मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २१ मंगलबार १९:५७:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सर्वाधिक महँगो क्याटेगोरीमा सन्दीप पिएसएल ड्राफ्टमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २१ मंगलबार १९:५७:००

नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को महँगो ड्राफ्टमा परेका छन् । सन्दीप पिएसएलको सर्वाधिक उच्च मूल्य मानिएको क्याटेगोरी प्लेटिनममा परेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । यस समूहमा विदेशी २५ खेलाडी परेका छन् ।  

यस समूहमा दक्षिण अफ्रिकाका सर्वाधिक सात खेलाडी परेका छन् । वेस्टइन्डिज र इंग्ल्यान्डका समान पाँच खेलाडी यसै समूहमा छन् । टी–२० क्रिकेटमा प्रभुत्व जमाउँदै आएको अफगानिस्तानका तीन खेलाडी पनि छन् । यसैगरी श्रीलंकाका दुई खेलाडी रहेका छन् । नेपाल र बंगलादेशका समान एक खेलाडी सर्वाधिक महँगो मानिएको प्लेटिनममा परेका छन् । 

अफगानिस्तानका स्पिनर राशिद खान, वेस्टइन्डिजका आक्रामक ब्याट्समयान क्रिस गेल, ड्वेन ब्राभो, मोइन अली, डाबिड मालन र इमरान ताहिर प्लेटिनममा छन् । यस प्लेटिनम क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले एक लाख ४० हजारदेखि दुई लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । यस क्याटेगोरीबाट एक फ्रेन्चाइज टोलीले एक खेलाडी मात्र अनुबन्ध गर्न पाउने प्रावधान छ । 

सन्दीपले विश्वचर्चित खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । गत वर्ष पनि सन्दीप यसै क्याटेगोरीमा परेका थिए । तर, उनलाई कुनै पनि सहभागी टोलीले अनुबन्ध गर्न इच्छा देखाएन । पिएसएलको ड्राफ्ट १० जनवरीमा लाहोरमा हुनेछ । सन् २०१८ मा सन्दीपलाई लाहोर कलन्दर्सले खरिद गरेको थियो । त्यसवेला सन्दीप गोल्ड क्याटेगोरीमा परेका थिए । तीन वर्षअघिको संस्करणमा सन्दीपले सात खेलमा ११ विकेट लिएका थिए । 

पिसिएलमा केटा ग्याडियटर्स, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेसावर जाल्मी र कराँची किङ्स गरी ६ फ्रेन्चाइज टोली छन् । पिएसएलमा पाँच क्याटेगाेरी छ । डाइमन्ड क्याटेगेरीका खेलाडीले ७० देखि ८५ हजार डलर पाउँछन् । गोल्ड क्याटेगोरीका खेलाडीले ५० देखि ६० हजार र सिल्भरमा अनुबन्ध हुनेले २२ देखि ३३ हजार डलर पाउने पिसिएलले जनाएको छ । पाँचौँ तथा अन्तिम समूह इमर्जिङमा पर्ने खेलाडीले १० देखि १२ हजार डलर पाउनेछन् ।