मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २१ मंगलबार
  • Wednesday, 18 December, 2024
मञ्जु टेलर तस्बिर: दीपेन्द्र ढुंगाना/संजित परियार
२o७७ पौष २१ मंगलबार १८:oo:oo
Read Time : > 5 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा वायु प्रदूषण खतराको तहभन्दा दुई गुणा बढी, ९३ दिनयता वर्षात् नहुँदा सतहमै अड्किए प्रदूषित कण

Read Time : > 5 मिनेट
मञ्जु टेलर, तस्बिर: दीपेन्द्र ढुंगाना/संजित परियार
नयाँ पत्रिका तस्बिर: दीपेन्द्र ढुंगाना/संजित परियार
२o७७ पौष २१ मंगलबार १८:oo:oo

- घरभित्र बस्दा पनि पर्दा लगाउन चिकित्सकको सुझाब 
- बालबालिका र ज्येष्ठ नागरिकलाई घरबाहिर निस्किन नदिन आग्रह

सोमबार राति काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ६०७ पुगेको थियो । मंगलबार अपराह्न काठमाडौंको एक्युआई चार सय तीनको आसपास छ । मौसमविद्हरूका अनुसार सोमबार रातिको एक्युआई स्तर हालसम्मकै उच्च हो । सोमबारदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ । चिसो बढ्दै जाँदा घाम नलागेको र हावा नचलेका कारण वायुमण्डलमा भएका धुलो, धुवाँका कण सतहमा थिग्रिएका छन् । सोहीकारण, वायु प्रदूषण बढेको वातावरणविद्हरू बताउँछन् ।

उनीहरूका अनुसार मंगलबार काठमाडौं विश्वका सर्वाधिक प्रदूषित सहरको अग्रस्थानमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ एक्युआई ५० भन्दा तल हुनुपर्छ । नेपाल सरकारले भने त्यसलाई एक सयभन्दा मुनि निर्धारण गरेको छ । अर्थात्, नेपालमा ५० देखि एक सयबीचमा रहेमा वायुको गुणस्तर सामान्य मानिन्छ । तर, सोमबारदेखि देशभरि नै वायु प्रदूषणले खतराको तह पार गरेको छ । एक्युआई तीन सय नाघेमा एक वर्षका लागि आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । सोमबारको अभिलेखअनुसार एक्युआई विराटनगरमा दुई सय ५०, नेपालगन्जमा दुई सय २७, दाङमा एक सय ५२, ललितपुर भैँसेपाटीमा चार सय तीन, हेटौँडामा एक सय ६३, भक्तपुरमा दुई सय ७७, पोखरामा एक सय ९४, महेन्द्रनगरमा एक सय ९२ र काठमाडौंमा चार सय ८७ थियो । सोही अवधिमा कजकस्तानमा दुई सय ९६, भियतनाममा दुई सय ४१, ढाकामा दुई सय तीन मापन गरिएको छ । यो तथ्यांकबाट पनि काठमाडौंमा एक्युआई उच्च देखिन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा १६ असोजमा मात्र वर्षा भएको थियो । त्यसयता वर्षा नभएकाले वायु प्रदूषण गराउने कण सतहमै छन् । १६ असोजमा पनि १५ मिलिमिटर मात्र वर्षात् भएको थियो, जुन एकदमै कम हो । नेपालको पश्चिमी भेगबाट भित्रिएको वायुका कारण पश्चिमी क्षेत्रमा हल्का वर्षा र हिमपात भएकाले एक्युआई सन्तुलनमै छ । तथापि, वर्षा र हिमपात नभएका सबैजसो स्थानमा एक्युआईको स्तर सामान्यभन्दा बढी पाइएको छ ।

भौगोलिक अवस्थाका कारण अन्य स्थानमा एक्युआई बढ्नुलाई धेरै खतरनाक मानिँदैन । किनकि, काठमाडौं उपत्यकाबाहिर हावा चलिरहन्छ । काठमाडौंमा जब हावाको बहाव कम हुन्छ, वायु प्रदूषण पनि उच्च रहन्छ । मौसमविद्का अनुसार उपत्यकामा एक्युआई कम हुन वर्षात् हुनुपर्छ, हावा चल्नुपर्छ या घाम लाग्नुपर्छ । पछिल्ला दिनमा उपत्यकामा न त वर्षात् भएको छ, न हावा चलेको छ, न घाम नै पर्याप्त मात्रामा लागेको छ ।

