मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ पौष २९ बुधबार १८:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सदरमुकाममै अन्धविश्वास, झारफुकको नाममा डामेर वृद्धको मृत्यु, दुईजना घाइते

Read Time : > 1 मिनेट
२०७७ पौष २९ बुधबार १८:३८:००

गुल्मीको इस्मा गाउँपालिका– ३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको बुधबार धामीले डामेर मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । मुखियालाई मालिका गाउँपालिका– ६ अर्जे स्थायी घर भई रेसुंगा नगरपालिका– १ उदिनढुंगामा बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र ३६ वर्षीया श्रीमती शान्तिला श्रेष्ठले चार दिनदेखि विभिन्न धातु तताएर डाम्दै आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए । 

मृतकको शरीर सबै डढेर निलो भएको छ भने घाइते दुईजनाको पनि शरीरका विभिन्न भागमा डढेका नीला डामहरू रहेको पाण्डेयले बताए । घाइते हुनेहरूमा रेसुंगा नगरपालिका– ५ की ४० वर्षीया टोपला दलाई र मृतकका छोरा ३४ वर्षीय हुमबहादुर मुखिया छन् । मृतक रामबहादुरलाई ढाड दुख्ने समस्या थियो । 

छोराहरूले तम्घासमा झारफुक गर्ने थाहा पाएपछि गत पुस २५ गते बुबालाई श्रेष्ठ परिवारकोमा ल्याएका थिए । चार दिनसम्म घरभित्र थुनेर खान नदिई रड, प्लाष्टिक पाइप र स्टिलको झाँजर आगोमा तताएर डाम्ने गरेको छोरा हुमबहादुर मुखियाले बताए । घाइते दुवैजनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । घटनामा संलग्न श्रेष्ठदम्पतीलाई प्रहरी गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए । शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

यसरी खुल्यो रहस्य
घटनामा संलग्न श्रेष्ठदम्पती रेसुंगा नगरपालिका– १ का माधव ज्ञवालीको जग्गा भाडामा लिई तीन वर्षदेखि अस्थायी टहरो निर्माण गरेर बस्दै आएका थिए । श्रीमान्–श्रीमती टहरोमा नियमित बस्छन् । 

बुधबार बिहान हत्या आरोपित रामप्रसाद श्रेष्ठ आफ्नो घरमा अपरिचित व्यक्तिले अशान्ति मच्चाएको भन्दै उजुरी गर्न आए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दसहितको प्रहरी टोली टहरोमा पुगे । तर, अनुसन्धान गर्दै गएपछि घटनाको रहस्य खुल्यो । आखिर घटना श्रेष्ठतिरै मोडियो । ‘सामान्य उजुरी आएर घरमा पुग्दा गम्भीर स्थितिको रहस्य खुल्यो,’ चन्दले भने,‘ आरोपित गिरफ्तार छन्, थप अनुसन्धान भइरहेको छ ।’