१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

तीनवटा नेपाली बालकथा प्रकाशित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:४४:oo

कथालयले तीनवटा नेपाली बालकथाका किताब प्रकाशित गरेको छ । नेपाली लेखकले नेपाली परिवेश समेटेर लेखेका बालकथा ‘मनोहरको मुरली’, ‘सफा झिँगा’ र ‘सेल्फीको रहर’ एकैसाथ प्रकाशन भएका हुन् ।बालबालिकासँग अनेक रहर, सीप र क्षमता हुन्छन् ।

साथीहरूसँग मिलेर नयाँ–नयाँ कुरा सिक्ने कौतुहलताको कथा ‘मनोहरको मुरली’ मा लेखक नारायणश्री अधिकारीले लेखेका छन् । निकै राम्रो मुरली बजाउने मनोहरको मुरली देखेर उसको साथी दीपालाई पनि मुरली बजाउने रहर जाग्छ । तर, मुरली सिक्ने कुरामा झगडा गर्दागर्दै मनोहरको मुरली भाँचिन्छ । त्यसपछि दीपा र मनोहरले मिलेर सिक्नुपर्ने रहेछ भन्ने पाठ सिक्दै अन्त्यमा दुवैजनाले मिलेर मुरलीमा नयाँ–नयाँ धुन बजाउने कुरासम्म पुगेका छन् । चित्रकार विनिता बुद्दाचार्यले बनाएका चित्रले कथाका यी घटनाक्रम झनै सहज ढंगले बुझ्न सघाउँछन् र कथालाई अझै रोचक बनाएका छन् ।

‘सफा झिँगा’ मा तेजप्रकाश श्रेष्ठको लेखन र विजयराज शाक्यको चित्रकारिता छ । यसमा बालबालिकालाई सरसफाइ र रोगबाट बच्ने उपायको जानकारी कथाको माध्यमबाट दिइएको छ । कथाकी मुख्य पात्र भवानीको पेट दुखेपछि पेट दुख्नुको कारण पत्ता लगाएर उनले स्वस्थ रहन गर्नुपर्ने कुरा के–के रहेछन् भनेर सिकेकी छिन् भन्ने कथा समेटिएको छ ।

बालबालिका धुलोमाटो, किरा, फोहोर आदिसँग खेल्ने, रमाउने र नजिक हुने हुँदा उनीहरू रोगको बढी जोखिममा हुन्छन् । रोगबाट बच्न बालबालिका आफैँले के गर्न सक्छन् भनेर झिँगा र भवानीको संवादबाट उनीहरूले चित्र हेर्दै रमाउँदै थाहा पाउन सक्छन् ।

तेस्रो किताब ‘सेल्फीको रहर’ हो । प्रविधिको यो युगमा बालबालिका सेल्फी भनेपछि हुरुक्कै हुन्छन् । मोबाइल देख्यो कि उनीहरू सेल्फीको रहर गर्दै अनेक पोज गर्न थालिहाल्छन् । तर, प्रविधि बालबालिकाका लागि सुरक्षित छैन । रमाइलोका लागि ससाना जिज्ञासा पछ्याउँदा–पछ्याउँदै बालबालिका कसरी प्रविधिको सिकार हुन सक्छन् भन्ने कथा समेटिएको छ ।

‘सेल्फीको रहर’ कथामा लेखक रामदेव पाण्डेले मुसा र बिरालोलाई मानवीकरण गर्दै बालबालिकालाई सचेत गराउन खोजेका छन् । यसमा सेल्फीको रहर गर्दागर्दै सानो मुसा कसरी धूर्त बिरालोको फन्दामा पर्छ भन्ने कथा छ । चित्रकार ध्रुव प्रजापतिले बनाएका चित्रले कथाक्रमलाई रमाइलोसँग बुझ्न सहयोग गर्छ । 

आफ्नै वरपरका जस्ता लाग्ने यी कथा पढेर कथासम्बन्धी नै चित्र कोर्दा बालबालिकालाई कथाबोध र कथासँग अपनत्व महसुस हुन सकोस् भन्ने उद्देश्यले यी तीनै किताबको अन्तिम पृष्ठमा चित्र बनाउने कार्य दिइएको छ । 

ad
ad