मौसमविद् ऋषिराम शर्माका अनुसार दुई दिनदेखि घाम नलागेका कारण उपत्यकाको सतह चिसो छ र हावा नचलेका कारण वायुमण्डलबाट धुलोका कण पनि उपत्यकाबाट बाहिरिन पाएका छैनन् । सोही कारण सतहको प्रदूषण सतहमै रोकिएको छ । उनका अनुसार मंगलबार सतहभन्दा वायुमण्डलको तापक्रम बढी छ । त्यसैले उद्योगधन्दा, सवारीसाधन र आगो बालेर निस्केको धुवाँलगायतका प्रदूषित कण सतहमै जम्मा भएर बसेका छन् ।

वर्षात् या बादल फाटेमा मात्र एक्युआईमा सुधार
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि बादल हट्ने सम्भावना छ । र, घामका किरण सतहमा पर्याप्त मात्रामा आएर प्रदूषणको मात्रा कम हुने अनुमान छ । ‘उपत्यकाको भूबनावट र जनघनत्वका कारण प्रदूषणको स्तर बढेको हो,’ मौसमविद् शर्मा भन्छन्, ‘इन्भर्सन लेयर अर्थात् वायुमण्डल तातो भएर तलको हावा माथि जान नपाउँदा प्रदूषण बढेको हो । घाम लागेपछि सतहको तापक्रम बढ्छ र बिस्तारै माथि सर्दै जान्छ । त्यससँगै प्रदूषण गराउने कण पनि वायुमण्डलमा मिसिन्छन् ।’

उनका अनुसार सतहका प्रदूषित कण वायुमण्डलमा पुगेपछि मात्र एक्युआई स्तर घट्छ । वर्षात् हुँदा पनि हावामा रहेका धुलोका कण पानीसँगै भुइँमा थिग्रिन्छन् । र, वातावरण स्वच्छ हुन्छ । तीव्र गतिमा हावा चल्दा पनि प्रदूषण गराउने कण उडेर उपत्यकाबाट बाहिरिन्छन् । ‘तर, पुसमा वर्षात् हुने र हावाहुरी चल्ने सम्भावना निकै कम हुने भएकाले तत्काल प्रदूषण हट्न घाम लाग्नु आवश्यक हुन्छ,’ मौसमविद् शर्मा भन्छन् । उनका अनुसार काठमाडौंमा तत्काल पश्चिमी वायुका कारण वर्षा हुने सम्भावना न्यून देखिएको छ । त्यसैले, वायु प्रदूषणमा सुधार आउन बादल फाटेर घाम लाग्नुपर्छ ।

छातीका बिरामी बढे
उपत्यकामा चिसो बढेसँगै छातीको समस्या हुने बिरामी बढेका छन् । त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार फोक्सो र छातीसम्बन्धी बिरामी बढ्न थालेका हुन् । ‘हरेक वर्ष जाडोयाममा १७५ का दरले बिरामी बढ्दै गएका छन् । देशभर नै चिसोका कारण बिरामी संख्या बढ्ने गरेको छ,’ डा. दास भन्छन्, ‘चिसोमा प्रदूषण बढी हुनु पनि यसको मुख्य कारण हो । रिपोर्टले काठमाडौंमा प्रदूषण खतराको तहभन्दा धेरै माथि पुगेको देखाएको छ ।’ उनका अनुसार पछिल्ला दिनमा कोभिड–१९ का बिरामी घटिरहेका छन्, तर नन–कोभिड बिरामीबाट अस्पताल भरिन थालेका छन् ।’

