![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/corona2021-01-07-06-25-09.jpeg)
कोरोनाको नयाँ स्वरूपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको दाबी गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो सातामा मात्रै विश्वका १० देशमा पुगेको हो । संगठनले महामारीको नयाँ स्वरूप दिन प्रतिदिन नयाँ–नयाँ देशमा पुगिरहेको जनाएको छ ।
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दो रूपमा विश्वमा बढ्दै गएको बताइएको छ । संगठनका अनुसार पछिल्लो एक सातामा मात्र कोरोना संक्रमणबाट करिब ९३ हजार जनाको ज्यान गएको छ ।
तर, त्यसमा यो नयाँ स्वरूपको भाइरसका कारण के–कस्तो क्षति पुगेको छ भन्नेबारे भने केही अनुसन्धान भएको छैन । गएको सात दिनमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख संक्रमित थपिएका छन् । पछिल्लो समय युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले पछिल्लो तथ्यांकमा भनेको छ कि आगामी अगष्ट महिनाको अन्तिमसम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइसकिने भएको छ ।