलले महिला अधिकार, शिक्षा र अमेरिकामा दासत्वको अन्त्य हुनुपर्ने पक्षमा वकालत गरेकी थिइन् । राजनीतिक रूपमा सफलता चुमेपछि उनी अलि घमण्डी बनिन् । उनका श्रीमान् जोन आफूभन्दा पनि श्रीमती नै राष्ट्रपति बन्नुपर्ने पक्षमा थिए । तर, धेरै जनताले अबिगेलको स्वभाव मन पराएनन् ।
‘घमण्डी र अहंकारी सोचकै कारण अबिगेल राष्ट्रपति बन्न नसकेको हो,’ क्युरेटर तथा विश्लेषक डुबोरिसले भने । अमेरिकामा २०औँ शताब्दीसम्म समक्ष फस्र्ट लेडी पनि श्रीमान्कै निर्देशनमा ह्वाइटहाउसमा बस्न बाध्य भएको डुबोरिस मान्छन् । ‘महत्वाकांक्षी, राजनीतिक चतुर तथा बुद्धिमता भएका फर्स्ट लेडी २०औँ शताब्दीसम्म श्रीमानकै छायामा परेको देखिन्छ,’ उनले भने, ‘ह्वाइटहाउसको प्रशासन सहजै चलाउन सक्ने उनीहरूको क्षमताहरूलाई अवरुद्ध गऱ्याे ।’
डोली माडिसन
४ मार्च १८०९–४ मार्च १८१७
डोली माडिसनमा त्यति धेरै शक्ति र अधिकार नभए पनि कतिपय फस्र्ट लेडीले ह्वाइटहाउसमा एक किसिमले राष्ट्रपतिको परिचारिकाकै रूपमा व्यस्त राख्ने प्रयास गरेका छन् । जेम्स माडिसन अमेरिकाको चौथो राष्ट्रपति बन्नुअघि डोली माडिसनले श्रीमानको खुवै सेवा गरिन् । श्रीमान् राष्ट्रपति हुँदा पनि डोलीले आफ्नो कर्तव्य बिर्सिनन् । डोलीको दिमाग यति छिटो चल्थ्यो कि विपक्षीहरूको चाल सहजै पत्ता लगाउन सक्थिन् । विरोधीहरूलाई एकतामा ल्याउन कुशल कूटनीतिक सीप डोलीसँग थियो । ‘प्राप्त अवसरमा डोलीले सधैँ फर्स्ट लेडीकी रूपमा राष्ट्रपतिलाई सहयोग गरिन्,’ डुबोरिसले भने, ‘विशेषत चतुर कूटनीतिक रणनीति अपनाइएको देखिन्छ ।’ राष्ट्रपति जेम्स माडिसनको चारवर्षे कार्यकालमा डोलीले श्रीमानसँगै आफ्नो राजनीतिलाई अगाडि बढाउन सफल भइन् ।
जुलिया टेलेर
२६ जुन १८४४–४ मार्च १८४५
जोन टेलर १०औँ अमेरिकी राष्ट्रपति हुन् । उनले १८४४ देखि १८४५ सम्म राष्ट्रपति कार्यभार सम्हाल्दा जुलिया टेलर छोटो अविधिका लागि भए पनि फर्स्ट लेडी बनिन् । वासिङ्टनको नेसनल ग्यालरीमा राखिएको जुलिया टेलेरको चित्र हेर्दा उनी एक राजकुमारीजस्तै देखिने डुबोरिसले बताएका छन् । ‘त्यो चित्र हेर्दा जुलिया विशेष व्यक्तित्व भएको र राजकुमारीजस्तै लाग्छ,’ डुबोरिसले भने । जोन ह्वाइटहाउसभित्र प्रवेश गर्दा शक्तिशाली व्यक्तिलाई नमस्कार र अभिवादन गर्ने परम्पराको विकास जुलियाले नै गरेको मान्ने धेरै छन् । फर्स्ट लेडीको भूमिका निर्वाह गर्दा जुलियाले ह्वाइटहाउसमा युरोपियन शैलीको राजतन्त्र शैली विकास गर्न सफल भइन् । तत्काल युरोपमा लुइस चौधौँको आधिपत्य थियो । ह्वाइटहाउसमा लुइस चौधौँकै शाही शासनको भावना सिर्जना गर्नु नै जुलियाको योजना रहेको डुबोरिस मान्छन् ।