स्वास्थ्य मन्त्रालय र वातावरण विभाग भन्छन्– घरबाट ननिस्किनुस्
वातावरण विभागले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी र मुटुरोगीलाई सकेसम्म घरबाहिर ननिस्किन आग्रह गरेको छ । २० पुसदेखि आएको मौसमी बदलावसँगै साँझ–बिहान काठमाडौं उपत्यकामा वायु प्रदूषण अत्यधिक बढेको विभागले बताएको छ । ‘सबै नागरिकले घरबाहिर निस्किँदा विशेष सावधानी अपाउनु आवश्यक छ,’ विभागले भनेको छ । यस्तै, नेपालगन्ज र विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च पाइएकाले तराईका बासिन्दाले पनि विशेष सावधानी अपनाउन आवश्यक रहेको विभागका भनाइ छ । ‘वायु प्रदूषण मौसममा भर पर्ने भएकाले मौसम यस्तै रहेमा केही समयसम्म प्रदूषण पनि यस्तै रहने या अझै खराब हुने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ । यस्तै, स्वास्थ्य मन्त्रालयले पनि मर्निङ वाक र घरबाहिरको शारीरिक व्यायाम केही दिन रोक्न अपिल गरेको छ । फोहोरमैला जलाउन बन्द गर्न, घरबाहिर ननिस्किन, निस्किनै पर्दा मास्कको अनिवार्य प्रयोग गर्दै कोभिड–१९ का लागि तोकिएका मापदण्ड पालना गर्न, धुलो, धुवाँ उड्ने पेसा, व्यवसाय केही दिन स्थगित गर्न तथा अत्यावश्यक नभई सवारी साधन नचलाउन मन्त्रालयले आग्रह गरेको छ ।

बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा

चिकित्सकहरूका अनुसार एक्युआई एक सयभन्दा माथि हुँदा बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुन्छन् । फोक्सोमा समस्या भएका बिरामी, एलर्जी र संक्रमण फैलिएको समयमा वायु प्रदूषण बढी जोखिमपूर्ण हुन्छ । खासगरी, भौगोलिक बनावटका कारण हावाको बहाव कम हुने काठमाडौं उपत्यकामा हिउँदयाममा एक्युआई बर्सेनि बढ्दो छ । यस पाटोमा सरकारी चासो कम पाइन्छ । गत वर्ष भारतको दिल्लीमा प्रदूषण बढेपछि सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।

त्यसयता नै हो, भारत सरकारले सहरी क्षेत्रबाट उद्योगधन्दा हटाउने, सवारीसाधनको प्रदूषण मापन अनिवार्य गर्ने, ठूला रूख रोप्नेजस्ता गतिविधि सुरु गरेको पनि । चीनको राजधानी बेइजिङमा त बार्बिक्यु गर्न नपाइने कडा नियम नै छ । जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेका अनुसार समयमै हावाको गुणस्तरमा सुधार ल्याउन नसक्दा जनस्वास्थ्यमा प्रतिकूल असर पर्छ । ‘उपत्यकाको प्रदूषण कम गर्न सवारीसाधनबाट निस्कने धुवाँ र धुलो नियन्त्रण जरुरी छ । यस्तै, उपत्यकामा भित्रिने सवारी सफा गरेर मात्र भित्र्याउनुपर्छ,’ उनी भन्छन्, ‘वृक्षरोपण, सडक सफाइजस्ता गतिविधिमा पनि सरकारले ध्यान दिनु आवश्यक छ ।’

जाडोयाममा खुला ठाउँमा आगो बालेर ताप्ने आम प्रवृत्ति नै छ । त्यसबाट उडेको धुवाँले वातावरण प्रदूषित बनाइरहेको पाटोमा जनचेतना अभाव देखिन्छ । ‘यो समयमा सकेसम्म घरभित्रै बस्ने र बाहिर निस्किनुपर्दा अनिवार्य एन–९५ मास्क प्रयोग गर्नु आवश्यक छ,’ डा. पाण्डे भन्छन्, ‘काठमाडौंमा अहिले आँखा पोल्ने, रुघा लाग्ने, छाला चिलाउनेलगायत अल्पकालीन स्वास्थ्य समस्या देखिएका छन् ।’ चिकित्सकहरूका अनुसार अहिलेको प्रदूषणबाट एन–९५ मास्कले मात्र बचाउन सक्छ । अन्य सामान्य मास्क उपयोगी हुँदैनन् ।

