इन्जिनियरिङ शिक्षामा भर्ना भइसकेपछि कक्षाकोठामा महिलाको संख्या न्यून हुनुले मनोबलमा ह्रास हुन सक्छ
इन्जिनियरिङ क्षेत्रमा महिला सहभागिता अत्यन्तै न्यून छ । नेपाल इन्जिनियरिङ काउन्सिल ‘बुक लेट २०१९’ को तथ्यांकअनुसार काउन्सिलमा दर्तावाल इन्जिनियरमा महिला सहभागिता १२.४ प्रतिशत मात्रै छ । अर्थात् ५५ हजार एक सय १९ जना इन्जिनियरमध्ये ६ हजार आठ सय ३७ जना महिला छन् । त्यसमध्ये सिभिलमा ३०.७२ प्रतिशत, आर्किटेक्ट २०.१७ प्रतिशत, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल १९.७ प्रतिशत, कम्प्युटरमा १९.१५ प्रतिशत र अन्यमा १०.२७ प्रतिशत छन् । इन्जिनियरिङ क्षेत्रमा महिला सहभागिता र रोजगारी बढाउन संसारभरि नै प्रयत्न र पहल भइरहे तापनि पूर्ण कार्यान्वयन हुन सकेको छैन । खासगरी छात्रालाई विद्यालय तहदेखि नै इन्जिनियरिङतर्फ प्रोत्साहित नगरिने कारणले पनि यो क्षेत्रमा महिला सहभागिता न्यून हुन पुगेको छ ।
समाज, परिवार र विद्यालय तहबाटै महिलालाई विशेष शिक्षाको रूपमा इन्जिनियरिङ शिक्षामा प्रोत्साहित गरिनुपर्ने भए पनि इन्जिनियरिङको मूलधारमा आकर्षित गर्न सकिएको छैन । ‘चुलो–चौकोमै सीमित हुनुपर्छ’ भन्ने परम्परावादी र पितृसत्तात्मक सोचका कारण पनि महिलाहरूले प्राविधिक क्षेत्रमा आफूलाई अग्रसर गराउन पाउँदैनन् । फेरि छात्रालाई इन्जिनियरिङ विधामा प्रवेश गर्न त्यति सहज वातावरण बनिसकेको छैन । विद्यालय तहदेखि नै गणित र विज्ञानमा राम्रो प्रदर्शन गर्दै आएका छात्रालाई पनि प्राविधिक उच्चशिक्षामा थप मनोबल दिने प्रयत्न गरिएको पाइँदैन । अधिकतम अनुपातमा प्राविधिक शिक्षाको चेतना र बुझाइको स्तरका साथै आर्थिक अवस्थासमेत न्यून स्तरको रहेकाले उनीहरूको सहभागिता यस क्षेत्रमा कम छ । इन्जिनियरिङको पढाइलाई आर्थिक बोझ, इन्जिनियरिङ शिक्षा केवल पुरुषका लागि हो भन्ने सामाजिक–पारिवारिक धारणाले अहिले जरा गाडेर बसेको छ ।
उच्चशिक्षाका लागि बाटो तय गरिरहँदा उत्प्रेरणा दिने कार्य प्रवाहसमेत नहुँदा इन्जिनियरिङको अध्ययनमा छात्राहरू वञ्चित हुँदै आएका छन् । यसले गर्दा आज पढाइमा अब्बल छात्राले पनि यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न सकेका छैनन् । विद्यालय तहमा विज्ञान, गणित र कम्प्युटर विषयमा राम्रो प्रदर्शन गर्दागर्दै पनि इन्जिनियरिङ उच्चशिक्षामा महिलाको सहभागिता न्यून छ भन्नेबारेमा अन्तर्राष्ट्रिय संस्थाले पनि अध्ययन र अनुसन्धान गर्दै आइरहेका छन् । खासगरी, विषयवस्तु छनोट र प्रस्तुतीकरणमा समेत महिलाहरूमा समाज, परिवार र राज्यबाट ‘परम्परागतवादी सिद्धान्त’ लादिएको पाइन्छ । जसले गर्दा उनीहरूको रोजाइ परम्परावादी सोचबाट माथि उठ्न सक्दैन ।
