मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २७ सोमबार ०९:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २७ सोमबार ०९:१५:००

नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सिइए)ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको हो । विद्युत् प्राधिकरणले टनकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो । 

सिइएले अनुमति दिएसँगै अब टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने नेपाल विद्युत् प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । प्राधिकरणले टनकपुरबाट खरिद गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४.१४ भारतीय रुपैयाँ (६.६२ नेपाली रुपैयाँ) छ । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट विद्युत् निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ । 

‘टनकपुरमा अहिले सय एमभिएको ट्रान्सफर्मर भए पनि उताबाट अनुमति नपाउँदा ७० मेगावाटभन्दा बढी ल्याउन पाइरहेका थिएनौँ, भारतीय अधिकारीहरूसँगको निरन्तरको छलफलपछि जनवरी—मार्च र जुलाई—डिसेम्बरमा  आयात क्षमता बढाएर ८५ मेगावाटसम्म ल्याउन पाउने अनुमति पाएका छौँ,’ शाक्यले भने ।

प्रसारण लाइनको क्षमताले नधान्दा पूर्वबाट पश्चिमतर्फ प्राधिकरणले विद्युत् पठाउन सकिरहेको थिएन । टनकपुरबाट थप विद्युत् ल्याउन पाएपछि अब पश्चिम क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनेछ भने बिहारबाट महँगोमा आयात भइरहेको विद्युत्लाई कम गर्न सकिनेछ । 

प्राधिकरणले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत आयात गरेको विद्युत्लाई प्रसारण लाइनको क्षमता अभावका कारण रौतहटको चपुरबाट पश्चिम पठाउन समस्या भोगिरहेको थियो । टनकपुरबाट थप आयात गर्न सकिने भएपछि पश्चिम पठाएको विद्युत्लाई काठमाडौं उपत्यका र पूर्वतर्फ आपूर्तिका लागि पठाउन सकिने शाक्यले बताए । यसबाट मुलुककै समग्र विद्युत् आपूर्तिमा सुधार हुने उनको भनाइ छ । 

केही दिनअघि ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मरको क्षमता विस्तार गरेसँगै त्यहाँबाट थप सय मेगावाटसम्म विद्युत् आयात गर्न सकिने अवस्था छ । यसबाट यस वर्षको जाडोमा हुने विद्युत्को माग धान्न पर्याप्त विद्युत् हुनेछ ।

प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत् निगम लिमिटेड (एनभिभिएन)बीच ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २ सय ५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३ सय ५० मेगावाटसम्म र मे–जुनमा २ सय मेगावाटसम्म विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएको छ । पिपिएको म्याद ३० जुन २०२१ सम्म रहेको छ । खरिद गरिने विद्युत्को प्रतियुनिट मूल्य ४.१८ भारु (६.६९ नेरु) छ ।