यही अवस्था लामो समय कायम रहँदा मुटु, फोक्सो र मस्तिष्कमा पनि दीर्घकालीन समस्या देखिनसक्ने उनी बताउँछन् । वायु प्रदूषणलाई क्यान्सर र मनोरोगको पनि कारक मानिन्छ । ‘वायु प्रदूषण बढ्दै गएकाले बालबालिकामा निरन्तर रुघाखोकी लाग्ने, एलर्जी हुने, आँखा पोल्ने, आँखा रातो हुने, वयस्कमा छटपटी, रिस उठ्ने, झर्को लाग्नेजस्ता मनोवैज्ञानिक असर तथा ज्येष्ठ नागरिकमा दमलगायत श्वास–प्रश्वासका समस्या बर्सेनि बढ्दै गएका छन्,’ डा. पाण्डे भन्छन्, ‘प्रदूषणको स्तर यस्तै रहिरहेमा कोरोना संक्रमितमा पनि गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ ।’

छाति रोग विशेषज्ञ डा. निरज बम यस्तो वेला स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्छन् । ‘घरभित्र बस्दा पनि पर्दा लगाएर बस्नोस् । बालबालिकालाई घरबाहिर खेल्न नदिऊँ । ज्येष्ठ नागरिकलाई अत्यावश्यकबाहेक घरबाहिर निस्किन नदिऔँ,’ उनी भन्छन्, ‘बाहिर निस्किनुपर्दा अनिवार्य मास्क लगाऔँ, भौतिक दूरी कायम राखौँ ।’ जाडोयामको सुक्खा हावामा विभिन्न सरुवा रोगका कणका लागि यो उपयुक्त वायु भएकाले बढी सावधानी आवश्यक भएको उनको भनाइ छ ।

घामसँग जोडिएको काठमाडौंको वायुचक्र

मौसमविद्हरूका अनुसार ९३ दिनदेखि वर्षात् नभएकाले धुलोका कण जमिनमा मिल्न पाएनन् । त्यसमाथि वायुमण्डललाई बादलले छेक्यो र चिसो बढ्यो । जसका कारण उपत्यकाको नियमित वायुचक्र अवरुद्ध बन्यो । उपत्यकाको वायुचक्रअनुसार अपराह्नतिर धादिङ सीमाको मुड्कु भञ्ज्याङतर्फबाट उपत्यकामा तातो हावा प्रवेश गर्छ । यस्तै, चोभारको गल्छीबाट तराईको तातो हावा भित्रिन्छ ।

दुवैतिरबाट भित्रिएको हावा ग्वार्कोआसपासको वायुमण्डलमा भेट हुन्छन् । र, उपत्यकाको तातो हावासहित पूर्वको साँगा भञ्ज्याङ हुँदै बाहिरिन्छिन् । उपत्यकाको तातो हावामा यहाँ जम्मा भएका प्रदूषित कण पनि मिसिएका हुन्छन् । र, साँझपख उपत्यकाको वातावरण केही हदसम्म स्वस्थ हुन्छ । उपत्यकामा जाडोयाममा दिउँसो दुईदेखि तीन बजेबीचमा बढी न्यानो हुन्छ । र, त्यही समयमा हो, उपत्यकाको वायुचक्र चलायमान हुने पनि ।

दुई दिनयता घाम नलागेकाले अपराह्नतिर चिसो नै छ । र, तातो हावासहित वायुमण्डलमा पुग्नुपर्ने धुलोका कण सतहमै थुप्रिएका छन् । दुई/तीन बजेभित्र उपत्यकामा गर्मी भएन भने नियमित वायुचक्र अवरुद्ध हुने जानकारहरू बताउँछन् । बिहानीपख उपत्यकामा अत्यधिक चिसो हुन्छ । अघिल्लो दिन बाहिरिन नपाएका प्रदूषित कण चारदेखि सात फिट उचाइमा झरेर थुप्रिन्छन् । अहिले पनि पश्चिम र दक्षिणबाट तातो हावा काठमाडौं प्रवेश गरिरहेकै छ । तर, उपत्यकामा गर्मी भएर वायुमण्डलमा पुग्नुपर्ने प्रदूषित कण घाम नलागेकाले सतहमै घुमिरहेका छन् । सोही कारण दुई दिनयता यो प्राकृतिक चक्र लयमा छैन ।