महिला इन्जिनियरको हकहित र अधिकारका लागि लड्ने औपचारिक निकाय छैन । विभिन्न राजनीतिक, सामाजिक तथा भौगोलिक क्षेत्र र पृष्ठभूमिबाट आएका र छरिएर रहेका महिलाको हित, सुदृढीकरण र सशक्तीकरणका लागि अब महिला इन्जिनियर समुदायको खाँचो छ ।
परिवार, समाज, राज्यबाट समेत परम्परावादी ढंगले थिचिएका उनीहरूले यसलाई ठूलो साहसको रूपमा लिएर पार गर्न खोजे तापनि आगामी दिशाबोधमा अवरोधका खाडलहरू सामना पर्ने हुन्छ । सहज अध्ययनको वातावरण नहुनु, प्रयोगात्मक अभ्यास तथा संस्थागत विभेदलगायतका समस्या पनि बाधकको कडीको रूपमा लिन सकिन्छ । इन्जिनियरिङ शिक्षामा भर्ना भइसकेपछि कक्षाकोठामा महिलाको संख्या न्यून हुनु, प्रतिष्ठित क्याम्पसमा पनि आधारभूत सुविधा पर्याप्त नपाउनुले आत्मविश्वास र मनोबलमा ह्रास आउन सक्छ । त्यसैगरी, इन्जिनियरिङ शिक्षा पूरा गरिसकेपछि पनि क्षेत्र–आधारित कामहरूमा विभिन्न कम्पनीबाट लैंगिक विभेद तथा आफूभन्दा माथिल्लो तहका नेतृत्व पदमा महिलाको थोरै उपस्थिति देखिनु र इन्जिनियरिङ क्षेत्रमा धेरै कम महिला रोलमोडेल र सल्लाहकारको अभाव हुनु जस्ता कुराले पनि महिला सहभागितालाई सशक्तीकरण, प्रोत्साहन र प्रेरित गर्न सकिएको छैन ।
अर्को कुरा, देशको संविधानअनुरूप विभिन्न संघसंस्था, निकाय र प्राधिकरणमा सरकारद्वारा नियुक्त गरिने पदमा महिला विरलै देख्न पाइन्छ । इन्जिनियरको हकहितमा लड्न स्थापित नेपाल इन्जिनियरिङ एसोसिएसनमा पनि महिला नेतृत्वले आफ्नो वर्चस्व जमाउन सकेको छैन । अझै प्रस्ट रूपमा भन्ने हो भने त महिला इन्जिनियरको हकहित र अधिकारका लागि लड्ने औपचारिक निकाय छैन । विभिन्न राजनीतिक, सामाजिक तथा भौगोलिक क्षेत्र र पृष्ठभूमिबाट आएका र छरिएर रहेका महिलाको हित, सुदृढीकरण र सशक्तीकरणका लागि अब महिला इन्जिनियर समुदायको खाँचो छ ।
यो क्षेत्रमा महिलाको सहभागिता उल्लेख्य हुने हो भने महिलाका लागि पर्याप्त आम्दानीको सम्भावना, एकै समयमा अधिक समावेशी पूर्वाधार डिजाइन गर्ने अवसर, साथै मुलुकको विकासका विभिन्न प्रोजेक्टमा उनीहरू प्रत्यक्ष संलग्न हुनेछन् । कार्यक्षेत्रमा समान सहभागिता हु“दै गयो भने यसले सिंगो राष्ट्रको विकास र समृद्धिको गतिलाई पनि तीव्र गराउन सहयोग पुर्याउँछ । यसैगरी, जब यस क्षेत्रमा महिलाको सहभागिता बढ्दै जान्छ, अहिलेका