नेकपाको प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया रोक्न आग्रह गरेको छ । सरकारले गत ५ पुसमा संघीय प्रतिनिधिसभा विघटन गरेर आउँदो वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेको थियो ।
त्यसयता नेकपाको प्रचण्ड–नेपाल समूह यसको विरोधमा छ । साथै यसबारेमा सर्वाेच्चको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ ।
आज सोमबार नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितको टोली निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया रोक्न माग गरेका हुन् ।
सर्वोच्च अदालतको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्न माग गरिएको नेकपाका नेता लीलामणि पोखरेलले जानकारी दिए ।
साथै निर्वाचन आयोगमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सम्बन्धित कागजातहरूको प्रतिलिपि पनि माग गरिएको नेता पोखरेलले बताए ।
निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावली थपघट रोक्ने र स्थायी प्रकृतिको काम, मतदान केन्द्रहरू टुंगो लगाउने प्रारम्भिक काम मात्रै गरिएको, अन्य काममा प्रवेश नगरेको जानकारी दिएको उनले बताए ।
अहिले यस विषय अदालतमा विचाराधीन रहेकाले तत्काल निर्वाचनको प्रक्रिया रोकिनुपर्ने भनाइ उनीहरूको थियो ।