सहरी विकासमन्त्री प्रभु साहले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई माओवादीको नाममा व्यापारी भएको गम्भीर आरोप लगाएका छन् ।
साथै उनले यही समूहका अर्का अध्यक्ष माधवकुमार नेपाललाई आफ्नो मात्र फाइदा हेर्ने स्वार्थी व्यक्ति भएको आरोप पनि लगाएका छन् ।
रौतहटको क्षेत्र नं. ४ स्तरीय क्षेत्रीय कार्यकर्ता भेलालाई चन्द्रनिगाहपुरमा सम्बोधन गर्दै मन्त्री साहले प्रचण्ड–नेपाल समूहले ओली सरकारलाई घेराबन्दीमा पारेका कारण अहिलेको अवस्था आएको बताए ।
आफ्नो सम्बोधनको अधिकांश समय प्रचण्डको विरोधमा खर्चेका मन्त्री साहले माधव नेपाल हदैसम्मको स्वार्थी र प्रचण्ड माओवादीको नाममा व्यापार गर्ने एक व्यापारी भएको गम्भीर आरोप लगाए ।
लामो समयदेखि माओवादीमा विनाचुनाव अध्यक्ष बन्दै आएका प्रचण्डको कारण बादल, वैद्य, विप्लवसहितका दर्जनौँ सक्कली माओवादीले उनलाई छाडेको र उनी अझै माओवादीको नाममा व्यापार गर्दै आफ्नो परिवार उत्थानमा मात्र लागेको उनले आरोप लगाए ।
प्रचण्डले माओवादीको नाममा सबै सिद्धान्त बेच्दै आएको आरोप लगाउँदै साहले अब आएर उनी सूर्य चिह्नको पछाडि लाग्नुले नै उनी नक्कली कम्युनिस्टको कित्तामा गइसकेको ठहर गरे ।
मन्त्री साहले प्रचण्ड आफ्नो जीवनको अन्तिम राजनीतिक रक्षात्मक अवस्थामा आइपुगेको पनि बताए ।