प्राविधिक र पेसेवर महिला भोलिका पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्ने प्रत्याभूति गर्न सकिन्छ । इन्जिनियरिङ क्षेत्र विकासको महत्वपूर्ण खम्बाका रूपमा रहे तापनि यसलाई समाजमा सहज स्वीकार गर्ने परिपाटी विकास हुन नसकेको अवस्थामा महिलाको सहभागिताले यस क्षेत्रलाई समृद्धिको दिशातर्फ डोर्याउन मद्दत गर्छ ।
इन्जिनियरिङ क्षेत्रमा महिला सहभागिता बढोत्तरी गर्न उत्प्रेरणालाई पहिलो प्राथमिकता दिइनुपर्छ । यसमा प्रमुख भूमिका विद्यालयस्तरबाट हुन जरुरी छ, जहा“ प्राथमिक र माध्यमिक शिक्षामा डिजाइन आधारित सिकाइ र अतिरिक्त गतिविधिलाई समावेश गर्दै पाठ्यक्रम सुदृढ पार्नुपर्छ । यसैगरी, इन्जिनियरिङ वर्कसप, कार्यशाला, कोडिङ र अन्य नवीन परियोजनामा स्कुल तहका छात्रालाई शतप्रतिशत संलग्न गराउनुपर्छ । यस्तै, सेमिनार, आउटरिच कार्यक्रम र प्राविधिक वर्कसपमार्फत महिला इन्जिनियर र विद्यार्थीेबीचमा सञ्चार गतिविधिलाई समेत निरन्तरता दिन सकेमा छात्राहरूलाई प्रोत्साहित गर्न सकिन्छ ।
उच्च माध्यमिक विद्यालयका छात्रालाई कक्षा १२ मा गणित र भौतिक विज्ञान प्रमुख विषयको रूपमा लिन प्रोत्साहित नगरी हुन्न । प्रदेश तथा स्थानीय सरकारमार्फत इन्जिनियरिङ शिक्षा र छात्रवृत्तिका अवसरबारे माध्यमिक तहका छात्रालक्षित कार्यक्रम सञ्चालन गर्नुपर्छ । इन्जिनियरिङ क्षेत्रमा विद्यमान नकारात्मक भाष्य नष्ट गरी ‘इन्जिनियरिङ विधा पुरुषको मात्र डोमेन होइन’ भन्ने भाष्य विद्यार्थी, अभिभावक, समाजमा स्थापित गर्नुपर्छ । जबसम्म इन्जिनियरिङ क्षेत्रमा महिला र पुरुषको लगभग समान सहभागिता हु“दैन, तबसम्म आरक्षण आदि समावेशी नीति पर्याप्त प्रभावकारी हुन सक्तैनन् । यस्तै, सरकारले छात्रवृत्ति योजनामार्फत ग्रामीण भेगका र सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई विशेष सहुलियत उपलब्ध गराउन जरुरी हुन्छ ।
शैक्षिक परामर्श दिने संस्थाहरूले पनि छात्राहरूलाई निरुत्साहित गर्नुको सट्टा प्राविधिक विषय अध्ययन गर्न प्रोत्साहित गर्नुपर्छ । यसैगरी, ‘एक समुदाय, एक महिला इन्जिनियर रोलमोडेल’को अवधारणालाई स्थानीय सरकार तथा सरोकारवालाद्वारा कार्यान्वयन गर्नुपर्छ । ‘एक शिक्षित महिलाले समाज, राष्ट्र र सम्पूर्ण विश्वलाई शिक्षा दिन सक्छिन्’ र ‘एक कुशल इन्जिनियर देशको निर्माता हुन सक्छ’ भन्ने प्रेरणा किशोरावस्थामादेखि नै जानकारी दिन सकियो भने विद्यालय उमेर पार गर्दैगर्दा छात्राले यो विषयप्रति एउटा ‘भिजन’ बनाउन सफल हुन्छन् ।