१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ पौष २७ सोमबार ०८:०६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खोप लगाएका पर्यटकलाई अनअराइभल भिसा दिन व्यवसायीको माग

Read Time : > 1 मिनेट
२०७७ पौष २७ सोमबार ०८:०६:००

पिसिआर रिपोर्ट र खोप लगाएका पर्यटकलाई अनअराइभल भिसा दिन पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाहरूले माग गरेका छन् । व्यवसायीहरूले पर्यटकलाई लगाएको क्वारेन्टाइनको व्यवस्थासमेत हटाएर नेगेटिभ रिपोर्टका आधारमा घुम्न पाउने व्यवस्था गर्नसमेत माग गरेका हुन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालद्वारा पर्यटनसम्बद्ध निजी क्षेत्रका सरोकारवालासँग मन्त्रालयमा आयोजित कार्यक्रममा व्यवसायीले यस्तो माग गरेका हुन् । कार्यक्रममा होटेल संघ नेपाल (हान)का कार्यबाहक अध्यक्ष विनायक शाहले विदेशी पर्यटकबाट धेरै इन्क्वाइरी आइरहेको भन्दै अनअराइभल भिसाको व्यवस्था गर्न आग्रह गरे ।

नेपाल आएको चार घन्टामा पिसिआर रिपोर्ट दिने व्यवस्था गर्न सकिने भन्दै त्यसका लागि संघले समेत सहयोग गर्न तयार रहेको उनले बताए । उनले हप्ताको दुई दिन बिदा दिए आन्तरिक पर्यटन प्रवद्र्धन हुने देखिएको पनि बताए । नयाँ वर्षको पहिलो दिन पोखरा, चितवनमा बढेको आन्तरिक पर्यटकको सहभागिताले त्यसको पुष्टि गरेको उनको भनाइ छ ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले पनि पिसिआर रिपोर्ट र खोपका आधारमा अनअराइभल भिसा दिने व्यवस्था हुनुपर्ने बताए । विदेशी पर्यटकलाई रोक्नु भनेको पर्यटन क्षेत्रलाई थप धराशायी बनाउनु रहेको भन्दै उनले मन्त्रीको ध्यानाकर्षण गराए । ट्रेकिङ रुटमा जथाभावी सडक खन्ने प्रवृत्ति बढेको भन्दै विज्ञको टिम बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको उनले औँल्याए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन व्यवसायीहरूले अझै पनि पुनरुत्थान रकम नपाएको भन्दै ध्यानाकर्षण गराए । नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले पर्यटन, स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालयको समन्वय नहुँदा विदेशी पर्यटक नेपाल आएर पनि फर्कनुपर्ने वातावरण बनेको बताए । ‘हामीलाई राहत दिने भनियो, राष्ट्र बैंक धायौँ, बैंकहरू धायौँ । तर, केही उपलब्धि हासिल भएन । राष्ट्र बैंकले म कुटेको जस्तो गर्छु, तँ (बैंकहरू) रोएको जस्तो गर भन्नेबाहेक केही गरेन,’ उनले भने । 

टानका पूर्वअध्यक्ष नवराज दाहालले नेपाल आएर सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था हटाउनुपर्ने बताए । उनले पर्यटनका सबै गतिविधिलाई खुला गर्नुपर्ने पनि बताए । ‘पर्यटन मन्त्रालयले सहजीकरण मात्रै गरिदिनुपर्‍यो, पर्यटक निजी क्षेत्रले ल्याउँछ,’ उनले भने । पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले सहरी क्षेत्रमा होमस्टे सञ्चालनमा रोक लगाउनुपर्ने बताए । पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिलाउन पर्यटनमन्त्रीले काम गर्नुपर्नेमा सापकोटाले जोड दिए । 

पर्यटनमन्त्री भानुभक्त ढकालले व्यवसायीहरूले राखेको समस्या सकेसम्म हल गर्नेमा जोड दिने बताए । आन्तरिक पर्यटन प्रवद्र्धनलगायतका गतिविधिलाई अगाडि बढाउन गृहकार्य भइरहेको समेत मन्त्री ढकालले बताए ।