अना इलेएनोर रुजभेल्ट
४ मार्च १९३३–१२ अप्रिल १९४५
अना इलेएनोर १९औँ शताब्दीकै एक प्रभावशाली नेतृ थिइन् । उनी दोस्रो विश्वयुद्धमा प्रभावशाली महिला नै बनिन् । राष्ट्रपति फ्रयाक्लिन डी रुसभेल्ट पोलियो रोगले थला परेपछि इलेएनोर बारम्बार सार्वजनिक कार्यक्रममा उपस्थित भइन् । १२ वर्ष फ्रयांकलिन अमेरिकी राष्ट्रपति हुँदा इलेएनोरले चरम आर्थिक मन्दीमा रहेको अमेरिकाको उद्धार गर्न समय बिताइन् । राज्यहरूमा राहत वितरण गर्न उनी आफैँ निस्किन्थिइन् । राहत कार्यक्रममा संलग्न भएपछि सैनिक विमानमा उनले विश्व नै परिक्रममा गरिन् । त्यसवला अमेरिकामा राष्ट्रपति डी रुसभेल्टभन्दा पनि इलेएनोरको चर्चा बढी हुन्थ्यो ।
मामिए जेनेभा
२० जनवरी १९५३–२० जनवरी १९६१
मामिए जेनेभाले आफ्नो पेन्टिङ ट्रेडमार्क ‘मामिए पिंक’ रंगमा चित्रण गरेकी थिइन् । नेसनल ग्यालरीमा रहेको सो चित्रमाथि धेरैले आ–आफ्नो धारणा राखेका छन् । विश्लेषक तथा क्युरेटर डु बोरिसले मामिए जेनेभा दोस्रो विश्वयुद्धपछिको शक्तिशाली रुढीवादी महिला भएको प्रतिक्रिया दिएका छन् । त्यसवेलाका मिडियाहरूले उनलाई रुढीवादी फस्र्ट लेडी नै भनेका थिए । ‘भान्साकोठाभित्र छिर्दा सधैँ नयाँ लुक्समा प्रवेश गर्थिन्, सधैँसधैँ सेतो रङबारे विचार राख्ने भएकाले नै जेनेभालाई बढी मन पराइएको थियो,’ डु मोरिसले भने, ‘मामिए जेनेभाको चरित्र सधैँ शान्त स्वभावको थियो ।’ राष्ट्रपतिको कार्यक्रममा उनी प्रतिक्रिया र चुनौती दिन नडराउने महिलाका रूपमा रहेको डु मोरिसको भनाइ छ ।
एलिजाबेथ अन फोर्ड
९ अगस्ट १९७४–२० जनवरी १९७७
कन्फरेन्समा चुनौती दिन र सीधै प्रतिक्रिया दिन सक्ने हिम्मत राख्ने महिलामा पर्थिन् एलिजाबेथ अन फोर्ड । उनी सधैँ एकै अधिकार र सम्बोधन गर्न निषेध गरिएको विषयमा निडर भएर छलफल गर्थिन् । यद्यपि, फर्स्ट लेडी भए पनि अन फोर्ड आफ्नो स्तन क्यान्सरबारे खुलेर त्यस रोगबाट सुरक्षित रहन सल्लाह दिन्थिन् । उनको यही अभिव्यक्तिबाट धेरै अमेरिकन महिला प्रभावित बनेका थिए । फर्स्ट लेडीमा सक्रिय रहेकी फोर्ड ह्वाइटहाउस छाडेपछि लागुऔषध तथा मदिरा सेवनविरुद्ध लागिन् । पछि उनले बेट्टी फोर्ड सेन्टर पनि स्थापना गरिन् ।
हिलारी क्लिन्टन
२० जनवरी १९९३ देखि २० जनवरी २००१
बिल क्लिन्टन अमेरिकाको दुईपटक राष्ट्रपनि बने । यो कार्यकालमा फर्स्ट लेडीकी रूपमा हिलारी क्लिन्टन रहिन् । हिलारी सधैँ आफूलाई प्रभाव र राजनीतिक महत्वाकांक्षाको उच्च स्तरमा पुऱ्याउने स्वभावकी थिइन् । राष्ट्रपति बिल क्लिन्टन र ह्वाइटहाउस पर्खालबाहिर शंकास्पद गतिविधि गर्नेविरुद्ध हिलारीले सल्लाह र सुझाब दिइरहेकी हुन्थिन् ।
