![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/madhav-nepal2019-05-01.gif)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको बताएका छन् ।
सोमबार काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको बताएका हुन् ।
ओलीको कम्युनिस्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी संगठनलाई भताभुंग पार्न चाहेको बताए । प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षताप्रति कुनै अपनत्व नभएको उनको भनाइ छ ।
अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफूहरूलाई दिन आग्रह गरेको पनि बताए । उनले बहुमत केन्द्रीय कमिटी सदस्य आफूतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकोले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचली विधानसम्मत् चल्ने जानकारी दिएको बताए।
अध्यक्ष नेपालले निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचनसम्बन्धी कानुन हेरेर निर्णय गर्न आग्रह गरिएको पनि बताए । प्रधानमन्त्री ओलीले सबै शक्ति आफूमातहतमा ल्याएर विरोधीलाई तर्साएको उनले जिकिर गरे ।
प्रतिनिधिसभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको पनि अध्यक्ष नेपालले बताए । देशलाई लोकतन्त्र र स्थायित्वको बाटोमा लैजान सबै परिवर्तनकर्मी शक्तिहरूबीच तालमेल गर्दै अघि बढ्नुपर्ने वेला आएको पनि बताए ।