मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ ५ सोमबार १८:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फारम भरेको दुई वर्षमा प्रवेश परीक्षा

Read Time : > 2 मिनेट
२०७७ माघ ५ सोमबार १८:००:००

त्रिभुवन विश्वविद्यालयको तीनवर्षे एलएलबी अध्ययनका लागि फारम भरेका विद्यार्थीको दुई वर्षमा प्रवेश परीक्षा हुन लागेको छ । दोस्रो वर्षमा अध्ययन गर्नुपर्ने विद्यार्थीले बल्ल प्रवेश परीक्षा दिने पाउने भएका छन् । 

विद्यार्थी भर्ना संख्याको विषयमा विवाद हुँदा अनिश्चित भएको शैक्षिक सत्र झन्डै दुई वर्षमा टुंगो लागेको छ । थोरै क्षमता भएका क्याम्पसमा कैयौँ गुणा बढी भर्ना गर्दा समस्या भएको थियो । अहिले त्रिविले कोटा कायम गरेर भर्ना प्रक्रिया अघि बढाउने बाटो खोलेको हो । 

नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डा. डिएन पराजुलीले ०७५ चैतमा एलएलबी अध्ययनका लागि फारम भरेका विद्यार्थीका लागि प्रवेश परीक्षा लिने बाटो खुला भएको बताए । नेपाल ल क्याम्पसमा अब ६ सय र त्रिविका अन्य आंगिक क्याम्पसमा तीन-तीन सय विद्यार्थीले भर्ना पाउने भएका छन् । त्रिविका नेपाल ल क्याम्पससहित, बुटवलको बुटवल बहुमुखी, पोखराको पृथ्वीनारायण, धरानको महेन्द्र बहुमुखी, सप्तरीको राजविराज बहुमुखी र नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा एलएलबी कार्यक्रम सञ्चालन छ । 

एलएलबीका लागि त्रिविका क्याम्पसले ०७५ चैत र ०७६ मंसिरमा प्रवेश परीक्षाको फारम भरेका थिए । नेपाल ल क्याम्पसले आगामी १७ माघमा प्रवेश परीक्षा लिने भएको छ । त्रिविबाट पत्र आएपछि भर्ना प्रक्रिया अघि बढाएको क्याम्पस प्रमुख पराजुलीले बताए । त्रिविको प्राज्ञिक परिषद्को निर्णयअनुसार, भर्ना प्रक्रिया अघि बढेको हो । 

ल क्याम्पसमा ०७५ र ०७६ मा गरी दुई हजार आठ सय विद्यार्थीले भर्नाका लागि फारम भरेका छन् । प्रवेश परीक्षाको मेरिट लिस्टका आधारमा ६ सय विद्यार्थीले भर्ना पाउनेछन् । यो क्याम्पसमा ०७४ मा १० हजार आठ सय ६३ विद्यार्थी भर्ना भएका थिए । 

अब तीनवर्षे एलएलबी अध्ययन गर्ने विद्यार्थीले नियमित कक्षामा उपस्थित हुनुपर्नेछ । यसअघि भर्ना हुने संख्या धेरै भए पनि कक्षामा नआउने र परीक्षामा समेत कम सहभागी हुने समस्या थियो । अब भने ७५ प्रतिशत हाजिर हुनुपर्नेछ । 

त्रिविले गठन गरेको समितिले भर्ना लिएका विद्यार्थीका लागि हाजिर अनिवार्य गर्ने र ७५ प्रतिशत नआउनेलाई परीक्षामा सहभागी हुन नदिने व्यवस्था गर्न सुझाब दिएको छ । आगामी दिनमा तीन वर्षे स्नातक तहमा भर्ना लिन डिन कार्यालयबाट निश्चित मापदण्डका आधारमा हरेक कलेजको भौतिक संरचना तथा शिक्षक संख्याको मूल्यांकन गरी भर्ना तोक्न समितिले सुझाएको छ । 