लाउरा बुस
२० जनवरी २००१–२० जनवरी २००९
लाउरा बुस फरक किसिमकी थिइन् । बाल साक्षरता कार्यक्रममा केन्द्रित रहने र रुढीवादी संस्कृतिविरुद्ध उनी निरन्तर लागिरहिन् । जर्ज डब्ल्यु बुस दुईपटक राष्ट्रपति बन्दा लाउरा बुसले इटालियन नवजागरण झल्काउने चित्र कोर्न लगाएकी थिइन् । राष्ट्रपतीय निर्वाचनमा उनी न्युयोर्ककी सिनेटर पनि बनिन् । अमेरिकामा फर्स्ट लेडीकी रूपमा सिनेटर हुने उनी एक मात्र महिला हुन् ।
मिसेल ओबामा
२० जनवरी २००९–२० जनवरी २०१७
हिलारी क्लिन्टनभन्दा पनि बढी मिसेल ओबामाले चर्चा पाइन् । राजनीतिमा कुनै चासो वा वास्ता नगर्ने स्वभावकी मिसेल ओबामा पहिलो अफ्रिकन–अमेरिकी राष्ट्रपति र पहिलो महिला भएकाले पनि धेरै चर्चित भएको मानिएको छ ।
राष्ट्रपति बराक ओबामाले आफूसँगै श्रीमती मिसेलको पेन्टिङ गराउँदा बढीजसो कालो र सेतो रंग प्रयोग गर्न निर्देशन दिएका थिए । चित्रकार एमी सेराल्डको त्यस तस्बिरमा ओबामाले आफ्नी श्रीमतीको अनुहार, सौन्दर्य तथा बुद्धिमत्ताको वर्णन गरेको विश्लेषक डु मोरिसले जनाएका छन् । यद्यपि, अन्य विश्लेषकहरूले मिसेल ओबामाको चित्रमाथि धेरै प्रतिक्रिया दिए पनि ग्यालरीमा आउने आगन्तुकहरूले यसै तस्बिरलाई बढी मन पराएको भनाइ छ । ह्वाइटहाउसभित्र र बाहिर निकै सरल स्वभावको छवि बनाएकी मिसेलले सधैँ श्रीमान् बराकको साथ दिइन् ।
मेलानिया ट्रम्प
२० जनवरी २०१७–२० जनवरी २०२१
चार वर्षअघि ४५औँ राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले कान्छी श्रीमती मेलानियालाई फर्स्ट लेडीकी रूपमा विश्वलाई चिनाएका थिए । ह्वाइटहाउसमा तामझामसहित प्रवेश गरेकी मेलानियाको सौन्दर्यको धेरै चर्चा भएको थियो । ह्वाइटहाउसमा उनले विवादास्पद गुलाफको बगैँचा निर्माण गर्न लगाएकी थिइन् ।
ट्रम्पको चारवर्षे कार्यकालमा ह्वाइटहाउसमा कष्टकर जीवन बिताएको मेलानियाले बताउँदै आएकी छिन् । ४६औँ राष्ट्रपति निर्वाचनमा ट्रम्प पराजित भएपछि मेलानियाले डिभोर्सको प्रक्रियासमेत अगाडि बढाएको चर्चा छ । फर्स्ट लेडीको रूपमा प्रदर्शनीमा फोटो राख्दा पनि उनले सामान्य तस्बिर राखिन् । त्यो फोटो हेर्दा मेलानिया एकदम सरल र शान्त स्वभावकी देखिन्छिन् । चार वर्षअघिको निर्वाचनमा मेलानियाले ट्रम्पको चुनावी कार्यक्रममा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । एक सफल व्यापारी तथा मोडलसमेत रहेकी मेलानियाले श्रीमान् ट्रम्पलाई जिताउन वासिङ्टन पोस्टलाई भनेकी थिइन्, ‘म उनको हिम्मत बढाउन अगाडि आएकी हुँ, मलाई थाहा छ, अमेरिकालाई उहाँले के दिन सक्नुहुन्छ, अमेरिकी जनताले उहाँबाट के पाउँछ ।’
–एजेन्सीको सहयोगमा