इन्डोनेसियाको श्रीविजय विमान दुर्घटनामा परेको आज तीन दिन भएको छ । यद्यपि, इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार केन्द्रले दुर्घटनामा परेकाहरूको खोजी कार्य निरन्तर गरिरहेको छ, जसमा ६२ जना सवार थिए । उक्त विमान शनिबार उडान भरेको केही समयमै समुद्रमा खसेको थियो ।
दुर्घटनामा परेको बोइङ ७३७–५०० मा ५० जना यात्रु मात्रै थिए । ४३ जना बयस्क र सातजना बालबालिका थिए । विमानचालक दलका १२ सदस्य थिए । यो दुःखद घटनामा गर्भवती महिला, उनका दुई वर्षीय नानी, पाँचजनाको परिवारदेखि आफ्नो पिताको अन्तिम संस्कारमा सहभागी भएर फर्किएका दम्पतीसम्म परेका छन् । उनीहरू सबैको मृत्यु भइसकेको अनुमान गरिएको छ ।
पिताको अन्तिम संस्कारबाट फर्कँदा दुर्घटनामा
अगस मिनार्नी र मुहम्मद दुर खोलिफतुल अमिन मेमपाह्वस्थित आफ्नो घरबाट जकार्ता गएका थिए । उनीहरू अमिनको पिताको अन्तिम संस्कारमा सहभागी हुन त्यहाँ पुगेका थिए । उनीहरूको एक छोरा पनि पढाइका लागि जकार्तामै बस्छन्, जसलाई उनीहरूले त्यहाँ भेटेका थिए ।
यी जोडी जकार्तामा हुँदा मिनार्नीका भाइ युदियन्साह युनिसले आफ्नो एक छोराका लागि पनि विद्यालय खोजिदिन अनुरोध गरेका थिए । युनिसले दिदी–भिनाजुसँग कुरा गरेको त्यही अन्तिमपटक बन्यो ।
मिनार्नी र उनका श्रीमान् गत ५ जनवरीमै घर फर्कने तयारीमा थिए । त्यसवेला उनीहरूले नाम एयरको टिकटसमेत लिएका थिए । यद्यपि, उनीहरू मंगलबार विमानस्थल पुग्दा फ्लाइटअघि कोरोना भाइरस संक्रमण नरहेको परीक्षण रिपोर्ट चाहिने खबर थाहा पाए ।
त्यसले गर्दा उनीहरूलाई घर फर्कन दुई दिन ढिला भएको थियो । जब उनीहरूको परीक्षण रिपोर्ट नेगेटिभ आयो, त्यसपछि उनीहरूले फेरि टिकट लिएका थिए । यसपटक विमान फरक प¥यो । अघिल्लोपटक नाम एयरको टिकट लिएका उनीहरूले यसपटक श्रीविजयमा टिकट पाए । दुर्भाग्यवश मिनार्नीदम्पती शनिबारको त्यही दुर्घटनामा परेका छन् ।
दिदी–भिनाजु नै दुर्घटनामा बेपत्ता भएपछि परिवारमा ठूलो आघात पुगेको युनिसले बताए । युनिस दिदी मिनार्नीले आफू र बाहिनीलाई धेरै दृष्टिकोणबाट सहयोग गरेको सम्झन्छन् ।
पाँचजनाको परिवार
विमानमा पाँचजनाको एउटा परिवार पनि सवार थियो । उनीहरू बाङ्का आइल्यान्डतर्फ जानका लागि उक्त विमानमा थिए । अहिलेसम्म हराइरहेका उनीहरूको पनि मृत्यु भएको अनुमान गरिएको छ ।
परिवारले विज्ञप्तिमा उल्लेख गरेअनुसार २६ वर्षीय रिज्की वाह्युडी, उसको २६ वर्षीया श्रीमती इन्दाह हालिमाह पुत्री र उनीहरूका सात महिनाका छोरा उक्त विमानमा थिए । वाह्युडीकी आमा र उसको एकजना नजिकको आफन्त पनि सँगै रहेका थिए । वाह्युडीले पश्चिम कालिमन्तनस्थित इन्डोनेसियाको फरेस्ट्री कमिसनमा काम गरेका छन् । यी पाँचजनाको परिवार आफन्त भेट्न बाङ्का आइल्यान्डमा थिए । आफन्तलाई भेटेर पश्चिम कालिमान्तन फर्कँदै गर्दा उनीहरू दुर्घटनामा परेका हुन् । आइतबार वाह्युडीका दुईजना काकाले उनको शव पहिचानका लागि डिएनए परीक्षण गराएका छन् ।
गर्भवती महिला र उनका नानीहरू
चार महिनाकी गर्भवती राटिह विन्दानिया पनि उक्त विमानमा थिइन् । उनी आफ्ना दुई नानीसँगै जकार्तामा परिवारका बाँकी सदस्यलाई भेटेर फर्कंदै थिइन् । उनीसँग आफ्नो दुई वर्षकी छोरी युम्ना र आठ वर्षकी भतिजी अत्हार रिज्की रियावान थिए । उनीसँग उनका काका टोनी इज्माइल र काकी राज्मावती पनि थिए । विन्दानियाले शनिबार जाकार्ता विमानस्थलबाट विमान चढ्नुअघि त्यहाँ रहेका आफन्तहरूलाई बाईबाई भनेको भिडियो आफ्नो इन्स्टाग्राम स्टोरीमा हालेकी थिइन् । विन्दानियाले विमानभित्र आफू, आफ्नी सानी छोरी र भतिजी हाँसिरहेको तस्बिर पनि इन्स्टाग्राममा हालेकी थिइन् ।
व्यवसायी योहान्स सुहर्दी
योहान्स सुहर्दी व्यवसायको कामले जकार्तामा थिए । उनी पोन्टियानाक विमानस्थलबाट अझै धेरै टाढा रहेको आफ्नो घर र परिवारलाई भेट्न फर्कंदै थिए । उनकी ३२ वर्षीया श्रीमती सुशीलावती बुङ्गहिलारिया अझै पनि श्रीमान् सकुशल भेटिन्छन् कि भन्ने आशामा छिन् । उनीहरूका पाँच वर्षीय छोरा रियन गुस्ती राफइल पनि छन् ।
बुंगहिलारियाले जकार्ता विमानस्थलबाट उड्नुअघि श्रीमतीसँग केही समय कुरा गरेका थिए । त्यसवेला उनले श्रीमती बुंगहिलारियालाई छोरालाई अस्पताल लैजानु भनेका थिए । छोरा रियनलाई त्यसवेला ज्वरो आएको थियो । छोराको शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले सुहर्दीका पिताले छोराको अरू सामान र आफ्नै डिएन परीक्षण गरेका छन् ।