विद्यार्थीको दुई वर्ष खेर
भर्नाका विषयमा भएको विवादले त्रिभुवन विश्वविद्यालयको तीनवर्षे एलएलबीमा भर्नाको तयारीमा रहेका विद्यार्थीको दुई वर्ष खेर गएको छ । विद्यार्थीले खुला भर्नाका लागि दबाब दिने, त्रिवि केन्द्रीय कार्यालय अनिर्णित हुने र क्याम्पस प्रशासनले क्षमता अभावले सबैलाई भर्ना गर्न नसक्ने अवस्था आएपछि दुई वर्ष खेर गएका हुन् । 

अब माघमा प्रवेश परीक्षा भएपछि चैतदेखि शैक्षिक सत्र ०७६ को भर्ना लिने तयारी छ । नेपाल ल क्याम्पसले ०७४ मा १० हजार आठ सय ६३ विद्यार्थी भर्ना लिएको थियो भने त्यसयताका दुई वर्षमा भर्ना लिएको थिएन । त्यस्तै, शैक्षिक सत्र ०७७ को भर्ना आगामी साउनमा लिने तयारी रहेको त्रिविले जनाएको छ ।

यसरी बिते विवादमा दुई वर्ष 
ल क्याम्पसले ०७५ मा प्रवेश परीक्षामा ४० अंक ल्याउनेलाई एलएलबीमा भर्ना गर्ने तयारी सुरु गरेको थियो । २६ चैत, ०७५ सम्म प्रवेश परीक्षा फराम भर्ने समय दिएर क्याम्पसले ४ जेठ, ०७६ मा परीक्षा प्रवेश परीक्षा तोकेको थियो । 

तर, खुला भर्ना गर्नुपर्ने माग गर्दै विद्यार्थीले २६ वैशाख, ०७६ मा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण प्रवेश परीक्षा नै रोकियो । भर्नासम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वोच्चमा परेको रिटमा खुला भर्ना नगर्नका लागि आदेश माग गरिएको थियो । ३ असार, ०७६ मा सर्वोच्चले त्रिविबाट क्याम्पसको भर्ना क्षमता यकिन गरी संख्या तोकेर पूर्णकालीन विद्यार्थी, समावेशी ढंगले भर्ना गर्न अन्तरिम आदेश दिएको थियो । 

त्रिविको कानुन संकायले नेपाल ल क्याम्पसमा दुई सय ४० देखि तीन सय विद्यार्थी भर्ना गर्न सक्ने भन्दै त्रिवि कार्यकारी परिषद्मा पठाएको थियो । त्यसपछि त्रिवि कार्यकारी परिषद्ले तीन सय सिट निर्धारण गरेको थियो । 

त्यसपछि ५ मंसिर, ०७६ मा ल क्याम्पसले तीन सय विद्यार्थी भर्ना गर्ने गरी भर्ना खोल्यो । जसमा पहिलो फारम भरेका विद्यार्थीलाई पनि समावेश गर्ने व्यवस्था गरिएको थियो । ८ मंसिरदेखि मसान्तसम्म फारम भर्ने म्याद तोकिएको थियो । 

तर, यसपटक पनि विद्यार्थीले मानेनन् । फेरि १५ मंसिर, ०७६ मा क्याम्पसमा तालाबन्दी गरे । त्यो तालाबन्दी ०७६ फागुन पहिलो साता मात्रै खुल्यो । ताला खुले पनि विद्यार्थीले तीन सयको कोटा मानेनन् । 

विद्यार्थीले नमानेपछि त्रिविले कानुनी शिक्षाको सम्बन्धमा सुधार, पुनरावलोकन र परिमार्जनका लागि रायसुझाब पेस गर्न प्रा.पूर्णमान शाक्यको संयोजकत्वमा उच्चस्तरीय समिति गठन ग¥यो । समितिको प्रतिवेदनअनुसार, एलएलबीको प्रथम वर्षमा नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिन लागिएको हो ।